शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी डाँडो काटिने

शनिबार, २१ भदौ २०७६, १६ : १६
शनिबार, २१ भदौ २०७६

पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी डाँडो काटिने भएको छ । जहाज उडान र अवतरणमा सुरक्षाको हिसाबले सो डाँडो समस्याको रुपमा देखिएपछि काट्नु पर्ने भएको हो । 

पोखरा महानगरपालिका २६ बानियाँ पाछामा पर्ने उक्त रिठ्ठेपानी डाँडो २५ मिटर काटिने छ । ३ सय ८१ रोपनीमा फैलिएको उक्त डाँडो ३ सय रोपनी सार्वजनिक जग्गा हो भने बाँकी ८१ रोपनी व्यक्तिको रहेको छ । वातावरणीय प्रभाव मूल्याकंन अध्ययन लगायतका सबै प्रक्रिया सकाएर डाँडो काट्ने तयारी थालिएको हो ।

डाँडो कटानका लागि स्थानीय जग्गा धनी नै सक्रिय रुपमा लागेका छन् । डाँडा कटानका लागि आवश्यक सबै तयारी पूरा भई सकेको स्थानीय जग्गा धनी मध्येका गोविन्द तिमिल्सिनाले जानकारी दिए । माटो व्यवस्थापन गर्ने ठाउँ पाए स्पिडमा काम थाल्ने उनले बताए ।

डाँडोको फेदीबाट कटान गर्न गाह्रो पर्ने हुनाले माथिबाटै डाँडा कटान सुरु गर्ने उनले सुनाए । डाँडासम्म टिप्पर सजिलै पुग्ने बाटो र आवश्यक बेसमन तयार भइसकेको उनको भनाई छ । ‘पहिले डाँडोमा टिप्पर जान गाह्रो थियो,’ उनले भने, ‘काम गर्नको लागि जुन परिधि बनाउँनुपर्ने थियो । बेसमेन्ट बनाउँनु पर्ने थियो । त्यो लगभग सबै पूरा भई सक्यो ।’

डाँडो कटान गर्दा दुई किसिमको माटो निस्किने उनले बताए । ‘रातो र ग्राभेल । डाँडो काट्दा दुई किसिमको माटो निस्किन्छ,’ उनले भने, ‘ग्राभेल माटो त्यस्तै ६, ७ लाख घनमिटर निस्किने अनुमान गरेका छौं । इन्जिनियरिङ रिपोर्टले पनि त्यही देखाएको छ ।’ ग्राभेल खालको माटो विमानस्थल निमार्णकै लागि प्रयोग हुने उनले जानकारी दिए । ‘टेक्निकल रिपार्टले रातो माटो विमानस्थल निर्माणको लागि प्रयोग गर्नै नहुने देखियो,’ उनले भने । 

विमानस्थलका लागि पिआई (प्लास्टिसिटी इन्डेक्स) ६ देखि १० सम्म आउने माटो चाहिने उनले बताए । ग्राभेल माटो ७ दशमलव ५ र रातो माटो १३ देखि १४ पिआईसम्म भएको उनले जानकारी दिए । मापदण्ड पुरा नभएको माटो विमानस्थलमा प्रयोग भए माटो दबाउँदा नदब्ने जुन ठाउँमा जमाउन खोजिएको हो त्यो ठाउँमा नजम्ने रिपोर्टले देखाएको उनले सुनाए । ग्राभेल माटो विमानस्थलमा लै जानको लागि सिभिल एविसियनबाट पास भई सकेको उनले बताए । 

विमानस्थल निर्माण आयोजना प्रमुख पनि माटो विमानस्थलमा ल्याउनका लागि सकारात्मक रहेको उनले सुनाए । तर, विमानस्थलमा माटो ल्याउँनका लागि चिनियाँ ठेकेदार कम्पनीको स्वीकृति पाउनु पर्छ । माटो विमानस्थलमा ल्याउनका लागि चिनियाँ कम्पनीले आलटाल गरिरहेको उनले बताए । माटो व्यवस्थापन गर्ने ठाउँ पाए एअरपोर्ट तयार हुनुभन्दा अघि नै डाँडो काटेर सकिने उनले सुनाए ।

यता विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मी भने माटो अहिले नै ल्याउने नल्याउने निर्णय नभएको बताउँछन् । ‘माटो विमानस्थल निर्माण कम्पनीले ल्याउनु पर्ने हुन्छ । उहाँहरुले जहाँबाट पनि ल्याउन सक्नुहुन्छ,’ उनले भने, ‘यहीँ डाँडाकै ल्याउनु पर्छ भन्ने छैन ।’

डाँडो कटान गरेको माटो यही नै ल्याउने भन्ने निश्चित नहुने उनले सुनाए । बाहिरबाट पनि माटो ल्याउनुपर्ने अवस्था पनि आउन सक्ने उनले बताए । डाँडो कटानका लागि स्थानीय नै जागरुक भएर लागेको उनले प्रष्ट पारे ।  
अहिले विमानस्थलको मेजर बिल्डिङ, इलेक्ट्रिक्स, केबलिङ, प्रकिमल सिएमएसी अक्युपमेन्ट ल्याउने र एक्सेस रोड बिस्तार लगायतका काम भई रहेको छ । विमानस्थल निर्माणको लागि तोकिएको समय भन्दा ५ महिना अघि काम सकेर उडान भर्ने लक्ष लिएर काम थालेको विमानस्थलको अहिले ४५ प्रतिशत काम सकिई सकेको छ । केही समय अघि नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पनि विमानस्थलको कार्यप्रगति निरिक्षण गरेका थिए । अहिले आकस्मिक  विमानस्थलमा आकस्मिक अवतरण गर्न सकिन्छ । 

विमानस्थल पूर्ण रुपमा सुचारु गर्न अझै करिब ४ सय रोपनी जग्गा चाहिने आयोजनाले जनाएको छ । सन् २०२१ जुलाई १० मा निर्माण सक्ने गरि चिनियाँ निर्माण कम्पनी सिइएमसीइले विमानस्थल निर्माणको जिम्मा लिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप