शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई स्कुल बसको सास्ती

दिनमा साढे २ घण्टासम्म सवारीमा यात्रा गर्न बाध्य
शुक्रबार, १३ भदौ २०७६, ०९ : ४३
शुक्रबार, १३ भदौ २०७६

उपत्यकाका निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी लामो समयसम्म बसमा यात्रा गरेर विद्यालय जान बाध्य छन् । विद्यालय जान र आउनका लागि एकै दिनमा विद्यार्थीले साढे २ घण्टासम्म बसमा यात्रा गर्नुपर्छ । प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थी कम्तीमा १५ मिनेटको दूरीसम्म पदैल यात्रा हिँड्नुपर्ने भए पनि शिक्षा पद्धतिमा गुणस्तरीता खोज्दै अविभावकहरुले लामो समयसम्म सवारीमा यात्रा गराएर आफ्ना छोराछोरीलाई विद्यालय पठाउने गरेका छन् । निजी स्कुलले एउटै बसलाई बिहान सात बजेदेखि करिब साढे ९ बजेसम्म धेरै रुटमा सञ्चालन गर्दा विद्यार्थी लामो समयसम्म बसमा यात्रा गर्न बाध्य भएको पूर्व ट्राफिक प्रहरी निरीक्षक तथा ट्राफिक स्वयं सेवक सीताराम हाछेथुले बताए ।

‘प्रत्येक रुटअनुसार करिब ३० जना अट्ने क्षमता भएको माइक्रो बस सञ्चाल गर्नुपर्छ, ठूला बस धेरै रुटमा चलाउँदा विद्यार्थी लामो सवारी यात्रा गर्न विवस छन्,’ उनले भने ।

निजी स्कुलले भाडाका सवारी साधन चलाउँदा ट्राफिक जाम र दुर्घटनाको सम्भावना बढी हुने गरेको छ । नाम चलेका निजी स्कुल अति नाफामुखी हुँदा सेन्टजेभियर, सेन्टम्यारिज लगायतका स्कुलले भाडाका सवारी साधनहरु प्रयोग गरेको उनले बताए ।

 विद्यार्थी बोक्ने भाडाका सवारीले धेरै टिप गर्ने लोभमा बस हतारहतारमा चलाउँदा निजी स्कुलका विद्यार्थी मारमा परे, विद्यार्थीलाई बसमा चढाउँदा, झार्दा चालक र सहयोगीले हतार गर्दा दुर्घटना भइरहेका छ’, पूर्व ट्राफिक प्रहरी निरीक्षकको भनाइ छ ।

निजी स्कुलले प्रयोग गर्ने भाडाका बसका चालक र सहचालकले असभ्य भाषामा बोल्दा विद्यार्थीले पनि असभ्य शब्द प्रयोग गर्न सिकेको अभिभावकहरुले गुनासो गर्ने गरेका छन् ।

निजी स्कुलले भाडाका बस सञ्चालन गर्दा कार्यालय खुल्ने र बन्द हुने समयमा बढी ट्राफिक जाम हुने गरेको उनको भनाइ छ । स्कुलले पहेँलो रङको बस प्रयोग गर्ने भनिए पनि अन्य रङका भाडाका बस प्रयोग गर्दा कार्यालय खुल्ने र बन्द हुने समयमा ट्राफिक जाम झन बढी भएको हो । ‘स्कुलले पहेँलो रङको बसको प्रयोग गर्ने भनिएको छ, अब सरकारले विद्यार्थी चढ्ने बस पहेँलो बनाउनुपर्छ’, उनले भने ।

सरकारले निजी तथा सरकारी स्कुलमा ट्रफिकसम्बन्धी विषय नै बनाएर ट्राफिक शिक्षक राख्नुपर्ने उनले बताए । निजी स्कुलका विद्यार्थी बसमा चढ्दा सामान्य ट्राफिक नियमसमेत पालना गरेको पाइँदैन । बस चढ्दा प्राथमिक तहका विद्यार्थीले हात, टाउको बाहिर निकाल्ने, सवारी साधन नरोक्दै हतार गरेर झर्ने गर्छन् ।

निजी स्कुलले भाडाका सवारी साधन प्रयोग गर्न नपाउने नियम बनाएमा ट्राफिक जाम र दुर्घटना कम हुनसक्ने पूर्वट्राफिक प्रहरी निरीक्षक तथा ट्राफिक स्वयं सेवक हाछेथुको भनाइ छ ।


सरकारद्वारा विद्यार्थीमाथि विभेद

सरकारी स्कुलमा अध्ययन गर्ने विद्यार्थी भनेका हुँदाखानेका छोराछोरी हुन् भनेर सरकारले बेवास्ता गरेका कारण निजी स्कुलहरु मौलाए गएको प्राध्यापक डाक्टर टङ्कनाथ धमलाले बताए । हुने खाने अभिभावकले सन्तानको राम्रो भविष्यका लागि पढाए पनि निजी स्कुलले सुविधाका नाममा विद्यार्थीलाई समस्या भोग्न बाध्य बनाएको उनको भनाइ छ ।

सरकारी स्कुलमा हुनुपर्ने सामान्य पूर्वाधार जस्तै खानेपानी, सरसफाइ, शौचालय बेन्चडेक्ससँगै व्यवस्थापन जस्ता कुरामा ध्यान नदिँदा सुविधाको नाममा निजी विद्यालयमा छोराछोरीलाई पढ्न पठाउँदा सवारीमा यात्रा गर्नेक्रममा विद्यार्थीले समस्या भोग्दै आएको उनले बताए । सरकारी स्कुललाई सरकारले गरिबका छोराछोरीले मात्रै पढ्ने हो जस्तो व्यवाहार गरेको भान आम नेपाली जनतामा परेको छ ।

सरकारी स्कुल एउटै गुणस्तरमा आधारित भएर सबै सरकारले विद्यालयलाई व्यवस्थापन गरेको खण्डमा विद्यार्थी निजी स्कुलमा विद्यार्थी नजाने प्राडा धमलाले बताए । ‘छोराछोरीको राम्रो भविष्य बनाउन निजी स्कुलमा पठाउँदा सिर्जनात्मक क्षमतामा क्षय हुँदै गएको अभिभावकले थाहा पाएका छैनन्, निजी स्कुलमा घोकन्ते विद्यामा आधारित भएर अध्ययापन गराउँदा लाखौँ विद्यार्थीको अन्तरनिहित प्रतिभा हराउँदै गयो,’ उनले भने ।

गुणस्तरीय शिक्षाका नाममा निजी स्कुलमा अध्ययन गराउँदा उपत्यकाका विद्यार्थीले स्कुल जाँदा आउँदा साढे दुई घण्टासम्म सवारीमा यात्रा गर्न बाध्य भएका छन् । यसरी लामो समयसम्म सवारीमा बच्चालाई चढाएर मानसिक तथा शरीरिकरूपमा थकान बढ्नाले धेरै समस्या सिर्जना भएको उनको भनाइ छ । ‘सरकारले शिक्षा र स्वास्थ्यलाई नियन्त्रण गर्नुपर्छ, सरकारी स्कुललाई व्यवस्थित बनाएर निजी स्कुलसँग प्रतिस्पर्धा गर्ने वातावरण नबनाएसम्म बसमा यात्रा गर्दा होस्, विद्यार्थीको प्रतिभा उकास्न सकिँदैन’, उनले भने ।

दिनमा साढे २ घण्टासम्म सवारीमा यात्रा गरेर स्कुल गएर घर फर्किंदा प्राथमिक तहका विद्यार्थीले गृहकार्य गर्दा आफ्नो बालापन महसुस गर्न पाएका छैनन् । विदेशमा राज्यद्वारा सञ्चालन गरिएका स्कुल तथा कलेजको गुणस्तरीय हुनेहुँदा निजी शैक्षिक संस्थाहरु राज्यबाट सञ्चालित भएका संस्थासँग प्रतिस्पर्धा गर्न बाध्य हुन्छन् । नेपालमा जबसम्म राज्यले गुणस्तरीय शिक्षा ध्यान दिँदैन् तबसम्म निजी स्कुलबाट पनि गुणस्तरीय शिक्षा अपेक्षा नगरे पनि हुने प्राडा धमलाले बताए ।

*****

लामो समयसम्म सवारीमा यात्रा गरेर अध्ययन गर्दा जाँदा विद्यार्थीमा आलस्यपन देखापर्दैै गएको छ । घरमा गएर अनिवार्य रुपमा गृहकार्य गर्नुपर्ने हुँदा परिवार र साथीभाइसँग धेरै समय बिताउन नपाउँदा बालपानको महशुस गर्न नपाएको मनोविद् सनम पौडेलले बताइन् ।

*****

बस चढ्न ओर्लन सहज बनाउनुपर्छ

विद्यार्थीलाई बसमा चढाउने र ओराल्नेक्रममा सवारी चालक र सहयोगीले ध्यान दिनुपर्ने अक्सिडेन्टल पब्लिक स्कुलका प्रमुख गोपाल पौडेलले बताए । सवारीचालक र सहचालकले ध्यान नदिँदा दुर्घटनासमेत हुन सक्ने अवस्था सिर्जना हुने उनले बताए । ‘विद्यार्थीलाई सहजरूपमा अभिभावकसँग पुर्याउन बस  सञ्चालन गर्ने स्कुलले ध्यान पर्छ, बसमा यात्रा गर्ने क्रममा प्राथमिक तहका विद्यार्थीले हात, टाउको बाहिर निकाल्न हुँदैन भनेर सिकाउनुपर्छ,’ उनले भने ।

कम उमेर समूहका विद्यार्थी बसमा निदाउँदा अझ बढी ख्याल गर्न आवश्यक भएको उनको भनाइ छ । ‘बसमा चढ्ने र ओराल्ने बेलामा बस रोकिसे पछाडि मात्रै झर्नुपर्छ भनेर सिकाउनुपर्छ । यस्ता कुरा सिकाए पनि विद्यार्थीले गल्ती गर्न सक्छन् । त्यसले बसका चालक र सहयोगीले ध्यान दिनु पर्छ ।’

विद्यार्थीलाई बसबाट झर्नुभन्दा पहिले बस रोकेर मात्रै सहयोगी ओर्लिपछि सवारीको ढोकामा उभिएर मात्रै बालबालिकाको झोला समातेर उनीहरुका अभिभावक तथा आफ्न्तलाई जिम्मा लगाउनुपर्ने उनले बताए । विद्यार्थी स्कुल आउन पाँच सात मिनेट ढिला भएर केही फरक पर्दैन बसबाट चढाउन र ओरल्न चालकले हतार गर्न नहुने उनको भनाइ छ । ३ वर्षदेखि १५ वर्षसम्मका बालबालिका स्कुल आउने गरेको प्रमुख पौडेलले बताए । ‘पैदल हिँडेर १०, १२ मिनेटमा स्कुल पुग्ने भए पनि ट्राफिक जाम, धुवाँ धुलोका कारण स्कुल बसमा नै छोराछोरीलाई चढाउने गर्छन् । प्रायः अभिभावक जागिरे हुन्छन् त्यसैले छिटै स्कुल पु¥याए कार्यालय जाने वा घरको काम गर्न फुर्सद निस्किने हुँदा स्कुल बसमा पठाउँछन्,’ उनले भने ।

विद्यार्थीमा आलस्यपन बढ्दो

लामो समयसम्म सवारीमा यात्रा गरेर अध्ययन गर्दा जाँदा विद्यार्थीमा आलस्यपन देखापर्दैै गएको छ । घरमा गएर अनिवार्य रुपमा गृहकार्य गर्नुपर्ने हुँदा परिवार र साथीभाइसँग धेरै समय बिताउन नपाउँदा बालपानको महशुस गर्न नपाएको मनोविद् सनम पौडेलले बताइन् । प्राथमिक तहका बालबलिका कम्तीमा १५ देखि २० मिनेट पैदल एक दिनमा हिँड्नुपर्छ । तर निजी स्कुलमा अध्ययन गर्ने विद्यार्थीको दैनिकी भने त्यस्तो छैन । बिहान ८ बजे स्कुल जान निस्किएका विद्यार्थी साँझ ५ बजे घरमा पुग्दा विद्यार्थी शारीरिक मानसिकरूपमा थाक्ने हुँदा उनीको घरपरिवार र साथीभाइसँग घुलमिल अनि अध्ययन गर्ने क्षमतामा समेत ह्रास आउन सक्ने उनले बताइन् । क्षमताभन्दा बढी स्कुल बसले विद्यार्थी राखेर हिँड्दा साना बालिका यौनहिंसामा पर्ने गरेको उनले बताइन् ।  प्राथमिक तहका विद्यार्थीलाई १५, २० मिनेट पैदल हिँड्न लगाएर स्कुलबाट जाने आउने वातावरण सिर्जना अभिभावकले गर्नुपर्ने उनले बताइन् । प्रत्येक दिन विद्यार्थी पैदल हिँडेर घर जाने आउने गरे शारीरिक तथा मानसिकरुपमा स्वास्थ रहनुका साथै साथीहरुसँग सहज रूपमा घुलमिल हुने वातावरण सिर्जना हुने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप