शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्वीटरका प्रमुख ज्याक डोर्सीको ट्वीटर एकाउन्टनै ह्याक

शनिबार, १४ भदौ २०७६, १० : २२
शनिबार, १४ भदौ २०७६

एजेन्सी । ट्वीटरका सह–सस्थापक तथा सीईओ ज्याक डोर्सीकै एकाउन्ट केही समय ह्याकरको नियन्त्रणमा गएको समाचार आएको छ ।

‘चक्लिङ स्क्वाड’ नामक ह्याकरहरुको समूहले डोर्सीको एकाउन्ट आफूहरुले ह्याकिङ गरेको दावी गरेको छ ।

चालिस लाख फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याक भएको १५ मिनेट कयैन अत्यन्त आपत्तिजनक र नश्लीय ट्वीट पोष्ट भएका थिए ।

ट्वीटरले आफ्ना प्रमुखको एकाउन्ट ह्याक गर्न कम्पनीको प्रणाली नभएर डोर्सीले प्रयोग गर्ने गरेको एक मोबाइल सिमको प्रयोग भएको जानकारी दिएको छ । 

‘डोर्सीले ट्वीटर एकाउन्ट खोल्न प्रयोग गरेका मोबाइल नम्बर मोबाइल प्रदायकको लापरबाहीका कारण ह्याकरको हातमा पुगेको थियो,’ ट्वीटरले एउटा वक्तव्यमा भनेको छ ।

‘यसले गर्दा अनाधिकृत व्यक्तिले उक्त मोबाइल नम्बर प्रयोग गरेर टेक्ट म्यासेजमार्फत ट्वीट गरे । उक्त समस्या अहिले हल भएको छ ,’ वक्तव्यमा भनिएको छ ।

कसरी भयो ह्याक

ट्वीटरभित्रका स्रोतले अन्तर्राष्ट्रिय संचारमाध्यम बीबीसीलाई ह्याकरले डोर्सीको एकाउन्ट नियन्त्रण गर्नको लागि ‘सिमस्वापिङ’ नामक प्रविधि प्रयोग गरेको पुष्टि गरे ।

यस प्रविधिमा एकाउन्ट खोल्न प्रयोग गरिएको मोबाइल नम्बर नयाँ सिम कार्डमा ट्रान्सफर गरिन्छ । त्यसो गर्न ह्याकरले मोबाइल प्रदायकलाई झुक्याउने अथवा त्यहाँ कार्यरत ग्राहक सेवाका कर्मचारीलाई घुस दिने गर्छन् ।

नम्बर नियन्त्रण लिइसकेपछि, ह्याकरले टेक्ट्स म्यासेजमार्फत सिधै डोर्सीको एकाउन्टमा ट्वीट पोष्ट गरेका थिए ।

आजकल अधिकांश ट्वीटर प्रयोगकर्ता ट्वीट गर्नको लागि मोबाइल एप प्रयोग गर्छन् । तर सुरुवाती दिनमा ट्वीट गर्न मोबाइलको म्यासेज प्रयोग गर्ने चलन थियो ।

मोबाइल म्यासेजमा धेरै शब्द लेख्न नसकिने भएकाले नै ट्वीटरको थोरै शब्दको सीमा स्थापित भएको थियो ।

विकासोन्मुख देशमा अझै मोबाइल डाटाको मूल्य धेरै रहेकाले ट्वीटरले ती क्षेत्रलाई ध्यानमा राखेर अझै मोबाइलको म्यासेजमार्फत ट्वीट गर्ने प्रविधि यथावत राखेको छ ।

ह्याकरले के पोष्ट गरे ?

ज्याक डोर्सीको एकाउन्टबाट सिधैं पोष्ट भएका र रिट्वीट गरिएका आपत्तिजनक ट्वीटमा अश्वेतलाई गरिने नश्लीय सम्बोधन र यहुदीप्रति घृणा गर्न प्रयोग होलोकाष्टको सन्दर्भ समेटिएका थिए ।

एउटा पोष्टले त ट्वीटरको मुख्यालमा बम भएको संकेत गरेको थियो ।

ह्याकर समूह ‘चक्लिङ स्क्वाड’ले पछिल्लो समय विभिन्न उच्चपदस्थ ट्वीटर एकाउन्टमाथि हमलाको जिम्मेबारी लिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप