शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्री वाङको नेपालमा ४३ घण्टा !

मङ्गलबार, २४ भदौ २०७६, १७ : ०१
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौँ– चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

पाकिस्तान भ्रमण सकाएर आइतबार बेलुका सवा ६ बजे नेपाल ओर्लेका मन्त्री यी तीन दिन नेपालमा रहँदा उच्चस्तरीय भेटवार्ता र सहयोगसम्बन्धी सम्झौता तथा केही स्थानको अवलोकनपछि मङ्गलबार दिउँसो १ बजे स्वदेश फर्केका हुन् ।

४३ घण्टामा वाङले गरे के ?

मुख्यतः अक्टोबरमा हुने चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका क्रममा विदेशमन्त्री वाङ नेपाल आएका हुन् । राष्ट्रपति सी नेपाल भ्रमणमा आउँदा कुन–कुन विषयमा छलफल गर्ने र सहमति गर्ने भन्ने विषयको टुङ्गो लगाउन नेपाल आएका वाङको ४३ घण्टा नेपाल बसाई अत्यन्तै व्यस्त देखियो ।

समकक्षी प्रदीप कुमार ज्ञवाली, प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँग उनले छुट्टाछुट्टै भेटवार्ता गरे ।

भ्रमणको दोस्रो दिनबाट उच्चस्तरीय भेटवार्ता गरेका वाङले सोही दिन काठमाडौँको चन्द्रागिरी र अन्तिम दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुका साथै भक्तपुर दरवार स्क्वायरको अवलोकन गर्न भ्याएका थिए ।

सीको नेपाल भ्रमण उपयुक्त समयमा 

चिनियाँ विदेशमन्त्री यी ले चिनियाँ राष्ट्रपति सी जीन पिङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् । विदेशी मन्त्री वाङले सोमबार प्रधानमन्त्री केपी ओलीसँगको भेटमा यस्तो बताएका हुन् ।

बालुवाटारमा सोमबार भएको प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङले उपयुक्त समयमा राष्ट्रपति सीको नेपाल भ्रमण हुने विश्वास दिलाएका थिए । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण छिट्टै हुने विश्वास व्यक्त गरेको भेटपछि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिएका हुन् ।

सीले आगामी अक्टोबर १५ मा नेपाल भ्रमण गर्ने बताइएको छ ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले चीनले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा पु¥याउँदै आएको सहयोगका खुलेर प्रशंशा गरेका थिए ।

भेटमा विदेशमन्त्री वाङले राष्ट्रपति सी र चिनियाँ सरकारले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुःखी नेपाली’ को नारालाई पूर्ण समर्थन रहेको सन्देश पठाएको बताएका थिए । सोमबारै वाङले शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

तीन सम्झौता कस्ता ?

नेपाल भ्रमणमा रहेका बेला चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनबीच तीनवटा सम्झौता भएका छन् । सोमबार चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा दुईवटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार चीनले करिव ३५ करोड रुपैयाँको लागतमा मनाङमा अस्पताल बनाइदिने भएको हो । त्यस्तै सम्झौतामा आपतकालीन राहतका लागि ५ हजार टेन्ट चीनले उपलब्ध गराउँनेछ । दुबै सम्झौतामा अर्थसचिव राजन खनाल र चिनियाँ अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिआइसिडीए) का उपाध्यक्ष डेङ बोकिङले हस्ताक्षर गरे । अर्को सम्झौता अनुसार चिनियाँ स्वयंसेवक शिक्षकहरु नेपाल आउनेछन् । समझदारीपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश्वर दाहाल र नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गरेका छन् ।

चन्द्रागिरीदेखि दरवार स्क्वायरसम्म अवलोकन

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार भक्तपुरका ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको अवलोकन गरे

। उनले भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर लगायतका ठाउँहरु अवलोकन गरेका हुन् । भक्तपुर घुमेपछि उनले अत्यन्त खुसी लागेको र नेपालका ऐतिहासिक सम्पदा देखेर रमाइलो लागेको प्रतिकृया दिएका थिए । यसअघि सोमबार याङ काठमाडौको चन्द्रागिरी अवलोकनमा पुगेका थिए । चन्द्रागिरीमा उनले केबलकार तथा रिसोर्टको अवलोकन गर्नुका साथै एकघण्टा भन्दा बढी समय ट्रेकिङ्समेत गरेका थिए । चन्द्रागिरिमा विदेशमन्त्री वाङलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चद्रप्रसाद ढकाल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेख विक्रम शाहलगायतले स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप