दक्षिण एसियाली राष्ट्र पाकिस्तानले पनि आईसीसी च्याम्पियन्स ट्रफीमा पहिलो संस्करणदेखि नै निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ । त्यसैले च्याम्पियन्स ट्रफीमा पाकिस्तानी टोलीको यो लगातार नवौँ सहभागिता हो ।
पाकिस्तानले हालसम्म एकपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । प्रतियोगिताको आठौँ संस्करण इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको थियो ।
च्याम्पियन्स ट्रफीको इतिहासमा फाइनलमा कुनै पनि टोलीले रनका आधारमा हात पारेको यो नै सबैभन्दा ठुलो अन्तरको जित पनि हो । यस आधारमा पाकिस्तानी टोली अहिले च्याम्पियन्स ट्रफीको आयोजकसँगै साविक विजेता पनि हो ।
पाकिस्तानी टोलीले सन् २०१७ मा सरफराज अहमदको कप्तानीमा च्याम्पियन्स ट्रफी जितेको थियो । त्यतिबेला पाकिस्तानी टोलीमा अजहर अली, फाखर जामन, सोएब मलिक, मोहम्मद हाफिज, इमाद वसिम, मोहम्मद आमिर, सदब खान, हसन अली, जुनैद खानलगायतका प्रभावशाली खेलाडी थिए ।
पाकिस्तानलाई च्याम्पियन बनाउन फाइनलमा फाखर जामनले शतकीय पाली खेलेका थिए । उनले फाइनलमा एक सय १४ रन बनाएका थिए । यसका अतिरिक्त फाइनलमा ओपनर अजहर अलीले ५९ रन र मोहम्मद हाफिजले अविजित ५७ रनको योगदान गरेका थिए । अन्य संस्करणमा भने पाकिस्तानी टोली फाइनलसम्म पनि पुग्न सकेको छैन ।