बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियामा किन चलिरहेको छ ब्रा बहिष्कार अभियान ?

मङ्गलबार, २४ भदौ २०७६, १५ : ४१
मङ्गलबार, २४ भदौ २०७६

बीबीसी । विश्वका सबै समाज पुरुषप्रधान समाज छन् । यसमा धेरै  थोरैको कुरा मात्र हो ।

यसैले हरेक समाजमा छोरी मानिस बढ्दै गएपछि ऊ केटी हो र उसमा ‘सेक्सुअल अपिल’ छ भन्ने महसुस गराउँदै लगिन्छ । योसँगै तिनलाई आफू पुरुषको नजरबाट बच्नुपर्छ र त्यसको लागि आफ्नो शरीरलाई शालिन ढङ्गले ढाकेर राख्नुपर्छ भनेर समाजीकरण गरिन्छ ।

समय–समयमा महिलाले के लगाउने, के नलगाउने भन्ने कुरा पुरुषसोचबाट निर्धारण हुनुहुँदैन भन्दै विरोधको आवाज उठ्ने गर्छ ।

यही विरोध शृङ्खला अनुरुप दक्षिण कोरियामा महिलाहरुले ‘नो ब्रा मुभमेन्ट (ब्रा बहिष्कार अभियान)’ चलाइरहेका छन् ।

दक्षिण कोरियाका समाजिक सञ्जाल प्रयोगकर्तामाझ ‘ह्याशट्याग नो ब्रा’ ट्रेण्डिङमा छ । महिला ब्रा नपहिरिकन अन्य कपडाका साथ खिचिएका आफ्नो तस्विर समाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।

कसरी सुरु भयो अभियान ?

दक्षिण कोरियामा ‘नो ब्रा ह्यासट्याग’ समाजिक सञ्जालमा ठूलो अभियानमा रुपान्तरण भयो ।  

यसको सुरुवात दक्षिण कोरियाकी गायिका र अभिनेत्री सुलीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा ब्रा बिनाको तस्विर सेयर गरेपछि भयो ।

लाखौँ फलोअर्स भएकी सुलीको इन्स्टाग्रामको उक्त तस्वीर भाइरल भयो । त्यसपछि सुली दक्षिण कोरियामा ‘ब्रा मुक्त’ अभियानको प्रतिक बनिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by 설리가진리 (Sulli) (@jelly_jilli) on

अभियान बढ्दै गएपछि मानिसले यस अभियानको अर्थ निकाल्ने प्रयास गरेका छन् । यस अभियानबाट दक्षिण कोरियाका महिलाले ब्रा लगाउने वा नलगाउने विषय तिनको निजी स्वतन्त्रताको विषय हो भन्न खोजेको जस्तो देखिन्छ ।

‘ब्रा मुक्त’ अभियानको आलोचना

अभियान बढ्दै गएपछि कयैनले सुलीको आलोचना पनि गरे । यसमा महिला र पुरुष दुवै सामेल थिए । आलोचकले यसलाई सस्तो लोकप्रियता हासिल गर्ने र अरुको ध्यान तान्ने हतकण्डा बताए ।

केहीले त सुलीले आफ्नो लोकप्रियताको लागि महिला आन्दोलनको दुरुप्रयोग गरेको पनि आरोप लगाए ।

एक जना समाजिक सञ्जालका प्रयोगकर्ताले सुलीको पोस्टमा लेखेका छन्, ‘ब्रा लगाउने कि नलगाउने नीजि विषय हो । तर सुली सधैँ कसिलो सर्टमा ब्रा नलगाई फोटो खिचाउँछिन् । त्यसले गर्दा तिनको स्तन उठेको देखिन्छ । उनलाई त्यस्तो गर्नुपर्ने जरुरी छैन ।’

यस्तै एक अन्य पोस्टमा लेखिएको छ, ‘ब्रा लगाएको वा नलगाएकोमा हामी तिमीलाई गलत मान्दैनौँ । खाली तिमीले आफ्नो निप्पल ढाक्नुपर्छ ।’

अर्का एक जनाले धार्मिक विषय जोडेर सुलीबारे लेखेका छन्, ‘तिमीलाई लज्जा हुनुपर्ने हो । के तिमी यस्तो अवस्थामा धार्मिकस्थल जान सक्छौँ ? पुरुषमात्र होइन, महिलालाई पनि असहज महसुस हुन्छ ।’

हालै एक अर्की चर्चित गायिका ह्वासाले आफ्नो ब्राबिनाको फोटो शेयर गरेपछि यो अभियान थप चर्किएको छ ।

छनौटको स्वतन्त्रता

हालै हङकङबाट फर्किने क्रममा सुलीले भित्र ब्रा नलाई सेतो टी–शर्ट लगाएकी थिइन् । उनको यो तस्वीर भाइरल भयो । यसको पक्ष र विपक्षमा महिला बाँडिएका छन् ।

तर तस्विर बाहिरिएपछि दक्षिण कोरियाका आम महिलामा अभियाननै छेडियो । 

सन् २०१८ मा दक्षिण कोरियामा ‘एस्केप द कोर्सेट’ अभियान देखिएको थियो । त्यसमा महिलाले आफ्नो कपाल मुण्डन गरेर मेक–अप नलगाएका तस्वीर समाजिक सञ्जालमा शेयर गरेका थिए ।

यो एक हिसाबमा महिलाको विद्रोह थियो । ‘एस्केप द कोर्सेट’ महिलामाथि थोपरिएको सुन्दरतासम्बन्धि कठोर समाजिक अपेक्षाविरुद्धको विद्रोह थियो ।

दक्षिण कोरियाका धेरै महिलाले ‘ब्रा बहिष्कार’ अभियान र ‘एस्केप द कोर्सेट’ अभियानमा गहिरो सम्बन्ध देखेका छन् । समाजिक सञ्जालमा यी अभियान जुन तिव्रताका साथ फैलियो त्यसले त्यहाँको समाजका महिलामा आफूप्रतिको असमान व्यवहारप्रति ठूलो असन्तुष्टिको संकेत गर्छ ।

दक्षिण कोरियाका अन्य नारीवादी अभियानहरु

महिलालाई घुरेर हेर्नु तिनको स्वतन्त्रता विरुद्ध हुन्छ । तर दुभााग्यवस धेरैजसो देशमा पुरुषहरु सार्वजनिक स्थानमा अपरिचित महिलालाई यसो गर्छन् ।

दक्षिण कोरियामा महिलाहरु आजकल यस विरुद्ध पनि आवाज उठिरहेको छ ।  दक्षिण कोरियामा सार्वजनिक स्थलमा पुरुषले घुरेर हेर्ने कार्यलाई ‘गेज रेप’ भनेर छुट्टै नामनै दिइएको छ । 

त्यसबाहेक पनि त्यहाँ पुरुषको प्रभूत्व, यौनहिंसा र लुकेर महिलाको व्यक्तिगत क्षणको भिडियो बनाउने कुरा विरुद्ध अभियान सूरु भएका छन् ।

दक्षिण कोरियामा धेरै होटेलका कोठा, बाथरुम र ट्वाइलेटमा क्यामरा लुकाएर महिलाको व्यक्तिगत क्षण कैद गर्ने कुप्रथा व्यापक स्तरमा छ ।

सन् २०१८ मा यसको विरोधमा दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो महिला अभियान चलेको थियो । त्यस क्रममा दशौँ हजार महिला सडकमा उत्रेर गुप्त क्यामेरालाई प्रतिबन्ध लगाउन विरोधमा उत्रिए ।

धेरै महिलाले ब्रा नलगाउने आन्दोलनप्रति आफ्नो समर्थन भए पनि सार्वजनिक स्थलमा पुरुषले घुरेर हेर्ने बानीका कारण आफूले त्यसलाई कार्यान्वयन गर्न नसक्ने बताएका छन् ।

देशव्यापी अभियान

सन् २०१४ मा बनेको वृत्तचित्र ‘नो ब्राब्लम’ को निर्माण समूहकी सदस्य ज्योङ स्योङयुनले वृत्तचित्रमा ब्रा नलाइकन बस्ने महिलाहरुको अनुभव समेटेकी थिइन् । 

अहिले कोरियाली समाजमा वृहद स्तरमा यसको चर्चा भएकोमा उनी खुसी छिन् ।

‘दक्षिण कोरियामा धेरै महिला ब्रा लगाउनुलाई निर्विकल्प ठान्छन् । तिनलाई त्योबाहेक अन्य विकल्प पनि छ भन्ने थाहै छैन,’ ज्योङले भनिन् ।

यो अभियान राजधानी सियोलमा मात्र नभएर देशैव्यापी देखिन्छ ।

जियोलानम–डू प्रान्तको २८ वर्षिया डा–केयुङको गायिका सुलीको ब्रा बिनाको तस्विरबाट धेरै प्रभावित भएको बताइन् । अहिले उनी कार्यालय आफ्नो समयमा मात्र ब्रा लगाउछिन् ।

उनी अहिले ब्वाइफ्रेण्डसँग बस्दा ब्रा नलगाउने बताइन् । उनी भन्छिन्, ‘मेरो ब्वाइफ्रेण्डले पनि मलाई ब्रा मन पर्दैन भने नलगाउन भनेको छ । ’

यी सबैले दिने सन्देश हो, ब्रा लगाउने वा नलगाउने निर्णय निजी फैसला हो ।

ब्रा नलगाउँदा स्वास्थलाई असर पर्छ ?

अस्ट्रेलियाको वोलोनयोङ् विश्वविद्यालयका चिकित्सक डेड्रे म्याक्घीका अनुसार ब्रा लगाउने वा नलगाउने भन्ने छनौट महिलामा निर्भर गर्छ ।

उनका अनुसार स्तन भारी भएको अवस्थामा ब्राको आवश्यकता हुन सक्छ । त्यस अवस्थामा गर्दन र ढाडमा असर पर्न सक्छ ।

डा. डेड्रे म्याक्घीको भनाइमा उमेर बढ्दै जादाँ शरीरको ढाँचामा पनि असर पर्छ । छाला पनि झोलिन्छ यसले गर्दा स्तनले प्राकृतिक रुपमा पाउने साहरा पनि कमजोर पर्छ ।

डा. म्याक्घी भन्छन्, ‘महिलाले ब्रा नलगाई एक्सरसाइस गर्दा तिनको स्तनको पिडा बढ्छ । त्यसैले स्पोर्टस् ब्रा स्तनको साथ साथै गर्दन र कमरको पिडा कम गर्न सहयोगी हुन्छ ।’

डा. म्याक्घीका अनुसार स्तन महिलाको यौनिक पहिचान हो । अनुसन्धानहरुमा के देखिएको छ भने जुन महिलाको स्तन कुनै कारणले (जस्तो स्तन क्यान्सर) हटाइन्छ ती पनि आफ्नो छातीको त्यो भागलाई विशेष ख्याल गर्छिन् । त्यस्तै जो महिला आफ्नो स्तन कस्तो देखेको होला भन्ने कुरामा धेरै सचेत रहन्छिन् तिनलाई पनि ब्राले आत्मविश्वास दिने गर्छ । 

ब्रा परित्यागको इतिहास

द कोरियामा देखिएको ब्रा परित्याग आन्दोलन पहिलो भने होइन । सन् १९६८ मा सम्पन्न मिस अमेरिका सौन्दर्य प्रतियोगिताको विरोधमा नारीवादीहरुले ब्रा जलाएर विरोध व्यक्त गरेका थिए ।

प्रदर्शनको दौरान प्रदर्शनमा सहभागीहरुले महिला शोषणका कयैन प्रतिक डस्ट–बीनमा फालेका थिए । त्यसमध्ये एउटा ब्रा पनि थियो । त्यस प्रदर्शन पछि ब्रा जलाउनु नारी स्वतन्त्रतासँग जोडिएको अभियानको एउटा हिस्सानै बन्यो ।

यही वर्ष जून महिनामा स्वीट्जरल्याण्डमा हजारौं महिलाले उपयुक्त पारिश्रमिक, बराबरी र यौन शोषाण्को अन्त्य गर्न माग राख्दै सडक जाम गरे । त्यस क्रममा पनि तिनले ब्रा जलाएका थिए ।

स्तन क्यान्सरको जागरुकता फैलाउनको लागि अक्टूबर १३ मा संसारभरी ‘नो ब्रा डे’ मनाइन्छ । अघिल्लो वर्ष फिलिपिन्सका महिलाले यो दिनलाई लैङ्गिक समानताको अधिकार माग्ने दिनको रुपमा मनाए ।

पछिल्लो वर्षमा विकसित सहरका महिलावादीहरुले ब्रा विरोधी अभियानलाई दुई कदम अघि बढाएका छन् ।

ती समाजमा महिला र पुरुषको निपललाई लिएर समाजमा दोहोरो मापदण्ड रहुन सही नभएको मान्छन् । सन् २०१४ डिसेम्बरमा नेटफ्लिक्समा ‘फ्रि द निपल’ नामको एउटा वृत्तचित्र आएको थियो ।

यसमा न्युयोर्क शहरमा महिलाको स्तनमा सेन्ससिप लगाउने कदमविरुद्ध अभियान चलाउने महिलाको एउटा समूहको कथा समेटिएको छ । 

त्यहीँबाट ‘फ्रि द निपल’ अभियान अन्तराष्ट्रिय अभियान बन्यो ।

विभिन्न समयमा चल्ने नारीवादी अभियानहरुले अझै विश्वमा महिलाहरुमाथि कति धेरै अवरोध बाँकी नै छन् भन्ने कुरा अवगत गराउँछ । 

दक्षिण कोरियामा चलेको ‘नो ब्रा’ अभियान पनि महिलाले पालना गर्नुपर्ने अतिरिक्त समाजिक बोझविरुद्धको प्रतिरोध हो । दक्षिण कोरियाका धेरै महिलाको लागि ‘नो ब्रा’ अभियान स्वतन्त्रता र निजत्वको मामिला बनेको छ ।

यो आन्दोलनले जुन हिसाबमा समर्थन प्राप्त गरिरहेको त्यसबाट पनि थाहा हुन्छ कि दक्षिण कोरियाको अधिकाशं महिलाले ‘नो ब्रा’ ह्याशट्यागलाई महत्त्वका साथ हेरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप