शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के नेपालले पाकिस्तानलाई झट्का दिएकै हो त ?

बुधबार, १८ भदौ २०७६, १२ : ३८
बुधबार, १८ भदौ २०७६

काठमाडौँ– भारत पाकिस्तानबीच कश्मीर विवादबारे नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो मामिला भारतको आन्तरिक विषय भएको बताएका छन् । हिन्द महासागर सम्मेलनमा सहभागी हुन माल्दिभ्स पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले मङ्गलबार माल्दिभ्सको राजधानी मालेमा सञ्चारकर्मीले सोधेको एक प्रश्नको जवाफमा यस्तो प्रतिकृया दिएका हुन् ।

भारतले कश्मीरबारे उठाइएको पछिल्लो कदम भारतको आन्तरिक मामिला बताउँदै आएको थियो । ज्ञवालीले सोही तर्कको पक्षमा प्रतिक्रिया दिएको अर्थमा ज्ञवालीको माथिको जवाफलाई अति महत्त्वका साथ भारतीय सञ्चारमाध्यमहरुले समाचार बनाइरहेका छन् । कतिसम्म भने कतिपय सञ्चारमाध्यमले त यसलाई ‘नेपालले पाकिस्तानलाई झट्का दिएको’ भनेर समेत अर्थ लगाएका छन् ।

भारतको समाचार एजेन्सी एएनआईसँग बोल्दै उनले कश्मीरलाई विशेष दर्जा दिँदै आएको भारतीय संविधानको धारामा परिवर्तन पूर्णत सो भारत सरकारको क्षेत्राधिकार पर्ने भएकाले नेपालले त्यसमा बोल्न आवाश्यक नभएको बताएका थिए । ‘त्यसैले त्यस निर्णयमा हाम्रो कुनै टिप्प्णी छैन,’ ज्ञवालीले एएनआईसँगको कुराकानीमा भनेका छन् ।

ज्ञवालीले थप भनेका छन्, ‘सार्कको अध्यक्ष राष्ट्रको हिसाबमा हामी सार्कका सबैलाई विवाद सम्वादमार्फत समाधान गर्न आग्रह गर्छौँ । तनावलाई बढाएर समस्या समाधान हुदैंन । युद्ध सबैभन्दा खराब विकल्प हो । सम्भवतः हरेक राष्ट्र यसलाई पन्छाउन चाहन्छन् । सम्बद्ध पक्षबीच सम्वाद सुरु हुनेछ र शान्ति स्थापनालाई सहयोग पुग्नेछ भन्ने हाम्रो आशा छ । यसले मात्र यो क्षेत्रमा स्थिरता ल्याउनेछ ।’

कश्मीरबारे भारतको कदमपछि आफूहरुको मुख्य चासो त्यस क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षाका विषयमा रहेको पनि ज्ञवालीले बताए । ‘नेपालीहरुले कुनै समस्या भोगेका छैनन् भन्ने कुराले हामी खुसी छौँ । यस विषयमा हामी भारत सरकारसँग नजिक रहेर समन्वय गरिरहेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप