मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कम बोल्ने र बढी सुन्ने काँग्रेसको नीति

बिहीबार, १९ भदौ २०७६, १६ : ५२
बिहीबार, १९ भदौ २०७६

काठमाडौं–नेपाली काँग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा कम बोल्ने र बढी सुन्ने नीति लिएको छ । पार्टी कार्यालय सानेपाका पत्रकार सम्मेलमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बढी अन्र्तक्रियात्मक हुने भन्दै प्रतिनिधिहरूले कम बोल्ने र बढी सुन्ने नीतिका साथ कार्यक्रम तय गरिएको बताए ।

२४ गतेदेखि असोज ७ गते सञ्चालन हुने दोस्रो जागरण अभियान ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रित हुनेछ । जसअनुरूप हरेक क्षेत्रमा एकका दरले ३ सय ३० केन्द्रीय प्रतिनिधि खटिनेछन् । 

कार्यक्रम स्वरूप

जागरण अभियानको दोस्रो चरणका कार्यक्रमहरू प्रथम चरणका कार्यक्रमहरू झैं छरितो स्वरूपमा हुने प्रवक्ता शर्माले जानकारी दिए ।

आसनग्रहणको निश्चित संख्या हुनेछ भने १ मिनेटभित्रै आसन ग्रहणको कार्यक्रम सकिने छ । यो पटक पनि कार्यक्रमका अथितिलाई ठूला (केजीमा तौलिने) माला एवं ब्यााज लगाइने छैन । यस्तै सीमित संख्या वक्ता रहने पनि काँग्रेसले जनाएको छ । यस्तै कार्यक्रमलाई बढी अन्तर्क्रियात्मक बनाइने छ । जसमा प्रतिनिधिहरूले बोल्ने कम सुन्ने बढी प्रकृतिका कार्यक्रम रहेको शर्माको भनाई छ । जागरण अभियानको अन्तिम दिन (असोज ७ गते) जिल्लास्तरीय कार्यक्रमा गरिनेछ ।

उद्घाटन कार्यक्रम
काँग्रेसका अनुसार दोस्रो चरणको जागरण अभियानको उद्घाटन समारोह पहिलो चरणको भन्दा संक्षिप्त र अझै छरितो हुने छ । वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतिक स्वरूप १०६ विरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षारोपण गरेर जागरण अभियानको देशव्यापी रूपमा उद्घाटन गरिनेछ । जसअनुसार सबै निर्वाचन क्षेत्रमा गरी एकैदिन ३४ हजार ९८० विरूवा रोपेर पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पु¥याइनेछ । विपीको तस्वीरमा माल्र्यापण गरेर १ मिनेटको मौनधारण पश्चात वृक्षारोपण प्रारम्भ हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


विशेष सामाजिक संवाद

सरकारप्रति आशा, विश्वास र भरोसा हट्दै गएर एक ढंगको वितृष्णा समाजमा बढ्दै भन्दै जागरण अभियानमा देशव्यापी रूपमा समाजिक संवादमा सहभागी हुने शर्माले बताए ।

उनले भने, ‘नेपाली समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका दिदीबहिनी दाजुभाइ आजको समयमा कस्तो धारणा व्यक्त गर्नु हुन्छ, के भावना राख्नु हुन्छ । उहाँहरूका ज्वलन्त प्रश्न, पीडा र अपेक्षा के छन् ? वर्तमान सरकारसँग उहाँहरूका अपेक्षा के थिए र आजको समयमा कस्तो परिणाम अनुभूति र समिक्षा गरिरहनु भएको छ । यसको वस्तुगत रिपोर्ट ल्याछौं ।’ साथै काँग्रेससँग नागरिका अपेक्षाहरू के छन,् सो विषयमा स्थानीय तहमा गाउँ–नगर वडास्तरीय सामाजिक संवाद कार्यक्रमहरू आयोजना हुने प्रवक्ता शर्माले जानकारी दिए । 

सामाजिक विसङ्गति विरूद्ध जागरण 

‘हिपतम’ अभियानको दोस्रो चरण क्रममा पार्टीको केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित प्रदेश सभा क्षेत्रभित्र कुनै पनि ढंगका सामाजिक विसंगतिका परम्परा, अन्धविश्वास र अप्रिय घटनाहरू भएका छन्, छैनन् । 

यसबारे आवश्यक छलफल र अध्ययन समेत गर्नु हुनेछ । अभियानका क्रममा बोक्सी प्रथा, दाइजोको निहुँमा भएका उत्पीडन, जातीय छुवाछुत र विभेद, बाल श्रम शोषण, घरेलु हिंसा, चेलिवेटी बेचबिखन, छाउपडि लगायत अन्य विसंगतिहरूका विरुद्ध आवश्यक चेतना अभिवृद्धिमा पार्टीको सहभागिता रहनेछ । 

युवा केन्द्रीत विशेष संवाद 
प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित विशेष संवादको कार्यक्रम आयोजना गरिने छन् । नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल र नेपाल महिला संघ लगायत भ्रातृ र शुभेच्छुक संस्थामा आवद्ध युवाहरू तथा अन्य असंगठित युवाहरूको देश, लोकतन्त्र र काँग्रेसको आजको सन्दर्भमा खुला विचारहरू कार्यक्रममा संकलन गरिनेछ ।

३३० प्रदेश सभा क्षेत्रमा औसत ३०० युवाबीचमा वीपीको विचार र संस्कारलाई कार्यक्रमका क्रममा सम्प्रेषण गर्दा समग्रमा १ लाख युवासँग संवाद र सम्प्रेषण पन्ध्र दिनको अवधिमा हुने काँग्रेसको अपेक्षा छ । उनका अनुसार युवा केन्द्रित विशेष संवाद जागरण अभियान क्रममा आवश्यकता अनुसार प्रदेश सभा क्षेत्र, गाउँनगर या वडास्तरीय समेत हुनेछन् । 

वडास्तरीय अन्तरक्रिया

‘हिपतम’ जागरण अभियानको दोस्रो चरणको कार्यक्रमहरू मध्ये वडा स्तरीय अन्र्तकृया पार्टी सुदृढीकरण र प्रभाव विस्तारका सन्दर्भमा गाउँ–गाउँमा रहेका साथीहरूको भावना बुझ्न महत्वपूर्ण रहनेछ । पार्टीको यो आन्तरिक कार्यक्रम विषय प्रवेशलगत्तै ‘फ्लोर ओपन’ गरी सहभागिहरूको राय संकलन गरिनेछ । 

वडा संगठनको स्थिति समिक्षा, वडाको विकास निर्माणमा पार्टीको भूमिका, गाउँ–नगरपालिकाको कार्य समिक्षा तथा समग्रमा काँग्रेस सुदृढीकरणका लागि आवश्यक कार्यहरूबारे वडा स्तरीय विशेष छलफल हुनेछन् । 

अग्रज, शहीद परिवार र द्वन्द पीडितको आँगनमा 

जागरण अभियानका क्रममा पार्टीका केन्द्रीय प्रतिनिधि र अन्य नेताहरुले लोकतान्त्रिक अन्दोलनमा काँग्रेसका त्याग गर्ने अग्रजहरु एवं शहीद परिवारप्रति श्रद्धा प्रकट गरिने छ । द्वन्दकालका एवं विभिन्न आन्दोलनका घाइतेहरूको पीडा र आजको स्थिति बुझ्ने कार्यक्रम रहेको छ ।

पार्टी प्रवेश अभियान

दोस्रो चरणमा यो भन्दा ठूलो संख्या विभिन्न राजनैतिक दल परित्याग गरेर नेपाली काँग्रेसमा समाहित उसको अपेक्षा छ । काँगेसले अभियान क्रममा यसलाई प्राथमिकतामा राखेको छ । नवप्रवेशीलाई उपयुक्त समयमा विशेष प्रशिक्षण प्रबन्ध गरिनेछ । प्रथम चरणमा जागरण अभियानमा ३१ हजार ६ सय ४२ जना काँग्रेसमा प्रवेश गरेका थिए ।


काँग्रेसले जागरण अभियानमा स्थानीय सरकारहरूको दुई वर्षे समिक्षा पनि गर्नेछ । यसक्रममा काँग्रेस पार्टीका तर्फबाट उम्मेदवार भई विजयी भएका भएका जनप्रतिनिधि एवं उम्मेदवारहरू तथा पार्टीको स्थानीय समितिहरूका बीच विशेष आन्तरिक बैठक आयोजना गर्ने काँग्रेको तयारी छ ।

जागरण अभियानको दोस्रो चरण मूलत ३३० प्रदेश क्षेत्र केन्द्रीत छ तर यसको नेतृत्व, तयारी र व्यवस्थापन क्रममा पार्टीका जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ–नगर र वडा समितिहरू सबैले फरक–फरक जिम्मेवारी सम्पादन गर्नेछन् । 

जिल्ला कार्यसमितिको जिम्मेवारी

काँग्रेसले जागरण अभियानका क्रममा पार्टीका सबै जिल्ला कार्यसमितिहरूले पनि जिम्मेवारी दिएको छ । 
जस अनुसार जिल्ला समितिले अभिलेख संकलन, जिल्लाका सबै प्रदेश क्षेत्रमा युवा केन्द्रित विशेष संवादको सहजीकरण,  प्रदेश सभा क्षेत्रका जागरण कार्यक्रमहरूको आवश्यक समन्वय, असोज ७ गते अन्तिम दिन जिल्ला स्तरीय विरोध प्रदर्शनको तयारी, व्यवस्थापन र नेतृत्व जिल्ला कार्यसमितिको जिम्मामा परेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीयदेखि वडासम्मको जिम्मेवारीमा     प्रदेश सभा स्तरीय युवा केन्द्रीत विशेष संवाद, गाउँ–नगर स्तरीय ‘सामाजिक संवाद’ कार्यक्रम, स्थानीय तहमा विजयी र उम्मेदवार तथा पार्टी बीच छलफल वडास्तरीय विशेष अन्र्तक्रिया कार्यक्रम, पार्टी प्रवेशका कार्यक्रमहरू, असोज ३ गते संविधान दिवसका कार्यक्रमहरू रहेका छन् ।

काँगे्रसले जागरण अभियानसँगै संविधान दिवसलाई पनि भव्यताका साथ मनाउने तयारी गरेको छ । जसमा संविधान निर्माणमा काँग्रेसले गरेको नेतृत्व, संविधानका विशेषता र आजको दायित्व विषयक कार्यक्रम (अन्तरक्रिया या विचार गोष्ठी) गरिनेछ । 

यस्तै असोज ३ गतेको गाउँ–नगर वडा समितिको समन्वयमा साँझ सबै गाउँ–नगरका निश्चित चौक बजारमा दिप प्रज्ज्वलन गर्नेछ ।

दोस्रो चरणको जागरण अभियानको अन्तिम असोज ७ गते काँग्रेसले सरकारको विरोधमा जिल्ला–जिल्लामा विरोध प्रदर्शन पनि गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप