केन्द्रीय संस्करण
स्वास्थ्य

किन बढे थाइराइडका बिरामी ?

person explore access_timeभदौ १९, २०७६ chat_bubble_outline1

काठमाडौँ । कुनै समय ‘प्याकेटको आयोडिनयुक्त नुन खाऔँ, गलगाँड हुनबाट बचौँ’ भन्ने अभियान नै सञ्चालन गरिएको थियो । विद्यालय–विद्यालयमा आयोडिनयुक्त नुन चिन्ने तरिका र त्यसले स्वास्थ्यमा पु-याउने फाइदा बारेमा जानकारी गराइन्थ्यो । तर अहिले थाइराइडको बिरामी बढ्दै गएकाले यसमा नुनमा भएको आयोडिनको पनि भूमिका छैन भन्ने विषयमा चिकित्सकहरु सोच्न बाध्य भएका छन् । 

सामान्यतया शिशुहरूलाई दैनिक ५० माइक्रोग्राम आयोडिन आवश्यक पर्छ । यस्तै गर्भवती तथा दूध खुवाउने आमाहरूलाई दैनिक दुई सय माइक्रोग्रामसम्म आवश्यक हुन्छ । सामान्य व्यक्तिमा दैनिक एक सय ५० माइक्रोग्रामदेखि तीन सय माइक्रोग्राम आवश्यकता पर्छ । 

विश्व स्वास्थ्य सङ्गठनले सामान्यतया कुनै पनि देश वा स्थानको आयोडिनको पोषणस्थिति थाहा पाउन विद्यालय जाने बालबालिकाकोे पिसाबमा आयोडिनको मात्रा जाँच गर्नुपर्ने हुन्छ । यसरी जाँच गर्दा १०० माइक्रोग्राम प्रतिलिटरभन्दा कम भएमा आयोडिनको कमी, १०० देखि १९९ माइक्रोग्राम प्रतिलिटर भएमा पर्याप्त, २०० देखि २९९ माइक्रोग्राम प्रतिलिटर भएमा अलि बढी र ३०० भन्दा माथि भएमा अत्यधिक भनी मूल्याङ्कन गरिएको छ । सन् २००७ मा गरिएको सरकारी तथ्याङ्कले बालबालिकाको पिसाबमा आयोडिनको मात्रा २०२ माइक्रो ग्राम प्रतिलिटर भएको देखायो । यो मात्र विश्व स्वास्थ्य सङ्गठनको मूल्याङ्कनअनुसार अलि धेरै हो ।

शरीरमा आयोडिनको कमी भएमा थाइराइड ग्रन्थि ठूलो भई गलगाँड आउने हुन्छ । साथै थाइराइड हर्मोन कम हुन गई हाइपोथाइराइडिजम हुन्छ । गर्भावस्थामा आयोडिनको कमी भएमा सुस्त मनस्थितिका बालबालिका जन्मने जस्ता समस्या आउँछन् । तर आयोडिनको मात्रा बढी भएमा पनि त्यसले थाइराइडको अटोइम्मुनिटीलाई बढाई हाइपो थाइराइडिजम हुन्छ । अटोइम्मुनिटीले थाइराइडका कोसिकाहरुलाई मारेर थाइराइड हर्मोन कम बन्ने हुन्छ । गलगाँड आउने र हाइपर थाइराइडिजम (आयोडिन धेरै हुँदा थाइराइड हर्मोन धेरै बन्ने) गराउँछ भने थाइराइडले क्यान्सरको प्रकोप पनि बढाउँछ । नेपालमा पनि ६ देखि ९ वर्षका बालबालिका, गर्भवती तथा वयस्क महिलामा पनि आयोडिनको मात्रा अन्य व्यक्तिभन्दा अलि बढी देखिएको छ ।


नेपालमा सबै नुनमा आयोडिन मिसाइएको हुन्छ । नुनमा आयोडिन मिसाउँदा ५० पीपीएम (प्रति दस लाख) आयोडिन रहनुपर्ने हुन्छ । उपभोक्तासम्म पुग्दा यसको मात्रा १५ पीपीएम (प्रति दस लाख) भन्दा कम हुनु हँुदैन । नुनमा मिसाइएको आयोडिन भण्डारण गर्दा घाम पानीले सजिलै नष्ट हुनसक्ने भएकाले पाकेटमा बन्द भएको आयोडिनयुक्त नुन नै प्रयोग गर्नुपर्ने हुन्छ । नेपालीले कम्तीमा पनि दिनमा दुई तीनथरीको तरकारी र नुन प्रयोग गरेको धेरै खानेकुरा खाने हुँदा कतै आयोडिनको मात्रा पो बढी भएको होइन भन्ने सरकारकै अनुमान छ । 

मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. सुनिल पोखरेलले केही वर्ष पहिला नेपालमा आयोडिनको कमी भएको देशमा थियौँ भने अहिले आयोडिन अलि बढी वा अत्यधिक भएको छ । सरकारको आधिकारिक तथ्याङ्क नभए पनि नेपालमा थाइराइड रोगका बिरामीको सङ्ख्यामा कमी भएको देखिएको छैन । बरु झनै बढिरहेको पाइएको छ । यस विषयमा सरकारले अविलम्ब सोच्नुपर्ने धारणा राख्दै आएका छन । कतै आयोडिन बढी भएका कारणले थाइराइड हर्मोन धेरै भएको त होइन भन्ने प्रश्न पनि उठेको छ ।

महिलामा थाइराइड धेरै

काठमाडौँ डायबिटिक एन्ड थाइराइड सेन्टरका कन्सल्टेन्ट इन्डोक्रोनोलोजिस्ट डा. अंशुमाली जोशीले गरेको एक अध्ययनले नेपालमा महिलामा ६० र पुरुषमा ४० प्रतिशत थाइराइड भएको देखाएको थियो । स्वास्थ्य मन्त्रालयले २०१६ मा ‘नेपाल नेसनल माइक्रोन्युट्रियन्ट स्टाटस सर्वे’ गर्दा नेपालीहरुले प्रयोग गरिरहेको नुनमा आयोडिनको मात्रा कति छ भनेर पनि अध्ययन गरेको थियो । यस क्रममा क्रिस्टल, रिफाइन्ड र क्रस्ड  गरी तीन किसिमका नुनको नमुना लिएको थियो । यस अध्ययनअनुसार सर्वेक्षणका लागि लिइएका सबै खालका नुनका नमुनाहरुमध्ये ६८ प्रतिशत नुनमा आयोडिनको मात्रा चाहिनेभन्दा बढी रहेको पाइएको थियो । ६८ प्रतिशत नमुनामा आयोडिनको लेबल ४० पीपीएमभन्दा बढी पाइएको थियो । सोही सर्वेक्षण प्रतिवेदनमा दिइएको जानकारीअनुसार आयोडिनको मात्रा १५ देखि ४० पीपीएम भएमा ठीक मानिन्छ । तीन किसिमका नुनका नमुनाहरुमा पनि रिफाइन्ड नुनमा ७६ प्रतिशत नमुनामा आवश्यकभन्दा बढी लेबलमा आयोडिनको मात्रा पाइएको थियो । क्रस्ड नुनका नमुनामध्ये ५२ प्रतिशतमा र क्रिस्टिल नुनको ८ प्रतिशत नमुनामा आयोडिनको मात्रा मानिसलाई आवश्यकता पर्नेभन्दा बढी पाइएको थियो ।

आयोडिनको मात्रा कम गर्नुपर्छ

अहिले हाइपर थाइराइडको बिरामी पनि बढ्दै गइरहेको छ । साल्ट ट्रेडिङ कर्पाेरेसनले ५० पीपीएम आयोडिन राख्ने गरेको छ । त्यसलाई कम गरेर ३० पीपीएम बनाउनुपर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलको भनाइ छ । सहरी क्षेत्रमा दुई जना बालबालिकाले खाने नुन एक जनाले नै खाने, कम्तीमा पनि ३ थरीको तरकारी खाने हुँदा नुनको मात्रा घटाउनु पर्ने महानिर्देशक प्याकुरेलले बताए । नुनको मात्रा धेरै हुँदा हाइपर थाइराइडको सम्भावना धेरै देखिएको छ । आयोडिनको कमीले गलगाँड भएका व्यक्ति कमै भएको हुँदा अब आयोडिनको पीपीएम ३० मा झार्नुपर्ने महानिर्देशक डा. प्याकुरेले बताए । यो सवालमा साल्ट टे«डिङसँग पनि छलफल गर्ने प्रयासमा भएको हुँदा आयोडिनको पीपीएम घट्ने सक्ने विभागले जनाएको छ ।

मधुमेह रोग विशेषज्ञ डा. ज्योती भट्टराईले सामान्य नागरिकलाई दैनिक १५० मिलिग्राम आयोडिनको मात्रा आवश्यक भएको बताइन् । आयोडिन बढी भएर नागरिकको स्वास्थ्यमा समस्या देखिएको भन्ने कुरा अहिलेसम्म खासै नआएको बताउँदै उनले सरकारले आयोडिन कम वा बढी भएको कुरालाई अनुसन्धानबाट पुष्टि गर्न आवश्यक रहेको उनको तर्क छ । 

समस्या भएको रिपोर्ट आएको छैन

यता साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेश झाले सरकारले केही सहरी क्षेत्रलाई हेरेर निर्णय गर्न नहुने बताए । अध्ययन अनुसन्धान गरेर आयोडिनको बढी मात्राकै कारण नागरिकको स्वास्थ्यमा समस्या भएको रिपोर्ट आएको खण्डमा साल्ट ट्रेडिङले सरकारको निर्णय पनि मान्न तयार भएको बताए । तर उनले सीमित सहरी क्षेत्रलाई भन्दा पनि ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थाबारे ध्यान दिनुपर्ने बताए । अहिले आयोडिन बढी प्रयोगका कारण नागरिकको स्वास्थ्यमा समस्या आएको कुनै पनि रिपोर्ट नआएको हुँदा साल्टले यो विषयमा केही पनि नसोचेको बताए । तर समस्या नै निम्त्याएको हो भने सरकारसँगको छलफलपछि अगाडि बढ्न सकिने उनको भनाइ छ ।  

कमेन्ट

  1. Sept. 5, 2019, 6:21 p.m. vrishav
    iodized salt is the worst ever for health. plz consume rock salt, pink salt.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...