बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणकाजीलाई बोलाउन पठाएपछि प्रचण्ड दिल्ली आएका थिए : माधव नेपाल

आइतबार, २२ भदौ २०७६, १६ : ३७
आइतबार, २२ भदौ २०७६

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजनीतिक दल र विद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् । नेकपाका विदेश विभाग प्रमुख समेत रहेका नेता नेपालले भारतको संलग्नतामा सो १२ बूँदे समझदारी भएको भन्ने भनाईको कडा प्रतिवाद पनि गरे ।

लक्ष्मण पन्तद्धारा लिखित ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ नामक पुस्तकको आईतबार काठमाडौंमा विमोचन गर्दै उनले तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीसँग १२ बूँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत नगरिएको स्पष्ट पारे । सो समझदारीका लागि तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहभागी गराउन आफ्नो नै मुख्य भूमिका रहेको पनि नेता नेपालको भनाई छ । नेता नेपालले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि दाहाल सो समझदारीका लागि दिल्ली आएको पनि खुलासा गरे ।

काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि आफूले टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको नेता नेपालले बताए । सो तथ्य पुस्तकमा नआएकोमा नेता नेपालको असन्तष्टि पनि छ । नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, काँग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र विद्रोही माओवादीको तर्फबाट डा.बाबुराम भट्टराईले सो १२ बूँदे समझदारीका लागि खेस्रा तयार पारेको पनि बताए । 

बरिष्ठ नेता नेपालले भारतको परामर्शमा तत्कालीन विद्रोही माओवादीसँग दिल्लीमा १२ बूँदे समझदारी नभएको यसअघि पनि बताएका थिए । ट्वाईलेटभित्र गएर कसैले भारतका कुनै पनि नेतासँग टेलिफोन संवाद गरेको भए आफूलाई थाहा नभएको तर सो सम्बन्धमा भारतसँग कुनै पनि परामर्श नगरिएको नेता नेपालको स्पष्टिकरण थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप