बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एटीएमबाट चोरी प्रकरण : प्रहरीका लागि मुख्य ‘लिड’ बनेको त्यो एउटा चाबी !

प्रभु बैङ्कका कर्मचारीको सूचनाले ठूलो दुर्घटना टर्‍यो
सोमबार, १६ भदौ २०७६, १२ : ४६
सोमबार, १६ भदौ २०७६

काठमाडौं । शनिबार दरबारमार्गस्थित नबिल बैङ्कको एटीएममा रकम चोरी गर्दागर्दै एकजना चिनियाँ नागरिक पक्राउ परे । तिनैसँग सोधपुछ पछि पछ्याउँदै जाँदा गिरोहका थप चार जना प्रहरीको फन्दामा परे ।

उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १–१ थान समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा ३५ वर्षीय चेन विन विन, ३२ वर्षीय झु लियाङ आङ, ३० वर्षीय क्यु याङयिङ, ४० वर्षीय लु जियालिङ र २९ वर्षीय लिन जिनमिङ रहेका छन् । प्रहरीका अनुसार शनिबारको दिन राजधानीका विभिन्न एटीएम बुथबाट ५ घण्टासम्म उनीहरुले पैसा झिक्ने काम गरेका थिए ।

अनुसन्धान अधिकारीहरूले यसमा नेपालीहरूको पनि संलग्नता हुनसक्ने बताएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ डीएसपी होविन्द्र बोगटीले घटनामा नेपाली नागरिकको पनि संलग्नता हुनसक्ने बताउँदै त्यसतर्फ पनि प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

उनले भने, ‘अज्ञात स्थलमा बसेर नेपाली नागरिकले निर्देशन दिने गरेको शंका लागेको छ । अनुसन्धान गर्दैछौँ ।’ नेपालीका संलग्नता समेत रहेको सञ्जालकै माध्यमबाट यिनीहरु यहाँ आएको हुनसक्ने प्रहरीको भनाइ छ ।

यता, एटीएमको स्विच ह्याक गर्ने मुख्य व्यक्ति भने विदेशमा रहेको बताइएको छ । स्वीच ह्याक गर्ने मुख्य व्यक्ति स्पेनमा रहेको पक्राउ परेकाहरुले नै प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रहरी अनुसन्धानमा दुई समूहमा आठ जना चिनियाँ रकम झिक्नका लागि भरियाका रुपमा नेपाल भित्रिएको खुलेको छ । उनीहरू शुक्रबार मात्रै काठमाडौँ भित्रिएका थिए । 

यस्तै आइतबार राति विमानस्थलबाट सोही गिरोहका एकजना चिनियाँ नागरिक एटीएम लुटेर भाग्दै गर्दा पक्राउ परेका छन् । अन्य दुई जना फरार रहेको र खोजीकार्य जारी रहेको डीएसपी बोगटीले बताए ।

आइतबार चिनियाँ नागरिकले अनाधिकृतरुपमा सिस्टम असुरक्षित रहेको थाहा पाएपछि अधिकांश बैङ्कहरूले एटीएम सिस्टम डाउनसमेत गरेका थिए ।

यसरी पक्राउ परे

शनिबार बिदा भएको कारणले काठमाडौँ प्रहरी प्रमुख उत्तमराज सुवेदी, एसपी, डीएसपी र इन्सपेक्टरहरु कार्यालयमै बसेर छलफलमा थिए । कुराकानीको क्रममा डीएसपी होविन्द्र बोगटीलाई एउटा नम्बरबाट फोन आउँछ ।

कुराकानी चलिरहँदा बोगटीको मोबाइलको बजेको घण्टी प्रभु बैङ्कका चिफ अप्रेसन अफिसर (सीओओ) दिनेश थकालीको थियो । थकाली र बोगटीको सुरक्षाको विषयमा पहिले नै चिनजान रहेको थियो ।

डीएसपी बोगटीले उनको नम्बर चिनिहाले । लगत्तै फोन उठाएर कुरा गर्न थाल्छन् । एसएसपी सुवेदी, एसपी अशोक सिंह, अन्य डीएसपी र इन्सपेक्टरहरु कुराकानीमै व्यस्त थिए ।

फोनमा थकालीले बोगटीलाई एउटा सूचना दिए, ‘दरबारमार्गमा रहेको नबिल बैङ्कको एटीएम बुथबाट असामान्यरुपमा पैसा निकालिँदैछ ।’ प्रभु बैङ्कको एटीएम प्रयोग गरेर नबिलको खाताबाट रकम निकालिएको थकालीले जानकारी गराएका थिए ।

फोन राखिसकेपछि डीएसपी बोगटीले घटनाबारे काठमाडौँ प्रहरी प्रमुख एसएसपी सुवेदीलाई जानकारी गराउँछन् । एसएसपी सुवेदीले सूचना पाएलगत्तै डीएसपी बोगटीलाई नै घटनास्थलमा खटाउँछन् ।

एसएसपी सुवेदीले उक्त एरियाका प्रहरीलाई पनि घटनाबारे जानकारी गराउँछन् । महानगरीय प्रहरी वृत्त, दरबारमार्ग, लैनचौर र कमलपोखरीमा इन्चार्जलाई घटनाबारे जानकारी गराएर ‘स्ट्यान्ड बाई’ रहन निर्देशन दिएका थिए ।


डीएसपी बोगटीको टोली दरबारमार्गस्थित नबिल बैङ्कको एटीएम पुग्दा दिउँसोको ४ः३० बजेको थियो । एटीएमबाट पैसा निकालेर भाग्ने क्रममा चिनियाँ नागरिक झु लियांगको डीएसपी बोगटीसँग एकआपसमा जम्काभेट हुन्छ ।

झम्काभेटसँगे एकछिन झु लियाङ मौन बसेको डीएसपी बोगटी बताउँछन् । प्रहरीलाईं शङ्का लाग्छ झु लियांगको गोजी छाम्छ । लियांगको गोजीबाट ४५ हजार नेपाली रुपैयाँ भेट्टाउँछ । अपरेशनको नेतृत्व गरेका डीएसपी बोगटी भन्छन्, ‘पछि झोला खानतलासी गर्दा २० वटा नक्कली एटीएम कार्ड देखेपछि झनै शङ्का लाग्यो ।’

त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

झु लियाङसँग सोधपुछ गर्नकै लागि पर्यटकीय प्रहरीसँग समन्वय गरेर होटल ¥याडिसनका एक स्टाफलाई बोलाएको डीएसपी बोगटीले बताए । पक्राउ परेका लियाङलाई चिनियाँ भाषामा नै सोधुपुछ गरियो ।

तर, उनले कुनै पनि सूचना चुहाएनन् ।

डीएसपी बोगटी भन्छन्, ‘खानतलासीको क्रममा भेटिएको होटलको एउटा चाबी अनुसन्धानको लागि महत्त्वपूर्ण साबित बन्यो ।’ प्रहरीका अनुसार जय नेपाल हलनजिकै रहेको माया मनोहर बुटीकको कोठा नम्बर ६०४ को चाबी थियो त्यो ।

लियाङले केही सूचना नचुहाइरहेको अवस्थामा चाबीलाई फलो गर्दै प्रहरीले तत्काल एक्सन लिएका कारण समूहका अन्य पक्राउ परे ।

चाबी भेटिएपछि दरबारमार्ग प्रहरी प्रमुख विनोद घिमिरे र परिसरका प्रहरी होटलतर्फ गए । प्रहरीको आशंका थियो – एटीएमबाट चोरिएको बाँकी रकम त्यही हुनसक्छ ।

प्रहरी टोली होटलको लिफ्टबाट छैठौँ तलामा पुग्दा लिफ्टबाहिर निस्कन खोज्दा तीन चिनियाँ नागरिकसँग जम्काभेट भएको घिमिरेले बताए । घिमिरेले भने, ‘उनीहरुले दुई वटा सुटकेश र झोलाहरु बोकेका थिए ।’

प्रहरीलाई उनीहरुमाथि शंका लाग्छ र तत्कालै खानतलासी गर्छ । झोला खोलेर हेर्दा मिलाएर नराखिएका पैसाका गड्डी भेटिएको डीएसपी भेट्टाउँछ ।

त्यसपछि उनीहरुबाटै गिरोहका अन्य सदस्यहरु पक्राउ पर्छन् ।

प्रहरीका अनुसार कोठा नं. २०१, ६०२ र ६०४ मा उनीहरु बसेका थिए । पक्राउ परेका ५ जना छैठौं तलमा बसेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरु पक्राउ परेको थाहा पाउनासाथ दोस्रो तलामा बसेका ३ जना भागेको आशंका प्रहरीले गरेको छ ।

डीएसपी घिमिरे भन्छन्, ‘पक्राउ परेका व्यक्ति यति हतारमा थिए कि खाजा खाँदाखाँदै झोलामा रकम खाँदेर भाग्ने खोज्दै थिए । यो टोली पनि भागेको भए पक्राउ गर्न धेरै गाह्रो हुन्थ्यो ।’

‘प्रभु बैङ्कका कर्मचारीबाट सूचना पाउनासाथ हाम्रो टोली परिचालन भइहाल्यो हो,’ एसएसपी सुवेदी भन्छन्, ‘सही समयमा सूचना र प्रहरी परिचालन हुँदा ठूलो क्षति हुन पाएन । प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भयो ।’

एसएसपी सुवेदी भन्छन्, ‘जब होटलमा पुगेर भाग्न थालेको अवस्थामा थप चारजना पक्राउ गर्यो त्यसपछि हामीले उनीहरुले गरेको अपराधको बृहत रुप देख्यौँ ।’

‘उनीहरुसँग नेपाली सिम थिएन, कम्युनिकेसनका लागि पनि वी च्याट मात्र प्रयोग हुन्थ्यो,’ एसएसपी सुवेदी भन्छन्, ‘बेलुकै समातिँदा ठूलो दुर्घटना टर्यो ।’

प्रहरीका अनुसार उनीहरुले नविल बैङ्क, प्रभु बैङ्क र हिमालयन बैङ्कबाट पैसा निकालेको पाइएको छ ।

चोर्न तीन दिनका लागि नेपाल

प्रहरीका अनुसार एटीएमबाट पैसा चोर्नकै लागि भनेर चिनियाँ नागरिक तीन दिनका लागि मात्र नेपाल आएका हुन् । शुक्रबार मात्र नेपाल भित्रिएको र आइतबार नै चीनतर्फ भाग्ने उनीहरुको योजना थियो ।

विदाको दिन (शनिबार) पारेर उनीहरुले चोर्ने योजना बनाएर नेपाल आएको एसएसपी सुवेदीले रातोपाटीसँग भने । पक्राउ परेकाहरुले पनि तीन दिनको लागि मात्र नेपाल आएको प्रहरीसमक्ष बयान दिएका छन् ।

पक्राउ परेकासँगै आएका अन्य २ जना व्यक्ति अझै फरार छन् ।

सर्वसाधारण आत्तिनुपर्ने अवस्था छैन : अध्यक्ष ढुङ्गाना

यता, बैङ्कर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सर्वसाधारणलाई आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले भने, ‘व्यक्तिको पैसा निकालिएको छ भने पनि बैङ्क आफैले व्यहोर्छ । व्यक्तिलाई मारमा पार्दैनौँ ।’

२–४ करोड घाटामा गएपनि बैङ्कहरु मिलेर मिनाह गर्ने ढुङ्गानाले बताए । ‘यस्तो घटना भएपछि आजैदेखि सबै बैङ्कका आइटीहरु झनै सक्रिय भएका छन्,’ उनले भने ।

यो पटक ठूलो घटना हुनबाट जोगिएको समेत अध्यक्ष ढुङ्गानाले भनाई छ ।

बैङ्कहरुले जाहेरी दिँदै

एटीएम ह्याक गरेर पैसा निकालेको भेटिएपछि बैङ्कहरुले प्रहरीमा जाहेरी दिने क्रम जारी छ । अहिलेसम्म ३ वटा बैङ्कहरुले जाहेरी दिएका छन् । अन्य बैङ्कहरुले पनि जाहेरी दिने भनेपनि दिइनसकेको परिसरका डीएसपी बोगटीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप