शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासकै सबल र सक्षम अन्तर्राष्ट्रियस्तरको अध्यागमन बनाउँदैछौँ : प्रवन्ध निर्देशक पौडेल

अनधिकृत रूपमा बस्ने विदेशीको सङ्ख्या ठूलो छ, हामी अनुसन्धान गर्दैछौँ
आइतबार, १५ भदौ २०७६, १२ : ५१
आइतबार, १५ भदौ २०७६

काठमाडौँ । नेपाल सरकारको अध्यागमनसम्बन्धी नीति एवम् कानुनको कार्यान्वयन गरी अध्यागमन व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी पाएको निकाय अध्यागमन विभाग हो । अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ बमोजिम यो निकायले देश भित्रिने र बाहिरिने प्रत्येक स्वदेशी तथा विदेशी नागरिकको तथ्याङ्क लिने, चेक जाँच गर्ने र त्यसको वैधानिक अवैधानिकता हेरी कारबाही गर्नेसम्मको अधिकार राख्छ । यही अध्यागमनको अख्तियारले नै देशमा अनधिकृत कोही पनि प्रवेश गर्न पाउँदैनन् र बाहिरिन पनि पाउँदैनन् । समाजमा त्यस्तो कुनै पनि आपराधिक घटना घट्न पाउँदैन । तर हाम्रो देशमा यही अध्यागमन विभाग चुस्त दुरुस्त र जिम्मेवार पूर्ण बनेको पाइँदैन । विभागकै विषयलाई लिएर बेला–बेलामा विवाद नआउने गरेका होइनन् । 

देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’को अध्यागमन विभागको अवस्थाबारे बारम्बार प्रश्न उठ्ने गरेका छन् । अहिलेसम्म कति विदेशी नागरिक नेपाल प्रवेश गरे र कति बाहिरिए भन्ने सामान्य तथ्याङ्क समेत हाम्रो अध्यागमन विभागसँग छैन । अझ कस्ता व्यक्ति नेपाल प्रवेश गरे र कस्ता बाहिरिए भन्ने विषय त परको कुरा । देशकै अध्यागमन विभाग जस्तो संवेदनशील क्षेत्रको यस्तो लाजामर्दो अवस्था देख्दा हाम्रो देशको सुरक्षाको अवस्था के छ भन्ने बारे सजिलै अनुमान लगाउन सकिन्छ । नेपाललाई अध्यागमन चुनौती के कति होला ? यसै विषयमा केन्द्रीत रहेर अध्यागमन विभागका प्रवन्ध निर्देशक ईश्वरराज पौडेलसँग गरिएको अन्तरवार्ताः

अध्यागमन विभागको पछिल्लो अवस्था के छ ? काम कारबाही कसरी अघि बढिरहेको छ ?
ठ्याक्कै भन्नुपर्दा अहिले अध्यागमनको अवस्था इम्प्रुभ (सुधार)को अवस्था हो । अहिले म यही सुधारको कार्यमा व्यस्त छु । 

आजको दिनसम्म अध्यागमन विभाग जसरी चल्दै थियो, त्यो व्यवस्थित र मर्यादित पक्कै देखिएको थिएन । अपर्याप्त स्रोत साधन र अव्यवस्थित सिस्टमका कारण विभागको कार्यप्रणाली प्रभावकारी हुन सकिरहेको थिएन । अव्यवस्थित र अमर्यादित भएकैले विभागको कार्यप्रति व्याप्त जनगुनासा र प्रश्नहरु उठ्दै आएका थिए । तर अब त्यसो हुँदैन । 

अध्यागमन विभागको पूरै सिस्टम नै परिवर्तन गर्ने गरी काम हुँदै छ । मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागकोे कार्य प्रणाली र व्यवस्थापनको सुधारका लागि हामी लागिरहेका छौँ । काम तीव्र रूपमा अघि बढिरहेको छ । अबको तीन महिनाभित्र परिणाम देखिने छ । काम सकिएपछि सतप्रतिशत त नभनौँ ९९ प्रतिशत विभागको कार्यप्रणालीमा सुधार आउनेछ । अहिले देखिएको जुन जनगुनासा छन् ती हट्नेछन् र विभागप्रतिको विश्वास बढ्नेछ ।

विभागको कार्यप्रणाली वा सिस्टममै कायापलट ल्याउने गरी अध्यागमनमा कस्तो खालको सुधार ल्याउँदै हुनुुहुन्छ त ?
निश्चय नै । अहिले जुन रूपमा विभागको सिस्टममै समस्या देखिएको छ, त्यो हट्ने छ । पहिलो कुरा त अमर्यादित र अव्यवस्थित रहेको अध्यागमन विभागको पोर्टलाई व्यवस्थित गरिने छ । त्यसपछि हामीसँग भएका स्रोत साधनको अभावलाई पूर्ति गरिने छ । विशेषतः विभागलाई प्रभावकारी र सुरक्षित बनाउन अत्याधुनिक र सुविधासम्पन्न उच्चस्तरीय टेक्नोलोजीको प्रयोग गरिँदैछ । त्रिभुवन विमानस्थलको अध्यागमन विभागलाई व्यवस्थित गर्दै थप कडाइ गर्न देश भित्रिने र बाहिने व्यक्तिहरुको सम्पूर्ण जानकारी राख्ने अत्याधुनिक रिडियबल मेसिन राखिने छ । 

व्यक्तिको आँखाको नानीदेखि मुहारको हुलियासम्म मेसिनले रिड गर्ने छ । व्यक्तिको डकुमेन्टसमेत विभागमा सूक्ष्म तरिकाले अध्ययन गरिने र सम्बन्धित निकायहरूमा पठाइने छ । यो कामको तयारी करिब अन्तिम अन्तिम चरणमा पुगिसकेको छ । जसरी महानगरपालिकामा हुँदा मैले नो हर्न, मापसेलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको थिएँ, त्यसैगरी यो अध्यागमन विभागको अस्त व्यवस्ततालाई पनि सुधार गरिछाड्छु । जब म अध्यागमन विभागको निर्देशक भएर आएँ त्यो अठोटका साथ काम गरिरहेको छु । 

अध्यागमनको सुधार अनुभूत गर्नेगरी कसरी देख्न सकिन्छ त ?
नेपाल सरकारको नीतिभित्र रहेर मैले एक वर्ष लगाएर अध्यागमन विभागको सुधारको खाका बनाएको छु । त्यसै खाका तथा योजना बमोजिम नै काम पनि अघि बढाइएको छ । नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना, विकास निर्माणको कामको तीव्रता र प्राथमिकता दिने रणनीति मुताविक नै अध्यागमन विभागको सुधार एवम् वृद्धि विकासमा हामी लागिरहेका छौँ । विशेषगरी अध्यागमन विभागलाई माथि उठाउन अर्थमन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिसद्को निर्णयहरुले साथ दिएका छन् । देशको सुरक्षा विषयसँग प्रत्यक्ष सरोकार राख्ने अध्यागमन विभागलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु आवश्यक छ । त्यसका लागि अर्थ मन्त्रालयबाट बजेट मिलेको छ । झण्डै २५ करोड लागतमा अध्यागमनको सुधार हुँदैछ ।

मैले ७ प्याकेजमा अध्यागमनको सुधार योजना तयार गरेको थिएँ र त्यसै अनुरूप काम अघि बढिरहेको छ । 

पहिलो, प्याकेजमा अध्यागमनको प्रविधिसम्बन्धी काम छ । जहाँ डाटा कलेक्सनसम्बन्धी सफ्टवेर बनाइने छ । जुन सफ्टवेर विभागकै कर्मचारी र केही बाहिरका इन्जिनियरहरुको सहकार्यमा बनाइँदैछ । सफ्टवेरका लागि मात्र विभागले करिब ५० लाख खर्च गर्दैछ । 
२. अन्तर्राष्ट्रिय स्तरका उच्चतम टेक्नोलोजीयुक्त उपकरणको खरिद : बायोमेट्रिक डाटा कलेक्सन, उच्च स्तरीय क्यामेरा, कम्प्युटर लगायतका प्राविधिक टुल्सहरु
३. प्रविधिः
४. भौतिक पूर्वाधार विकास विस्तार एवम् सुधार
५. अत्याधुनिक नेटवर्ककिङ सुविधा
६. कागजपत्र चेकजाँचसम्बन्धी उच्चतम प्रविधिको विकास र
७. कर्मचारीहरुको वृत्ति, विकास एवम् क्षमता अभिवृद्धिका लागि तालिम, प्रशिक्षण तथा अभिमुखीकरणको व्यवस्था गर्ने गरी कार्य योजना बनाइएको छ । 
नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा पर्यटन वर्ष २०२० अगावै अध्यागमनको सुधारका काम पूरा गर्ने हाम्रो लक्ष्य छ । दाबीका साथ भन्छु अबको १०० दिनभित्रै काम पूर्ण भइसक्ने छ । 

अध्यागमन विभाग सेटिङमा काम गर्ने गर्छ भन्ने आरोप लाग्ने गर्छ नि ?
तपाईंले गम्भीर प्रश्न उठाउनुभयो । विदेश जाने र नेपाल प्रवेश गर्ने मुख्य नाकामा अध्यागमन विभाग हुने र चेकजाँच गर्ने हुँदा त्यसको जिम्मेवारी विभागकै हुन्छ । विभागबाट हुन गएका त्रुटिहरुमा प्रश्न उठ्नु स्वाभाविक हो । तर पूरै सेटिङमा काम गरिन्छ र अध्यागमनको संवेदनशीलता र देशको सुरक्षालाई ख्याल गरिँदैन भन्ने कुरा गलत हो । मैले अघि पनि भनिसकँे हामीसँग सीमित स्रोत साधन र लिगेसी कार्य प्रणाली छ । जसले विभागको प्रभावकारितामा बाधा दिइरहेको पक्कै हो । अब त्यसो हुन नदिन विभागले कदमहरु चलिसकेको छ ।

जुन विभागमा भएका चलखेलका विषयहरु छन्, त्यो हाम्रा केही कर्मचारीहरुको बदमासीले भएका हुन् । अहिले यही मुद्दामा विभागकै कर्मचारी कारबाहीमा परेका छन् । विभागभित्रकै अध्यागमन अधिकृत यही मुद्दामा प्रमाणसहित जेल चलान भएका छन् ।

अहिलेको मेरो लक्ष्य तथा उद्देश्य भनेको नै विभागको काम कर्तव्य र जिम्मेवारीप्रति बफादार बन्दै प्रभावकारिता देखाउने हो । सम्मानीय प्रधानमन्त्रीको अभियान ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’लाई शिरोधार्य गर्दै मैले पनि अध्यागम विभागमा यस्तो कार्यबाट टाढै राख्ने प्रयत्न गरेको छु । अहिले विभागसँग त्यस्ता तत्वहरुसँगको कुनै उठबस छैन । हामीले नोटिस नै जारी गरेर कुनै पनि मेनपावर कम्पनी, ट्राभलस् एजेन्सी, एयरलाइन्स, टुर अपरेटर लगायतका एजेन्सी, होटल व्यवसायी वा ती निकायहरुका प्रतिनिधिहरुसँग कुनै खालको भेटघाट तथा सम्बन्ध नहुने जानकारी गराएका छौँ । जुन हाम्रो वेभसाइट, विभाग र कार्यालहरुमा टास गरिदिएका छौँ ।

अनाधिकृत वा अवैध रूपमा देश प्रवेश गर्ने वा बाहिरिनेहरुको तथ्याङ्क के छ ? अध्यागमन विभागले अहिलेसम्म त्यसको अनुगमन नियमन के कसरी गरेको छ र कारबाही कत्तिको भएको छ ?
अवश्य नै, विभागबाट थाहा पाएका र प्रमाणित भएका त्यस्ता अनधिकृत व्यक्ति वा समूहलाई कारबाहीको दायरामा ल्याएका छौँ र ल्याउँदै पनि छौँ । गत आर्थिक वर्ष २०७५÷७६ मा मात्र यस्ता केसमा ११९ विदेशी नागरिकलाई देश निकाला गरिएको छ । यसै आर्थिक वर्षमा पनि १९ जना विभागको कारबाहीमा परिसकेका छन् । विभागले अनुगमन नियमन नगरेको होइन । अवैधानिक रूपमा नेपाल प्रवेश गर्ने, भिसाको मिति सक्किसक्दा पनि नेपाल नछाड्ने र लुकिछिपी बस्नेहरुप्रति विभागले कारबाही चलाइरहेको छ । यसै विषयमा अध्ययन गर्न अहिले हामीले प्रहरी, प्रहरीको अपराध अनुसन्धान ब्युरो, टुरिजम बोर्ड, अन्तर्राष्ट्रिय सुरक्षा संयत्र इन्टरपोल लगायतको सहकार्यमा अनुगमन नियम गर्दै कारबाही प्रक्रिया अघि बढाइरहेको छ । 
देशभित्र अनधिकृत रूपमा बस्ने विदेशी नागरिकहरुको सङ्ख्या ठूलो छ । त्यसको विभागले सूक्ष्म अनुसन्धान गरिरहेको छ । 

नेपालको भारततर्फ खुल्ला सिमाना छ, खुल्ला सीमान भएकैले अध्यागमन चुनौती कत्तिको छ ?
खुल्ला सिमाना अध्यागमन विभागको ठूलो चुनौतीको विषय नै हो । नेपाल तर्फमात्र नभएर नेपाल–भारत दुवैतर्फ खुल्ला सीमानाले अध्यागमनलाई समस्या पारिरहेको छ । 

नेपालमा आपराधिक घटना घटनाउने र भारततर्फ भाग्ने, भारतमा आपराधिक कार्य गर्ने र नेपाल तर्फ आएर लुक्ने चलन छ । यसलाई दुवै देशको अध्यागमनले रोक्न सकेको छैन । रोक्न पनि सक्दैन । किनकि खुल्ला सीमाना भएकैले, खुल्ला प्रवेश आज्ञा भएकैले र पहिलेदेखिकै सीमा पारि सीमा वारि रोजिरोटीको सम्बन्ध भएकैले यसमा कडाइ गर्न सकिने ठाउँ नै छैन । 

जहाँसम्म तेस्रो मुलुकका नागरिकसमेत खुल्ला सीमानको फाइदा उठाउँदै नेपाल प्रवेश गर्छन् त्यसमा विभागले कारबाही गरेको छ । त्यस्ता विदेशीहरुलाई विभागले जरिवाना गर्ने र नेपाली भिसा बनाएर पठाउने गरेको छ । 

विभागले आफ्नो कार्यलाई व्यवस्थित गर्दै आएको छ । त्रिभुवन विमानस्थलको अध्यागमन पोर्टमा मात्र नभएर विभागले विभाग अन्तर्गत प्रवेश तथा प्रस्थान बिन्दुमा स्थापित देशका अन्य १० स्थानबाट अध्यागमनसम्बन्धी काम कारबाही अघि बढाइरहेको छ ।  साथै अध्यागमनसम्बन्धी केही कार्यहरु परराष्ट्र मन्त्रालय, विदेशस्थित दूतावासहरु तथा महावाणिज्य दूतावासहरुबाट समेत अध्यागमनसम्बन्धी कार्यहरु सम्पादन हुने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप