शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा बहस : ‘पीएम देउवा भदौमा दिल्ली नगए के हुन्छ ?’

सोमबार, ३० साउन २०७४, १३ : ४१
सोमबार, ३० साउन २०७४

हे बर्खा, यति धेरै नबहुलाऊ । तिमीले बगाउनुपर्ने अधिकांश मसिहा काठमाडौंलगायत सुरक्षित ठाउँमा छन् । त्यता छन् त गरिब विपन्न र असहायमात्र ।


२६ जिल्ला बाढीमय हुँदा ७० भन्दा बढीको ज्यान गइसकेको छ । ३४ हजार घर डुबानमा परेपछि पत्रकार दीपक सापकोटाले आफूलाई थाम्न सकेनन् । उनले काठमाडौंलगायत सुरक्षित ठाउँमा रहने तराई/मधेसवासीलाई व्यंग्य गर्दै डुबानमा परेकालाई सहानुभूति दिएका हुन् । 

 तर, मधेसी नेताहरू चुँसम्म बोलेका छैनन् । विभिन्न विषयमा बखेडा झिकेर अत्तो थाप्ने ती नेताहरूलाई सञ्चारकर्मी सुमिता ‘सेती’ तामाङ सोध्छिन्, ‘मधेसी नेताहरू कुन दुलोमा छन् हँ ? बाढी गएको समय कता धुपबत्ती बाल्दै छन् । बडेभाइलाई बाँध खोलिदेऊ भन्ने हिम्मत छ कि छैन ?’

हुुन पनि हो, तराई/मधेस यसपटकमात्रै डुबानमा परेको होइन । सालिन्दा यस्तै विपत्तिमा पर्ने गरेको छ । ‘तराई यसपटकमात्रै डुबेको होइन । हरेक बर्खामा डुब्दै आएको छ । हरेक सरकारको पालामा यो समस्या दाहोरिँदै छ,’ पत्रकार सुकदेव चाम्लिङको आक्रोश व्यक्त गर्छन्, ‘तर, चुत्थो राजनीति हरेक वर्ष देखिन्छ । अचम्म लाग्छ– दुई मुठ्ठी राहत दिएर हरेक वर्ष कुर्लिनेदेखि । यसैले सरकार बाढी जोखिम ठाउँका बस्ती सार्नुपर्छ । बाढी नियन्त्रणका लागि इन्फ्रास्ट्रक्चर डेभलपमेन्टतिर ध्यान दिनु जरुरी छ ।’ 

पूर्वपत्रकार दी राई सर सोध्छन्– नेपाल जलमग्न नहुने र विहार पनि बाढीबाट जोगिने बहुउद्देश्यीय परियोजना बनाउन आवश्यक छ । कि हरेक वर्ष गीत गाएरै बिताउने हो ?

‘पर्नेलाई समस्या देख्नेलाई रमिता’ भन्ने उखान प्रचलित छ । बाढीपीडितलाई ज्यान जोगाउन धौ÷धौ पर्दा सामाजिक सञ्जालमा उनीहरूको भयावह फोटो ‘पोस्ट’ गरेर झन् भयभीत बनाइएको छ । 

त्यसलाई दृष्टिगत गर्दै सञ्चारकर्मी गीता चिमोरिया भन्छिन्, ‘विभिन्न देशका, विभिन्न समयका विपत्का तस्बिर हालेर देशको स्थिति भयावह छ भन्दै त्रास फैलाउन नखोजौं न साथी हो । सके सहयोग गरौं, नसके त्रास नफैलाऊँ ।’

पत्रकार सचित राईको अनुरोध छ, ‘बाढीपीडितका दुःखमा आ/आफ्नो ठाउँमा सक्दो सहयोग पुर्याऔं । कृपया सेल्फी पछि खिच्दै गरौंला । शवका तस्बिर दिन हतारो नगरिदिनुभए राम्रो । तपाईंलाई त्यसको असर नपरे पनि अरूलाई पर्न सक्छ ।’

विपत्तिमा परेकालाई राहत संकलन गर्न सामाजिक सञ्जालमा स्टाटस लेख्नेको कमी छैन । त्यो अस्वाभाविक होइन पनि । तर, पत्रकार सुशील पौडेलको भनाइ छ, ‘पहिले डुबिरहेका मान्छे सुरक्षित होऊन् । त्यसपछि राहत घोषणाको स्टाटस लेख्दा हतार नहोला ।’

सप्तकोसी बाँधका सबै ढोका खोल्दा विहार डुबान पर्ने, नखोल्दा तराई डुबानमा पर्ने चिन्ता व्यक्त गरेपछि वाणिज्यमन्त्री मीन विश्वकर्मासँग चिढिएकाहरूले मन्त्रीलाई सामाजिक सञ्जालमा गर्नसम्म गाली गरेका छन् । त्यसमध्येका एक हुन्– पत्रकार हरिहरसिंह राठोर । उनी वाणिज्यमन्त्री विश्वकर्मालाई सोध्छन्, ‘के नेपाल डुब्नेभन्दा विहार डुब्ला कि भन्ने चिन्ता हो ?’

पत्रकार रामकुमार एलन व्यंग्य गर्छन्, ‘मीन विश्वकर्माजस्ता होनहार मन्त्रीले भरिपूर्ण सरकार पाउनु भारतको भाग्य हो, लर्ड म्याकुले ।’ पत्रकार दिनेश लुइँटेललाई पनि उठ्नसम्म रिस उठेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण इंगित गर्दै पत्रकार लुइँटेल भन्छन्, ‘कष्टमा गुहार माग्दा साथ नदिने त्यो छिमेकीको भात खान पीएम देउवा भदौमा दिल्ली नगए के हुन्छ ?’

‘हाम्रो भूमिमा बाँध, त्यसको साँचो विदेशीको हातमा,’ पत्रकार दीपक सापकोटा थप्छन्, हाम्रै चुरे मासेर लगेको ढुंगा तथा गिटीले उसले बनाइएका राजमार्ग नामको अवरोध । प्रिय तराईवासी यता हामी पनि अपमानको बाढीमा घाँटीघाँटी डुबेका छौं है ।’

यता, गुणस्तरीय चिकित्सा शिक्षा र सेवा माग गर्दै अनशनरत डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन् भने उता २६ जिल्ला बाढीमय भएको छ । दुवैलाई दृष्टिगत गर्दै पत्रकार तीर्थ कोइराला चिन्ता व्यक्त गर्छन्, ‘उता कोसीले डुबाउन लाग्यो भन्दै छन् यता केसी डुब्न लागे भन्दै छन् ।’ 
बाढीग्रस्त क्षेत्रका साथीहरूका नाममा पत्रकार भगीरथ योगीले आग्रह गरेका छन्–

१. मोबाइल फोनको न्यूनतम प्रयोग गर्नुहोस् । इमेर्जेन्सीमा मोबाइल चाहिन्छ ।
२. सकिन्छ ब्याट्रीबाट चल्ने रेडियो साथमा राख्नूस् । सरकारी तथा आपतकालीन उद्धारबारे रेडियो जानकारी दिन्छ । 
३. एउटा टर्च राखिराख्नोस् । रात परेपछि काम लाग्छ ।
४. शुद्ध पानीको जोहो गरिराख्नुस् । खानेकुरा जोगाउनुस् ।
५. बिरामी र उनीहरूका औषधि, वृद्धवृद्धा र बालबालिकाको राम्रो हेरचाह गर्नुहोस् ।
६. बत्ती कतै सर्ट भएको छ कि छैन चेक गर्नुहोस् ।
७. राति सुत्दा घरको एक वा दुईजना पालो गरेरमात्रै सुत्नुहोस् । वरिपरिको अवस्था के कसो छ, ख्याल गर्नुहोस् ।
८. बलिया र युवा साथीहरू वर्षात् रोकिएपछि आवश्यक उद्धारका लागि तयार रहनुहोस् ।

सामाजिक सञ्जालमा विपत्तिमा परेका बाढीपीडितका लागि राहतबारे चासो व्यक्त गरिएका छन् । पत्रकार मात्रिका पौडेलको मान्यता छ, ‘बाढीप्रभावित क्षेत्रमा संकटकाल घोषणा गरेर उद्धार, राहत र दीर्घकालीन समाधानको प्याकेजमा राज्यका सबै संयन्त्र परिचालित हून् । अहिले जे भइरहेको छ, गोरखा भूकम्पभन्दा ठूलो क्षति हो, मानवीय क्षतिबाहेक ।’ 

‘तराई मधेसका बाढी र डुबानपीडितको उद्धार र राहतका लागि पहाडका युवा तयार बनौं,’ पत्रकार रेवती सापकोटा आह्वान गर्छन्, ‘त्यहाँ हुनेछ मानवीयता । त्यहाँ हुनेछ असली समाजसेवा । त्यहाँ हुनेछ गतिलो राजनीति । नेपालमा पानी थुनेर राख्दा बाँध फुट्यो भने भारतीय जनता पनि बाढी र डुबानको पीडामा पर्नेछन् । भारतले थुनेका ढोकाहरू खोल्न कूटनीतिक र राजनीतिक दबाब दिऊँ । नेपाल र भारतका जनताको सुरक्षा गरौं ।’

बाढीपीडितका लागि रातहबारे धेरैले चासो व्यक्त गरेका छन् । पत्रकार डण्ड गुरुङको आह्वान छ, ‘तराई मधेस डुबानमा परेको छ । उद्धार र राहतमा सबैले सहयोग गरौं ।’ 

‘बाढीपीडितलाई दिने राहतको अर्थ– ‘सेकेन्ड ह्यान्ड’ (भलै लगाउन मिल्ने होस्) होइन है,’ पत्रकार ऋषिकेश दाहाल दानवीरहरूलाई सचेत गराउँछन्, ‘राहत फाल्नुपर्ने पुराना कपडा व्यवस्थापनको समय होइन ।’ 

‘बाढीले घरबारविहीनहरूलाई भूकम्पपीडितसरह राहत र अनुदान सरकारले देओस् । पटक्कै कन्जुस्याइँ र ढिलाइ नहोस्,’ पत्रकार मिलन बगाले भन्छन्, ‘नेपाललाई पैसाको दुःख छैन । काम गर्ने इच्छाशक्तिको मात्रै दुःख हो । टालटुले होइन, दीर्घकालीन सोच राखेर सुरक्षित बसोबासको चाँजोपाँजो बेलैमा मिलाइयोस् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप