केन्द्रीय संस्करण
अर्थ

‘निजी क्षेत्रको सहभागिताबिना सरकारको एकल पहलमा मात्र जलविद्युत् उत्पादनमा क्रान्ति ल्याउन सकिँदैन’

person explore access_timeभदौ १८, २०७६ chat_bubble_outline0

काठमाडौँ । नेपाल जलस्रोतमा धनी छ । त्यसमाथि भौगोलिक र जलाधार संरचनाले नेपालमा जलविद्युत् उत्पादनको सम्भावना नै सम्भावना छ । करिब ८३ हजार मेगावाट जलविद्युत् नेपालमा उत्पादन गर्न सकिने विश्लेषण गरिएको छ । तर नेपाल आफ्नै उत्पादन क्षमताको एक छेउ पनि पुग्न सकेको छैन । अहिलेसम्म बल्लतल्ल ७ सय मेगावाट मात्र जलविद्युत् उत्पादन गर्न सकेको छ । भनौँ आफ्नै देशको उत्पादनले अझै आफैलाई पुर्याउन सकिरहेका छैनौँ । विदेश निर्यातको त कुरै छाडौँ । अझै देशका सबै क्षेत्रमा जलविद्युतको उज्यालो पुग्न सकेको छैन । देशका कैयौँ क्षेत्रहरु आज पनि टुकीमुनि नै छन् । भलै देशका केही मुख्य सहर भने लोडसेटिङ मुक्त घोषणा गरिएको छ । 

प्रयाप्त जलस्रोत र विद्युत उत्पादनको सम्भावना नै सम्भावना भएर पनि हामीले चाहे जति जलविद्युत उत्पादन गर्न सकिरहेका छैनौँ । कारण हाम्रो देशको गरिबीपना हो । हामीले जलविद्युतमा लगानी बढाउन सकेका छैनौँ । पर्याप्त स्रोत साधन र पुँजीकै अभावमा बाह्य लगानीकर्ताहरुलाई बोलाउनु परिरहेको छ । जसले गर्दा हामीले नचाहेर पनि विभिन्न बाधा व्यवधानहरु सहनु परिरहेको छ । र आफूले चाहे जसरी उत्पादन गर्न सकिरहेका छैनौँ । यसै सन्दर्भमा जलविद्युतमा लागानी बढाउने र जलविद्युतकै क्षेत्रमा काम गर्ने सरकारी संस्था जलविद्युत् लगानी तथा विकास कम्पनीसँग हामीले कुरा गरेका छौँ । नेपालको जलविद्युत उत्पादनको अवस्था, लगानी र चुनौतीको बारेमा हाम्रो बहस रहेको छ । 

यस्तो छ, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) का कार्यकारी निर्देशक (सीईओ) छविराज पोखरेलसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले लिएका अन्तरवार्ताः

जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो र यसको मुख्य उद्देश्य के थियो ?

कम्पनी आजभन्दा करिब ७ वर्षअघि विस २०६८ सालमा स्थापनमा भएको हो । कम्पनी स्थापनाको मुख्य उद्देश्य तथा कार्ययोजना भने नेपालमा जलविद्युत् विकासको सम्भावना प्रशस्त हुँदाहुँदै पनि यसको विकास सोचेअनुसार हुन सकिरहेको थिएन । साथै यससम्बन्धी अन्य थुप्रै समस्याका बाबजुद लगानी परिचालनको भरपर्दो माध्यम नहुँदा जलविद्युत् क्षेत्रको विकासका लागि चाहिने आवश्यक पुँजी अभाव नै प्रमुख समस्या देखियो । सोही समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले नै यस कम्पनीको स्थापना गरिएको हो ।

मुख्यतः यस कम्पनीको दुई उद्देश्य छन् :

पहिलोः

जलविद्युत् क्षेत्रको तीव्र विकासका लागि हामी सामु ठूलो लगानी सङ्कलन र परिचालन गर्नुपर्ने चुनौती छ । त्यसका लागि स्वदेशी लगानी मात्र प्रयाप्त हुँदैन । त्यसैले यो कम्पनीले स्वदेशी लगानीसहित विदेशी अर्थात् बाह्य लागानीकर्ताहरु, वैदेशिक बैङ्क तथा वित्तीय संस्थाहरुबाट सहुलियत ऋण वा अनुदान लिई यस क्षेत्रमा परिचालन गर्छ,

दोस्रोः

जलविद्युत् आयोजनाहरुको तीव्र विकासका लागि सरकारी निकायबाट मात्र भएका प्रयासहरु सम्भव नहुने हुँदा प्राइभेट (निजी) क्षेत्रलाई पनि अगाडि बढाउनुपर्ने हुँदा उनीहरुसँग सहकार्य गरी अगाडि बढ्न मद्दत गर्ने र देशलाई जति सक्दो चाँडो जलविद्युत् उत्पादनबाट सम्पन्न बनाउने रहेका छन् ।

जलविद्युतका क्षेत्रमा कम्पनीले लिएको उद्देश्य तथा कार्य नीतिबाट कतिको सफलता प्राप्त गरेको छ त ?

कम्पनी निर्देशित लाभ प्राप्तिको दिशामा विलकुल सही दिशामा अघि बढिरहेको छ । कम्पनीले हालसम्म आफ्नो पुँजीको करिब ९० प्रतिशत (८.५) अर्ब नेपाली रुपैयाँ निजी लगानीकर्ताहरुबाट प्रवद्र्धन गरिएको ५४१ मेगावाट क्षमताका १७ वटा आयोजनामा ४ निजी कम्पनीले लगानी गरिसकेका छन् । यसले प्राइभेट सेक्टर र कम्पनीका बीचमा अत्यन्त राम्रो सहकार्य विकास गरेको छ । अर्कोतर्फ कम्पनीले आफ्नो चुक्ता पुँजीको ८० प्रतिशत लगानी गरिसकेकाले वैदेशिक पुँजी भित्र्याउन वैदेशिक बैङ्क तथा वित्तीय सञ्चालकसँगको सहकार्यलाई तीव्रता दिएको छ । हालसम्म विश्व बैङ्कमार्फत ४० मिलियन यूएस डलर सहुलियत ऋण लिई लगानी गरिएको छ भने, एसियाली विकास बैङ्कमार्फत ५० मिलियन यूएस डलर सहुलियत ऋण लिने कार्य करिब अन्तिम अन्तिम चरणमा पुगेको छ । यसको अलावा कम्पनीले अन्य अन्तर्राष्ट्रिय बैङ्क तथा वित्तीय संस्थाहरुसँग पनि सहकार्य गर्ने कार्य गरिरहेको छ ।  त्यसैले हामी गर्वका साथ भन्न सक्छौँ कि कम्पनीले नेपाली बैङ्क तथा वित्तीय सङ्घ संस्था, वैदेशिक बैङ्क तथा वित्तीय संस्थाहरु, नेपाली निजी लगानीकर्ताहरु र सरकारी निकायसँग मिलेर जलविद्युत क्षेत्रको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ । हामी के प्रष्ट पार्न चाहन्छौँ भने विगत ७ वार्षमा भएका उल्लेखनीय उपलब्धि एक्लै गरिरहेका छैनौँ र म जहिले पनि भन्ने गर्छु कुनै पनि क्षेत्रको विकासमा एकल प्रयासले मात्र नभई सामूहिक प्रयासबाट मात्र सफलता प्राप्त गर्न सकिन्छ ।

*****

ऋण लगानी गर्नका लागि त अन्य बैङ्कहरु छँदैछन् नि । हो, ठूला आयोजनाहरुमा लाग्ने ठूलो ऋण लगानीलाई पनि समाधान गर्न सहुलियत ऋण र अनुदान लिई लगानी गर्नु पनि पर्छ तर विगत ६ वर्षमा कम्पनीले करिब ६० प्रतिशत चुक्ता पुँजी अर्को बैङ्कहरुले जस्तै गरी ऋणमा लगानी गर्नु एकहदसम्म बाटो बिराउन खोजेकै हो । किनकि कम्पनीको प्रबन्ध पत्र हेर्ने हो भने पनि त्यसको मूल स्क्रिप्ट ऋणभन्दा स्वपुँजी लगानीमा नेपाली प्राइभेट सेक्टर र सरकारी निकायहरुलाई सपोर्ट गर्ने देखिन्छ । गत वर्षदेखि हामीले यसमा सुधार गरेर अघि बढेका छौँ । स्वपुँजी लगानीको थालनी गरेका छौँ ।

*****

यो त रह्यो सफलताको पक्ष । अर्कोतर्फ कम्पनीको केही कमिकमजोरी र असफता पनि त रहे होेलान् नि त ?

हामीले सफलताको कुरा गरिरहँदा सँगसँगै केही असफलताको पाटाहरु पनि सँगै जोडिएर आउँछन् । हामी जहिले पनि सफलता तथा उपलब्धिका कुरा सुन्न र सुनाउन आतुर हुन्छौँ तर कमिकमजोरी र सुधारका बारेमा भन्न भने हिचकिचाउँछौँ । तर त्यसो होइन । मलाई लाग्छ नेपालमा जलविद्युत क्षेत्रमा पनि त्यही महान गल्ती भइरहेको छ । कमीकमजोरीहरु बाहिर ल्याए पो त्यसबाट पाठ सिकेर तीनको सुधारमा लाग्न सकिन्छ । यो कम्पनी पनि सो रोगबाट अछुतो रहन सकेको छैन । यो कम्पनीले पनि ६ वर्षसम्म एउटा ठूलो गल्ती गरिरह्यो । कम्पनीले आफूलाई एउटा अर्को बैङ्कको रूपमा ऋण लगानी गर्ने संस्थाका रूपमा मात्र बुझ्यो । यो नै कम्पनीको सबैभन्दा ठूलो भूल थियो । किनकि नाफा कमाउने संस्था कम भए भनेर नेपाल सरकारले अर्को बैङ्कका रूपमा यसको स्थापना गरेको होइन । यसको उद्देश्य नाफा कमाएर लगानीकर्ताहरुलाई बाढ्ने पनि छैन । यसको मुख्य उद्देश्य भनेको स्वपुँजी लगानीका समस्याका कारणबाट अगाडि बढ्न नसकेका बढीभन्दा बढी आयोजनाहरुमा निजी प्रवद्र्धकहरुलाई पुँजीमा सहजीकरण गरी जति सक्दो बढी र छिटो काम पूरा गराउनु हो । यसले त्यसैमा भूमिका खेल्नुपर्छ ।

ऋण लगानी गर्नका लागि त अन्य बैङ्कहरु छँदैछन् नि । हो, ठूला आयोजनाहरुमा लाग्ने ठूलो ऋण लगानीलाई पनि समाधान गर्न सहुलियत ऋण र अनुदान लिई लगानी गर्नु पनि पर्छ तर विगत ६ वर्षमा कम्पनीले करिब ६० प्रतिशत चुक्ता पुँजी अर्को बैङ्कहरुले जस्तै गरी ऋणमा लगानी गर्नु एकहदसम्म बाटो बिराउन खोजेकै हो । किनकि कम्पनीको प्रबन्ध पत्र हेर्ने हो भने पनि त्यसको मूल स्क्रिप्ट ऋणभन्दा स्वपुँजी लगानीमा नेपाली प्राइभेट सेक्टर र सरकारी निकायहरुलाई सपोर्ट गर्ने देखिन्छ । गत वर्षदेखि हामीले यसमा सुधार गरेर अघि बढेका छौँ । स्वपुँजी लगानीको थालनी गरेका छौँ ।

स्वपुँजीमा लगानी नगर्दा कसरी कमजोरी देखियो ? र यसको प्रभाव के रहन्छ ?

स्वदेशी निजी क्षेत्रलाई जलविद्युत जस्तो लामो अवधिको क्षेत्रलाई ७, ८ वर्षको जस्तो सम्झने र जलविद्युत् क्षेत्रमा आकर्षित गर्ने भन्ने अनि त्यसका लागि आवश्यक पर्ने ठूलो स्वपुँजी लगानीको समस्यालाई चाहिँ नजर अन्दाज गर्ने कसरी हुन्छ ?

मानौँ एउटा २० मेगावाटको प्रोजेक्ट छ र त्यसको प्रतिमेगावाट लागत २० करोड लिँदा पनि कुल लागत ५ अर्ब आउँछ र ७०ः३० को अनुपात राख्दा १.५ अर्बको स्वपुँजी लगानी हुन्छ । तपाईं यसो जलविद्युत क्षेत्रमा लागेको लगानीकर्ताहरुलाई नियमअनुसार आफ्नो १.५ अर्ब रुपैयाँ लगानी गरेर ७, १२ वर्षसम्म प्रतिफलका लागि कुर्न सक्ने धैर्यता कतिमा छ ? सबैले गलत काम गरिरहेका छौँ । कागजमा पैसा लगानी गरेको देखाउँदै आयोजनाका लागत बढाउँछौँ अनि बैङ्कबाट बढी ऋण ल्याउँछौँ । त्यसैले स्वपुँजीको लगानीको समस्या टार्छौं र अझ भ्याएसम्म आफ्ना घरायसी समस्या र मनका रहरहरु समेत त्यही ऋणको पैसाबाट घुमाउरो बाटोबाट परिचालन गरेर पूरा गर्छौं । म यस्ता निजी प्रवद्र्धनका क्षेत्रलाई दोष दिन्न किनकि अरू उपाय नभएपछि उहाँहरुलाई यो बाध्यकारी माध्यम भएको छ । यसैले आयोजनाको उत्पादन मूल्य बढाएको छ । हामीमा अपारदर्सी काम गर्ने प्रवृत्तिमा बढुवा दिएको छ र समग्र क्षेत्रलाई गलत बाटोतर्फ लगिन थालेको छ । त्यसैले आयोजनामा स्वपुँजी लगानीमा देखिएको समस्यालाई बेलैमा सम्बोधन गर्नुपर्छ र यस कम्पनीको मुख्य दायित्व पनि हो ।

विगतमा कम्पनीले आईपीओ जारी गरी जनताको पैसा उठाउने र ब्याजमा ऋण लगानी गर्ने ठूलो भूल गरेको छ । ५, ७ वर्ष बैङ्कमा डिपोजिट राख्ने र बैङ्कबाट ९, १० प्रतिशतको व्याज खाने गरिएको थियो । जहाँसम्म आईपीओ जारी गरेर उठाएको पैसा कम्पनीले स्वपुँजी लगानीमा बढीभन्दा बढी ध्यान दिनुपर्दथ्यो । त्यहाँ कम्पनी विगतमा नराम्रोसँग चुकेको छ । तर गत वर्षदेखि हामीले त्यसमा सुधार गरेर अघि बढेका छौँ । अब यो कमजोरी दोहोरिने छैन ।

अहिले सरकारले ‘नेपालको पानी जनताको लगानी’ नाराका दिँदै जलविद्युतमा जनताको लगानी बढाउने योजना बनाइरहेको छ नि । यसमा के कस्तो योजना बनिरहेको छ त ?

विल्कुलै, अहिले हामी नेपाली पानीमा जनताको लगानी बढाउने पक्षमै छौँ । जति सक्दो जनताबाटै लगानी जुटाउने र मुनाफा पनि जनतालाई नै प्रदान गर्ने दिशामा छौँ । त्यसैले अहिले यसको मोडालिटी तयार हुँदै छ । जनताको लगानीका लागि २१ वटा परियोजनाहरु छनोटमा परिसकेका छन् । ती आयोजनाहरु ३५ मेगावाट भन्दा माथिका रहेका छन् । आयोजनाको सबै खाले मापदण्ड, नीति निर्माण र भावि लक्ष्यलाई लिएर छनोट गरिएका हुन् । अझ त्यसको अध्ययन अनुसन्धान र छनोट प्रक्रिया हुँदैछन् ।

अहिलेसम्म त्रिशूली थ्री बी, सान्जेन र रसुवागढी गरी तीनवटा जलविद्युत आयोजनामा जनताको लगानी उठाइएको छ । कामको पूर्णताका आधारमा सान्जेन र रसुवागढीमा सत प्रतिशत र त्रिशूली थ्री बीमा भने १० प्रतिशत मात्र आईपीओ उठाइएको छ । ५० प्रतिशत काम सकिएपछि पूर्ण आईपीओ उठाइने छ । जुन आयोजनामा प्रधानमन्त्री समेतको आईपीओ रहेको छ ।

नेपालमा किन आयोजनाहरुले निश्चित गरेको लागत र समय सीमाभित्र आयोजनाहरु पूरा हुँदैनन् । यसमा कसको वा केको कमिकमजोरी हो ?

तपाईंले राम्रो प्रश्न उठाउनुभयो । यो हाम्रो ठूलो समस्याको विषय पनि हो । आयोजनाले भनेको काम र लागत भने बमोजिम नै पूरा भएका उदाहरणहरु हामीसँग कमै छन् । यसमा आयोजनाहरु चुकेकै छन् ।

विशेषतः हाम्रोतिर आयोजनाको डीपीआरपूर्वको पूर्वतयारी नै कमजोर र सामान्य हुने गरेका छन् । काम, निर्माण क्षेत्रको समस्या र भावी चुनौतीका बारेमा हल्का नजर अन्दाजको भरमा अघि बढ्ने परिपाटी छ । आयोजनालाई के समस्या पर्छ र के के कुरामा संयमितता अपनाउनुपर्छ भन्ने ख्यालै गरिँदैन । आयोजनाको काम भटाभट अघि बढाइन्छ । अनि पछि विस्तारै समस्या आइलाग्छन् ।

*****

कम्पनीले आफ्नो स्थापनाको मूल उद्देश्य प्राप्तिका लागि ५ वर्ष व्यावसायिक योजना तयार गरी सञ्चालक समितिबाट स्वीकृति पश्चात् त्यसको कार्यान्वयनमा लागेको छ । कम्पनीले अगाडि ५ वर्षमा करिब २३०५ मेगावाट क्षमताका १३ वटा आयोजनामा करिब २२ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको छ ।

*****

अर्को कुरा भनेको हाम्रोतिर आयोजना प्रभावित क्षेत्रको जग्गाको मुआब्जाको विषय गम्भीर चुनौतीका विषय बन्न गएको छ । आयोजना हो भन्ने वित्तिकै प्रभावित जग्गाधनीले मनलाग्दी मुआब्जा मागिदिन्छन् । एक लाख पनि नजाने जग्गालाई १० लाखको डिमान्ड गर्छन् र अड्को थाप्छन् । यसले काममा अवरोध सिर्जना हुने गरेको छ ।

यो त पर्यो आयोजनाको समस्या । कम्पनीको भावी कार्ययोजना चाहिँ के छ नि ?

कम्पनीले आफ्नो स्थापनाको मूल उद्देश्य प्राप्तिका लागि ५ वर्ष व्यावसायिक योजना तयार गरी सञ्चालक समितिबाट स्वीकृति पश्चात् त्यसको कार्यान्वयनमा लागेको छ । कम्पनीले अगाडि ५ वर्षमा करिब २३०५ मेगावाट क्षमताका १३ वटा आयोजनामा करिब २२ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको छ । त्यस्तै १०,३२५ मेगावाट बराबर क्षमताका १८ वटा आयोजनामा करिब १४.५ अर्ब नेपाली रुपैयाँ मात्र ऋण लगानी गर्ने लक्ष्य राखेको छ । समग्रमा ३२३७.५ मेगावाट बराबर क्षमता तथा ३१ वटा आयोजनामा लगानी गरी नेपाली सरकारको नीति तथा कार्यक्रम मार्फत् जलविद्युत क्षेत्रको विकासमा लिएको लक्ष्य प्राप्तिका लागि खरो रूपमा अघि बढ्दै छ । यसका अलावा कम्पनीले नेपालका अन्य निकाय नेपल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडमार्फत अगाडि बढाउने ठूला आयोजनाका लागि आवश्यक पुँजी परिचालन लगानी अर्थमन्त्रालय र राष्ट्र बैङ्क तथा वित्तीय संस्थाहरुसँग सहकार्य गर्ने नीति लिएको छ । यसको अतिरिक्त कम्पनीले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट माननीय मन्त्रीज्यूको अध्यक्षतामा जारी भएको स्वेतपत्रमा उल्लेख गरिएअनुसार स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुसँग भएको पुँजीलाई समेत जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्ने अवसर जुटाउने उद्देश्यले आफ्नै सफ्सिडेरी कम्पनी रेमिट हाइड्रो लिमिटेडमार्फत आयोजनाहरुको निर्माण अघि बढाउने नीति लिएको छ । जसअन्तर्गत गत आर्थिक वर्षमा करिब १४० मेगावाट क्षमताका २ वटा आयोजनाहरु घुन्साखोला जलविद्युत् आयोजना (६२.३ मेगावाट) र सिम्बुवा खोला आयोजना (६८.५ मेगावाट) को निर्माण गरी अगाडि बढाउँदै छ । यसैगरी विद्युत् विकास विभागसँग समन्वय गरी अन्य आयोजना पनि अघि बढाउने तयारी भइरहेको छ । यी लक्ष्य प्राप्तिका लागि कम्पनीले आफ्नो संस्थागत विकास र मानव स्रोतको क्षमता विकासमा पनि विशेष ध्यान दिने लक्ष्य राखेको छ ।

माथि उल्लेखित लक्ष्य प्राप्तिका लागि त ठूलो पुँजी परिचालनको आवश्यकता देखिन्छ । के सम्भव होला त ?

असम्भव भन्ने कुरा त छँदैछैन । बरु त्यसका लागि पुँजी सङ्कलमा केही चुनौती भने अवश्य छ । तर म असम्भव खेख्दिनँ । तर हामीले कार्यक्षमता, कार्य कुशलता अनि क्रियाशीलता भने बढाउनुपर्छ । यसका लागि कम्पनीले चारवटा नीति अवलम्बन गर्ने लक्ष्य राखेको छ ।

१. नेपाली जनता र बजारमा रहेको पुँजीलाई व्यवस्थित रूपमा जलविद्युतका क्षेत्रमा परिचालन गर्ने र लगानीका दीर्घकालीन औजारहरु (पावर डिजाइन) जारी गर्ने लक्ष्य लिएको छ ।

२. ठूला परियोजनाहरुको विकासमा अभाव हुने पुँजीको परिचालनका लागि अर्थ मन्त्रालय र राष्ट्र बैङ्कको सहयोगमा वैदेशिक बैङ्क तथा वित्तीय संस्थाबाट सहुलियत ऋण तथा अनुदान भित्र्याउने लक्ष्य राखेको छ ।

३. नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्ता, कम्पनीहरुसँगको सहकार्यमा केही ठूला आयोजनाहरुको विकासमा सहभागिता भई ऋण भित्र्याउने लक्ष्य लिएको छ ।

४. विदेशमा रहेका नेपाली दाजुभाइलाई आफ्नो आम्दानीको निश्चित हिस्सा जलविद्युतको क्षेत्रमा लगानी गर्न अवसर जुटाई उहाँहरुलाई दीर्घकालीन आयआर्जनको अवसर प्रदान गर्नै उनीहरुलाई राष्ट्र निर्माणको अभियानमा सरिक गराउने गरी केही राम्रा आयोजना छनोट गर्ने कम्पनीले नीति लिएको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...