शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कसले चढ्ला ६१ लाखको बाइक ?

शुक्रबार, १३ भदौ २०७६, १४ : ००
शुक्रबार, १३ भदौ २०७६

काठमाडौँ । यतिखेर राजधानीको भृकुटीमण्डप नाडामय भएको छ । देशमा उपलब्ध एक सय एक गाडी तथा नयाँ मोडलका सवारी साधन प्रदर्शनीमा राखिएका छन् । यता अटो व्यवसायीहरु पनि कोभन्दा को कमको प्रतिस्पर्धामा आफ्ना नयाँ र आकर्षक प्रोडक्ट प्रदर्शनमा उतारिरहेका छन् । मेलामा कसले अवलोकनकर्ताको ध्यान तान्ने ? भनेर एक किसिमको  प्रदर्शनीको होड नै चलेको छ ।

तर यस वर्षको नाडा अटो सोको विशेष स्टल र प्रोडक्ट एमभी अगस्टा बनेको छ । मेलामा घुम्न आउनेदेखि गाडी खरिद बुकिङ गर्न आउनेसम्मका सबैखाले भिजिटरहरुको ध्यान यही स्टलले तानेको छ । कारण एमभी अगस्टाले मेला बहुमूल्य बाइकहरू प्रदर्शन गरेको छ । विशेषतः बाइकको आकर्षणले भन्दा पनि बाइकको मूल्यले बढी मान्छेको ध्यान तानेको छ । एमभीको एउटै बाइकको मूल्य ६१ लाखभन्दा बढी रहेको छ ।

नाडा अटो सो २०१९ मा एमभी अगस्टाको एफ सेरिजका बाइकहरु मुख्य आकर्षणको केन्द्रमा परेका छन् । जसमा एफ थ्री, एफ फो र टुरिज्मो मोडलको बाइकले मेलाका अवलोकनकर्ताको राम्रै ध्यान तानेको छ । बाइकको फोटो खिच्नेदेखि बाइकसँगै आफ्नै फोटो तथा सेल्फी खिच्नेहरुको भीड लाग्ने गरेको छ ।

६१ लाखको बाइक

अवलोकनकर्ताहरुको मुख्य आकर्षणको केन्द्र एमभीको एफ फो मोडल परेको छ । यसको मूल्य ६१ लाख ९० हजार तोकिएको छ । बाइक नजिकै नोटमा बाइकको मूल्यदेखि बाइकका सम्पूर्ण स्पेफिकेसन राखिएको छ ।

इटालियन कम्पनी एमभी अगस्टाको यो बाइकमा ९९८ घन सेन्टिमिटर, सीसी इन्जिन क्षमता उपलब्ध छ । चार सिलिण्डर, चार स्टोक र १६ भल्भ इन्जिमा उपलब्ध यो बाइकको इन्जिनले १९५ एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्ने ब्रुसर नोटिसमा जनाइएको छ ।

अर्को मोडल हो टुरिज्मो भेलोसी ८०० । यो मोडलको बाइकले पनि भिजिटरहरुको राम्रै ध्यान तानेको छ । एमभीकै अर्को बहुमूल्य बाइक टुरिज्मोको मूल्य ५७ लाख ९० हाजर रुपैयाँ रहेको छ ।

तीन सिलिन्डर, चार स्टोक र १२ भल्भमा उपलब्ध यो बाइक ७९८ घन सेन्टिमिटरमा उपलब्ध छ । उक्त इन्जिनले अधिकतम ११० एचपीको पावर र ८० एनएमको अधिकतम टक्र्यु उत्सर्जन गर्न सक्ने कम्पनीले जनाएको छ । 

कसका लागि ?

अहिले मेलाका अधिकांश भिजिटरको एउटै प्रश्नको विषय हो ६१ लाखमाथिका यी बाइक कसले चढ्ला ? सामान्य गाडीको मूल्यभन्दा पनि अधिक मूल्यको यो बाइक कसको सौखको साधन बन्ला ?

तर नेपालमा योभन्दा पनि महँगो बाइक चढ्ने र राख्ने नेपाली पनि नभएका भने होइनन् । ८०–८५ लाखसम्मका महँगा बाइक चढ्ने व्यक्तिसमेत यही छन् । यति महँगो बाइक चढ्नेहरुमा उच्च र सम्पन्न घरानाका व्यक्तित्वहरु रहेका छन् । यति महँगा बाइक चढ्नुको पछाडि आवश्यकताभन्दा पनि व्यक्तिको सम्पन्नता र शोखको उपजबाहेक अरू केही होइन ।

नेपालमा आएका र उपलब्ध रहेका टप मस्ट (उच्च) मूल्यका बाइकमा हार्ली डेभिडसन,  डुकाटी, बीएमडब्लू, बेनेली, सुजुकी, होन्डा, एमभी अगस्टा अप्रिलिया लगायतका ब्रान्डेड बाइक हुन् । यी ब्रान्डका महँगा बाइकहरुमा सामान्ने १४, १५ लाखदेखि ८०, ८५ लाख मूल्यसम्मका उच्च रेन्जका बाइक रहेका छन् । मूल्यका हिसाबले यी बाइकहरु लग्जरी कार बराबरका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप