बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानसँग तत्काल वार्ताको सम्भावना छैन: डोनाल्ड ट्रम्प

मङ्गलबार, २४ भदौ २०७६, १३ : ४१
मङ्गलबार, २४ भदौ २०७६

वासिङटन– संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा  सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता ‘मृततुल्य’ भएको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले अब वार्ताको तत्काल सम्भावना नभएको बताए ।

संयुक्तराज्य अमेरिका र तालिबानबीचको वार्ता सम्झौतानजिक पुगेका खबरहरु दुबैतर्फबाट सार्वजनिक भइरहेका थिए । तर गत साता काबुलमा अमेरिकी दूतावासनजिकै भएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि ट्रम्पले वार्ता रद्द गरेका थिए ।

राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक पनि एकाएक स्थगित गरेका थिए । यस आक्रमणपछि ट्रम्पले शनिबार ट्वीटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठकहरु रद्द भएको घोषणा गरेका थिए ।

तालिबानीले वार्ताको टेबुलमा फाइदा उठाउन खोजेको आरोप लगाउनु हुँदै यसको अमेरिकाले बदला लिने संकेत  समेत उनले दिएका छन् । वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको बताइएको छ । 

हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ ।

संयुक्तराज्य अमेरिकाले अल–कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला गरेलगत्तै अफगानिस्तानमा आक्रमण गरी सेना पठाएको थियो । अफगानिस्तानमा तत्कालीन तालिबानी सरकारले अलकायदालाई आश्रय दिएको अमेरिकी आरोप थियो ।

ट्रम्प प्रशासनले हाल अफगानिस्तानमा अमेरिकी सैनिक संलग्नता अन्त्य गर्न चाहेको छ । यसै सिलसिलामा सन् २०१८ देखि तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादको नेतृत्वमा वार्ता जारी छ ।

अमेरिका र तालिबानबीच हुने भनिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेना चरणबद्धरुपमा फिर्ता हुने, अफगानिस्तानलाई जिहादीहरुको सुरक्षित आश्रयस्थल बन्न नदिइने, अफगानिस्तान सरकारसँग वार्ता गर्ने तथा अन्ततः युद्धविराम गर्ने बुँदा रहेको बताइएको थियो । 

पछिल्लो समय तालिबान समूहले राजधानी काबुल सहित देशका प्रमुख शहरमा आक्रमणलाई तिब्र बनाएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप