बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री र राष्ट्रपतिको नेपाल भ्रमण निकट भविष्यमै  : राजदूत आचार्य

आइतबार, २२ भदौ २०७६, १२ : ३१
आइतबार, २२ भदौ २०७६

भारतीय जनता पार्टीले बहुमतसहित सरकार बनाएपछि पुनः प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जेठ १६ गते नयाँ दिल्ली पुगे । शपथग्रहणपछि जेठ १७ गते भएको भेटका क्रममा प्रधानमन्त्री ओलीले नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिए ।

भेटकै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोबिन्दलाई पठाएको भ्रमणको निम्ता पनि प्रधानमन्त्री मोदीलाई हस्तान्तरण गरे ।

दुई देशबीचको भ्रमणले सामाजिक, आर्थिक र राजनीतिक सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने भन्दै मोदीले पनि नेपाल भ्रमण गर्नेबारे बताएका थिए ।

प्रधानमन्त्री ओलीले जेठ १७ गते भ्रमणको निम्तो दिए पनि त्यसपछि भारतीय प्रधानमन्त्री र राष्ट्रपतिको नेपाल भ्रमणबारे खासै चर्चा भएको छैन ।

बरु यसैबीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङ अक्टोबर १५ मा नेपाल आउने भएका छन् । तर भारतीय प्रधानमन्त्री र राष्ट्रपतिको नेपाल भ्रमणबारे अहिले के भइरहेको छ त ? यसै विषयमा रातोपाटीले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँग नयाँदिल्लीमै भेटी उनीहरूको भ्रमणबारे भएको प्रगतिबारे छोटो कुराकानी गरेको थियो । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

भारतीय प्रधानमन्त्री र राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावना र तयारी कस्तो छ ?

पहिले नेपालबाट प्रधानमन्त्री र राष्ट्रपति आउने तर भारतबाट नजाने क्रम चलेको थियो । तर अहिले परिस्थिति फेरिएको छ । अहिले दुवै देशबाट एकअर्कोको देशमा भ्रमण हुने गरेको छ । जब नरेन्द्र मोदी सरकारमा आउनुभयो, त्यसपछि त्यो क्रम भङ्ग भएको छ र सन् २०१४ देखि भारतबाट पनि बाक्लै भ्रमणहरू भएका छन् ।

हामीले के आशा राख्न सक्छौँ भने राजनीतिक र उच्च तहका यस्ता भ्रमणहरू आगामी दिनमा पनि हुन्छन् । अब कहिले हुन्छ, कसरी हुन्छ र कुनबेला हुन्छ भन्ने चाहिँ अहिले नै भन्न सकिँदैन । तर उच्च स्तरको भ्रमण हुन्छ भन्नेमा हामी आशावादी छौँ ।

नेपाली प्रधानमन्त्री र राष्ट्रपति पहिले भारत जाने कि चीन जाने भनेर नेपाली राजनीति र कूटनीतिमा बहस भइरहन्छ । चीनका राष्ट्रपति अक्टोबर १५ मा नेपाल आउँदैछन् । के भारतीय प्रधानमन्त्री वा राष्ट्रपति त्योभन्दा पहिले नै नेपाल आउनसक्ने सम्भावना पनि छ कि ?

नेपालको भारतसँगको सम्बन्ध व्यापक, गहिरो र धेरै पहिलेदेखि नै रहिआएको छ । भारतसँग व्यापारिक, सांस्कृतिक, आर्थिक, राजनीतिक आदि क्षेत्रमा व्यापक सम्बन्ध छ । भारतसँगको सम्बन्धलाई पारस्पारिक सम्बन्धको दृष्टिकोणले हेर्नुपर्छ । भारतीय उच्च स्तरको भ्रमण पनि चीनको भन्दा बाक्लो नै रहेको छ, बढी आवतजावत भइरहेका छन् । भारतबाट कैयौँ पटक भ्रमण भएका छन् । यसबीचमा पनि भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच पटक–पटक भेटघाट भइसकेको छ । त्यसैले भारतको उच्च स्तरीय राजनीतिक भ्रमणलाई चीनसँगको भ्रमणसँग जोडेर हेर्नु त्यति उपयुक्त नहोला ।

भारतबाट नेपालमा निकट भविष्यमै उच्च स्तरीय भ्रमण हुन्छ भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ? भ्रमणका लागि दूतावासले कस्तो पहल गरिरहेको छ ?

भारतबाट नेपालमा उच्च स्तरीय भ्रमण हुन्छ र यो प्रक्रिया जारी रहन्छ । हालको भारतीय विदेश मामिला मन्त्रीको नेपाल भ्रमण र संयुक्त आयोगको बैठक बसेबापत नै बुझ्नुपर्छ कि उच्च स्तरका र राजनीतिक स्तरका सम्बन्धहरू तथा भ्रमणको आदनप्रदान आदि हुन्छ । त्यसका लागि पनि हामैले आफ्नो तर्फबाट गृहकार्य गरिरहेका छौँ । तर कहिले हुन्छ भनेर हामीले भन्ने विषय होइन । हामीले निम्तो दिएका छौँ, उहाँहरूले मिलाएपछि खबर आउँछ होला । 

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण सन् २०१९ भित्रै हुने सम्भावना चाहिँ कति छ त ?

मैले तिथिमिति तोक्न चाहिनँ । तर उच्च स्तरका राजनीतिक भ्रमण हुने कुरा चाहिँ दुई देशबीचको सम्बन्धले पनि बताउँछ । यो सामान्य कुरा हो र निकट भविष्यमै यस्तो भ्रमण हुनेछ । भारतबाट उच्च स्तरीय भ्रमण हुने सम्भावना बढेकै छ । तर यतिबेला नै हुन्छ भनेर भन्ने अवस्था भने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप