बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एनओसीको निर्वाचनका लागि बाटो खुल्यो

आइतबार, २२ भदौ २०७६, २१ : ०४
आइतबार, २२ भदौ २०७६

काठमाडौं  – नेपाल ओलम्पिक कमिटि (एनओसी) को निर्वाचन छिट्टै हुने भएको छ । सर्वोच्च अदालतले आइतबार  एनओसीको निर्वाचन गर्ने बाटो खोलिदिएको हो । सर्वोच्च अदालतले गत मंगलबार जारी गरेको आफ्नो अन्तिम आदेशलाई खारेज गरेपछि एनओसीको निर्वाचन गर्ने बाटो खुलेको हो । 

कानुनी मान्यता नरहेको दाबीसहित एनओसीको निर्वाचन रोक्न माग राख्दै गत मंगलबार कमलबहादुर चित्रकारले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछि सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले तत्कालका लागि निर्वाचन रोकी भदौ २२ गते पक्ष विपक्षलाई छलफलमा उपस्थित हुन आदेश दिएको थियो ।

अदालतको आदेशपछि एनओसीको भदौ २० गतेका लागि तय भएको निर्वाचन पनि स्थगित गरिएको थियो । आइतबार दुवै पक्षको बहसपछि सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिक आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो । अदालतको आदेशपछि अब ओलम्पिकको निर्वाचन छिट्टै हुने अध्यक्ष जीवनराम श्रेष्ठले बताए । 

नेपाली खेलकुदका नेकपमा भित्रको गुटबीचको तीव्र लडाईँका रुपमा हेरिएको एनओसीको निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मद्वारी दिएका छन् ।

संर्घीय संसद जीवनराम नेकपा काठमाडौंका इनचार्ज पनि हुन् । जीवनराम नेकपाभित्र माधब कुमार नेपाल निकट मानिन्छन् । यसैगरी उमेशलाल स्वर्गीय कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ तथा साहना प्रधानका छोरा हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका उमेशलाल प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली निकट हुन् । यसैगरी कोषाध्यक्षमा रतन टन्डन र उपमहासचिवमा पीताम्बर तिमल्सिना निर्विरोध निर्वाचित भइ सकेका छन् । 

एनओसीमा पाँच उपाध्यक्ष पदका लागि आठ, एक महासचिवका लागि दुई, तीन सचिवका लागि चार र सात सदस्यका लागि आठ जनाको उम्मेद्वारी परेको छ । एनओसीको १९ सदस्यीय कार्यसमितिका लागि २७ संघका प्रतिनिधि मध्ये २६ जनाले उम्मेद्वारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप