केन्द्रीय संस्करण
स्वास्थ्य

डेङ्गु नियन्त्रणको जिम्मा कसको ?

४० वटा जिल्लामा फैलिँदासमेत स्वास्थ्य मन्त्रालय भन्छ– हाम्रो जिम्मा होइन

person explore access_timeभदौ १८, २०७६ chat_bubble_outline0

काठमाडौँ– नेपालका ४० भन्दा बढी जिल्लामा डेङ्गु महामारीका रूपमा फैलिएको छ । तर सरकारले यसको नियन्त्रणका लागि ठोस कदम अझै चालेको छैन । बरु डेङ्गु नियन्त्रण गर्ने जिम्मामा एकले अर्कोलाई देखाएर उम्कने प्रयास भइरहेको छ ।

पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रेसका नेता (सांसद) गगनकुमार थापाले डेङ्गु सङ्क्रमण अहिले ‘राष्ट्रिय समस्या’ भएको भन्दै यसको नियन्त्रण गर्न सङ्घीय सरकार नै लाग्नुपर्ने बताउँछन् ।

सङ्घीय सरकार यसको नियन्त्रणमा आकस्मिक रूपमै नलाग्ने हो भने ठूलो क्षति हुनसक्ने उनको भनाइ छ । डेङ्गु नियन्त्रणमा  प्रदेश र स्थानीय सरकारको मात्रै भर पर्न नहुने र सबैलाई खटाउने काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नुपर्ने थापाको भनाइ छ ।

‘अन्य सामान्य समस्यालाई प्रदेश र स्थानीय निकायले हेर्न सक्ने भए पनि यस्तो बेलामा भने सङ्घीय सरकारले सबै निकायलाई साथमा लिएर काम गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले डेङ्गु नियन्त्रणको सवालमा काम गरिरहेको होला तर यस्तो बेलामा अझ बढी अग्रसरता सङ्घीय सरकारले देखाउनुपर्छ’ पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले रातोपाटीसँग भने ।

*****

सङ्घीय स्वास्थ्य मन्त्रालयको आफ्नो काम नीतिनिर्माण गर्ने भएकाले डेङ्गु नियन्त्रणको काम स्थानीय र प्रदेश सरकारको भएको भन्ने भनाइप्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन् । केन्द्रीय सरकारको यस्तो भनाइ गैरजिम्मेवारीपन भएको उनीहरुको भनाइ छ । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ राष्ट्रिय महामारी बनेको डेङ्गु नियन्त्रणमा केन्द्र सरकार नै लाग्नुपर्ने बताउँछन् ।

*****

डेङ्गु महामारीका रूपमै फैलिएकाले अहिले स्वास्थ्य मन्त्रलाय एक्लैले पनि केही गर्न नसक्ने भन्दै उनले अन्य मन्त्रालयसमेत एक ठाउँमा आउनुपर्ने सुझाव दिए । ‘स्वास्थ्य मन्त्रालयले नेतृत्व गर्ने र प्रधानमन्त्रीको निर्देशनमा मार्गनिर्देशन गर्ने हो भने सङ्घअन्तर्गतका सबै मन्त्रालयले नियन्त्रणका सवालमा काम गर्ने वातावरण बन्छ’ थापले सुझाव दिए ।  सङ्घीय संरचनाअनुसार कार्यविभाजनबारे अलमल भएकाले पनि डेङ्गु नियन्त्रणका सवालमा काठमाडौँ उपत्यकाको सवालमा समस्या भएको थापको तर्क छ । ‘यस्ता कुरामा स्पष्ट कार्यविभाजन भएन भने भोलिका दिनमा अन्य भयावह समस्या आउँदा पनि यस्तै हुनसक्ने भन्दै प्रत्येक मिनेट खेरा नफाली डेङ्गु  नियन्त्रणमा लाग्नुपर्छ,’ सरकारलाई थापाको आग्रह छ ।


गैरजिम्मेवार पन किन ?

सङ्घीय स्वास्थ्य मन्त्रालयको आफ्नो काम नीतिनिर्माण गर्ने भएकाले डेङ्गु नियन्त्रणको काम स्थानीय र प्रदेश सरकारको भएको भन्ने भनाइप्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन् । केन्द्रीय सरकारको यस्तो भनाइ गैरजिम्मेवारीपन भएको उनीहरुको भनाइ छ । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ राष्ट्रिय महामारी बनेको डेङ्गु नियन्त्रणमा केन्द्र सरकार नै लाग्नुपर्ने बताउँछन् ।

‘नेपालमा डेङ्गु महामारीका रूपमा फैलिएको छ । यो नियन्त्रणका लागि सङ्घ सरकार नै लाग्नुपर्छ । हामी सङ्घीयता कार्यान्वयनको सुरुवाती अवस्थामा भएकाले महामारीको सवालमा प्रदेश र स्थानीय तहले मात्रै नसक्ने हुँदा स्वास्थ्य मन्त्रालय नै लाग्नुपर्छ,’ श्रेष्ठको सुझाव छ ।

उनले अरूलाई देखाएर केन्द्र सरकार उम्कन खोज्नु गैरजिम्मेवारपन भएको भन्दै विपद्का समयमा सबै मिल्नुको विकल्प नभएको बताए ।

धरानबाट सुरु भएर ४२ जिल्ला पुग्यो

गत वैशाख ३१ मा सुनसरीको धरानमा डेङ्गु सङ्क्रमणका बिरामी भेटिए । त्यसबेला फाट्ट फुट्ट मात्रै देखिएको यो रोग नियन्त्रणका लागि स्थानीय सरकारले खासै चासो दिएन । जब सङ्क्रमितको सङ्ख्या बढ्दै गयो अनि स्थानीय निकायले प्रदेश र सङ्घ सरकारसँग नियन्त्रणका लागि कर्मचारीदेखि बजेटसमेत माग्न पुग्यो । एक जिल्लाको एउटा सहरमा फैलिएको डेङ्गुले महामारीको यस्तो रूप लेला भन्ने कसैले सोचेनन् । धरानमा फैलिएको डेङ्गु अहिले ४२ भन्दा धेरै जिल्लासम्ममा पुग्ला भन्ने कुरा धेरैका लागि कल्पनाभन्दा बाहिरको थियो । जसले गर्दा स्थानीय, प्रदेश र सङ्घ सरकारले नियन्त्रणका लागि बेलैमा चासो र अग्रसरता दिएनन् ।

झण्डै ५ महिनाको अवधिमा ५ हजारभन्दा धेरै नागरिक सङ्क्रमित भइसकेका छन् । अहिलेसम्म ४ जनाले डेङ्गुकै कारण ज्यान गुमाइसके पनि सरकार यसलाई स्वीकार्न तयार छैन । ‘डेङ्गु लागेका बिरामीमा अन्य रोग पनि थियो, त्यसैले निधन भयो’, जवाफ यस्तो आइरहेको छ । नेपालका प्रमुख सहरहरु धरान, विराटनगर, पोखरा, हेटौँडा, चितवन र काठमाडौँ उपत्यका लगायतमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ ।

सङ्क्रमण फैलिएर हजारौँ नागरिक पीडित हुँदासम्म स्वास्थ्यसम्बन्धी तालुकदार निकायहरु भने सुस्त गतिमा चलिरहेका छन् । खरायोको गतिमा हुनुपर्ने काम कछुवाको गतिमा भएको भन्दै जनआक्रोश पोखिन थालेको छ ।

*****

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले त डेङ्गु नियन्त्रणको जिम्मा सङ्घ सरकारको नभएको नै बताइन् । उनले सङ्घ सरकारको जिम्मा नीति, नियम निर्माण गर्ने भएको भन्दै प्रदेश र स्थानीय तहले यसमा ध्यान दिनुपर्ने बताइन्

*****

स्थानीय तहमा किट अभाव

सङ्क्रमण फैलिएका स्थानमा किट र कर्मचारीको अभावले नियन्त्रणमा लिन नसकिएको बताएका छन् । अर्काेतर्फ कतिपय स्थानीय तहमा विषयगत ज्ञान र आपतकालीन यस्तो अवस्थाका लागि बजेट नै विनियोजन गरेका छैनन् । जसले गर्दा केही डेङ्गु फैलँदै गएको सरोकारवालाहरुको भनाइ छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले स्वास्थ्यकर्मी अभावकै कारण नियन्त्रणमा समस्या आएको प्रतिक्रिया दिएकी छन् ।

स्वास्थ्य मन्त्रालय भन्छ– हाम्रो जिम्मा होइन 

देशभर माहामारीको रूपमा फैलिएको डेङ्गु नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले आफ्नो मात्रै जिम्मामा नपर्ने प्रतिक्रिया दिएको छ । भदौ १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बसेको बैठकमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयले मात्रै डेङ्गु नियन्त्रण गर्न नसक्ने बताए । मन्त्री यादवले डेङ्गु नियन्त्रणमा  सेना र प्रहरीसमेत परिचालन गर्नुपर्ने समेत बताएका थिए । सोही कार्यक्रममा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले त डेङ्गु नियन्त्रणको जिम्मा सङ्घ सरकारको नभएको नै बताइन् । उनले सङ्घ सरकारको जिम्मा नीति, नियम निर्माण गर्ने भएको भन्दै प्रदेश र स्थानीय तहले यसमा ध्यान दिनुपर्ने बताइन् ।

मन्त्रालयको बोली फेरियो

डेङ्गु नियन्त्रणको जिम्मा केन्द्र सरकारको नभएको बताउँदै आएको मन्त्रालयले आफ्नो बोली फेरेको छ । दुई दिन पहिला अर्थात् भदौ १५ गते प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले भने कर्मचारी र बजेट कमीका कारण नै डेङ्गु नियन्त्रण गर्न नसकेको बताए । उनले २५ वर्षअघिको स्वास्थ्य नीति, नियम दरबन्दीमा सरकार चल्दा ९ हजार चिकित्सक आवश्यक रहेको पनि बताए । यस्तै उनले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरिनुपर्ने विश्वस्वास्थ्य सङ्गठनको नियम भए पनि त्योअनुसारको बजेट स्वास्थ्य क्षेत्रलाई नछुट्याउँदा डेङ्गु नियन्त्रणमा समस्या आएको तर्क गरे ।

मन्त्रीको टोली दिल्लीमा, महाशाखा प्रमुख अख्तियारको फन्दामा

विश्व स्वाथ्य सङ्गठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (सेरो) का सदस्य राष्ट्रका स्वास्थ्यमन्त्रीको बैठकमा भाग लिन मन्त्रीसहित सचिव र नीति योजना महाशाखाका प्रमुख दिल्ली गएका छन् । भदौ १६ बाट सुरु भएको बैठकमा जलवायु परिवर्तको स्वास्थ्यमा असर, क्षयरोगको जोखिम तथा आपतकालीन जोखिम व्यवस्थापनको क्षमता सशक्त बनाउने लगायतका विषयमा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको सङ्गठनका सदस्यहरु छलफलमा जुटका हुन् । मन्त्रीसँगै सचिव पुष्पा चौधरी, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकोटा पनि नयाँ दिल्ली गएका हुन् । 

 यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख यही बेला अख्तियारको फन्दामा परेका छन् । महाशाखा प्रमुख विवेक लालसँगै  विभागका व्यवस्थापन महाशाखा निर्देशक रमेशप्रसाद अधिकारी, शाखा प्रमुख डा. सुरेन्द्र प्रसाद चौरासियालाई औषधि आपूर्तिका क्रममा फर्जी बिल बनाएर झन्डै ३ करोड ४४ लाख रूपैयाँ अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले नियन्त्रणमा लिएर छानबिन थालेको हो । ३ करोड ४४ लाख ३२ हजार १५० रूपैयाँको नक्कली बिल बनाएको कागजात अख्तियारले (भदौ १५) मा लगेको छ । फरक फरक मितिमा एउटै दाखिला नम्बर चढाइ औषधि आपूर्ति गरेकोबारेमा उजुरी परेपछि कागजात नियन्त्रणमा लिएको छ । तर महाशाखा प्रमुख विवेकलालले भने आफुलाई अख्तियारको कुनैपनि पत्र नआएको बताए ।

कार्यक्रम प्रदेश राजधानी केन्द्रित

डेङ्गु नियन्त्रणबारे केन्द्र सरकारको अस्पस्ट जवाफ आइरहेका बेला प्रदेश सरकारहरुले पनि डेङ्गु नियन्त्रणलाई प्राथमिकता दिएको पाइँदैन । प्रदेश सरकार प्रदेशको राजाधानीबाट बाहिर जान नसकेको सर्वसाधारणले गुनासो गरेका छन् । उदाहरणका लागि अहिलेसम्म ३ जनाको निधन भइसकेको प्रदेश नं ३ मा डेङ्गु नियन्त्रणको कार्यक्रम प्रदेश राजधानी हेटौँडा  र चितवनभन्दा बाहिर नजानुबाटै प्रदेश सरकार राजधानीभन्दा बाहिर जान नसकेको प्रस्ट हुन्छ ।

प्रदेश नं. ३ का स्थानीय विकास मन्त्री युवराज दुलाल काठमाडौँ उपत्यकामा बाहिरबाट बिरामी आएको हुँदा खासै डेङ्गुको समस्या नभएको भन्ने प्रतिक्रिया दिए ।

यसरी सङ्घ सरकारले अभिभावकको भूमिका निर्वाह नगर्ने, प्रदेश सरकारले प्राथमिकतामा नराख्ने र स्थानीय तहले यस्ता प्रकोप नियन्त्रणका लागि बजेट विनियोजन नगर्ने हो भने धेरै नागरिकमा डेङ्गुको सङ्क्रमण फैलिने खतार छ ।

डेङ्गु  नियन्त्रणमा नागरिकले ध्यान दिनुपर्ने कुराहरु :

डेङ्गु लाग्नुको मुख्य कारण आधुनिक जीवनशैली मानिएको छ । धारामा पानी नआउने हुँदा प्रत्येक घरको छतको ट्याङ्की, बाटा, बाल्टिन, गमलामा पानी राखिने हुँदा लामखुट्टेले खुला राखिएको पानीमा अण्डा पार्दा डेङ्गुको समस्या देखिएको छ । ‘सहरी क्षेत्रमा फोहोर बिर्सजनको राम्रो व्यवस्थापन नहुनु  । पर्याप्त पानीको व्यवस्थापन नहुँदा पनि समस्या देखिएको छ । थोरैभन्दा थोरै जस्तै मिनिरल वाटरको बिर्काे फाल्नुभयो र त्यो बिर्काेमा केही मात्रामा पानी छ भने पनि त्यहाँ लामखुट्टेले अण्डा पार्दा डेङ्गु फैलन सक्ने सम्भावना हुन्छ । सवारी साधनमा प्रयोग गर्ने टायर जथाभावी फाल्ने, टायर ओसिलो हुने र टायरमा एक पटक परेको पानी निकाल्न नसक्ने हुँदा लामखुट्टेले अण्डा पार्ने क्रम धेरै बढ्दै गएको देखिन्छ ।  घरवरपरको खाल्डाखुल्डीमा पानी जमेको छ भने पुर्नुपर्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...