शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के शालिकरामलाई भिडियो खिच्न अर्को व्यक्तिको सहयोग थियो ?

मङ्गलबार, १० भदौ २०७६, १६ : ११
मङ्गलबार, १० भदौ २०७६

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा भदौ ९ गते जिल्ला अदालत चितवनले पुडासैनीले मृत्युअघि खिचेको भनिएको भिडियोबारे प्रश्न उठाएपछि त्यसबारे बहस सुरु भएको छ ।

थुनछेक बहसपछि आएको आदेशले के शालिकरामले आत्महत्या अघि एक्लैले सबै भिडियो खिचेका थिए वा अरु कसैको सहयोग गरेको थियो भन्नेबारे प्रश्न उठाएपछि यसबारे बहस सुरु भएको हो ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलले ‘मर्नुअघि शालिकरामले खिचेको भिडियो उनी आफैँले खिचेको नभई अर्कै व्यक्तिको सहयोग लिई खिचेको देखिन्छ’ भन्दै यसमा अर्को व्यक्तिको संलग्नता भएको आशंका गरेका छन् । 

मिसिलको तथ्य विश्लेषण गर्ने क्रममा पृष्ठ ७ र ८ मा अदालतले गरेको तथ्य विश्लेषणमा यस्तो लेखिएको छ– ‘निजले घटनास्थलको सो कोठामा उपयुक्त उचाइको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख भएको पनि देखिएन । अतः सो भिडियो रेकर्ड हुँदा निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिन्छ ।’ यसबाट प्रहरीले मुचुल्का तयार गर्ने क्रममै कमजोरी गरेको अदालतको आदेशले देखाउँछ ।

सँगसँगै अदालतले भिडियो कहाँ, कहिले र कसरी कुन अवस्थामा खिचिएको हो भन्ने स्पष्ट नभएको भन्दै आधिकारिकतामाथि नै प्रश्न उठाइदिएको छ ।

अदालतको यस्तो ठहरसँगै यो प्रकरणमा एकमात्र सबुतका रुपमा मानिएको भिडियोको वास्तविकता के हो ? के भिडियो उनी आफैले खिचेका थिए वा आत्महत्या गर्नेबारेमा बोल्दै गरेको भिडियो अर्को कुनै व्यक्तिले खिचिदिएको हो ? भिडियो आत्महत्या गरेकै कोठामा खिचिएको हो वा अन्त कतै खिचिएको थियो ? यदि अर्कै व्यक्तिले भिडियो खिचिदिएका हुन् भने ती व्यक्ति को थिए ? यही विषयमा प्रश्न उठेको हो ।

प्रहरीले भने मुचुल्का तयार गर्दा घटनाक्रमको फेहरिस्तसहितको प्रतिवेदन सरकारी वकीलको कार्यालमा पेश गरेको थियो । यद्यपि अदालतले प्रश्न उठाएको विषयमा भने प्रहरीको प्रतिवेदन मौन छ ।

जसमा उल्लेखित विवरणको सारांश यस्तो छ–

मितिः २०७६ साउन २० गते

स्थानः कंगारु होटल, चितवन नारायणगढ

समयः ३ः२० देखि ३ः३० बजे । शालिकराम होटल बुक गर्न पुग्छन् ।

३ः३२ बजे होटलबाट बाहिरन्छन् ।

३ः४५ बजे होटलमा पुनः फर्किन्छन् ।

३ः५४ बजे ४ मिनेट ८ सेकेण्डको पहिलो भिडियो रेकर्ड गर्छन् ।

४ः०१ बजे ८ मिनेट २७ सेकेण्डको दोस्रो भिडियो रेकर्ड गर्छन् ।

४ः२२ बजे श्रीमतीलाई फोन गर्छन् ।

४ः३६ बजेपछि उनको मोबाइलमा कुनै डिटेल्स देखिँदैन ।

पुडासैनी २० साउनमा चितवनको नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मृत भेटिएका पुडासैनीको साथबाट प्रहरीले माथि उल्लेखित समयमा रेकर्ड गराइएको दुई वटा भिडियो बरामद गरेको थियो ।

मृत्युअघि बनाइएको भिडियोलाई प्रमुख आधार बनाएर प्रहरीले अनुसन्धान सुरु गर्यो भने भिडियो परीक्षणको लागि फरेन्सिक ल्याबमा पठाइयो । परीक्षणको क्रममा १३ मिनेट २७ सेकेण्डको भिडियो पुडासैनी आफैंले मर्नुअघि खिचेको पुष्टि भएको थियो ।

तर, जिल्ला अदालत चितवनले प्रमाणको रुपमा पेश गरेको आदेशमा भिडियो अर्कै व्यक्तिले खिचेको हुनसक्ने ठहरसहित आदेश आएको हो  । अदालतले उक्त भिडियो रेकर्डको समयमा अन्य कुनै व्यक्तिको सहयोग पुडासैनीले लिएको हुनसक्ने आशंका गरेको छ ।

के अर्कैले खिचेको थियो त उक्त भिडियो ?

पुडासैनीले मृत्युअघि खिचेको भनिएको भिडियो अदालतले कुनै व्यक्तिको सहयोगमा खिचेको हुनसक्ने भन्दै गर्दा प्रहरीले भने परीक्षणको क्रममा भिडियो पुडासैनी आफैँले खिचेको पुष्टि भइसकेको दाबी गरेको छ । 

पुडासैनी २० गते बिहान ९ बजेतिर रिर्पोटिङको लागि भन्दै काठमाडौँबाट चितवन गएको पाइएको छ । रिपोर्टिङको लागि चितवन जान लागेको कुरा पुडासैनीले श्रीमतीलाई पनि भनेका थिए ।

जुन कुरा शालिकरामकी श्रीमती सम्झना पुडासैनीले पनि बताएकी छिन् ।

चितवन जानुअघि पुडासैनीले चितवनकी एक महिला पत्रकारलाई फोन गरेको समेत पाइएको छ । नाम नबताउने सर्तमा ती महिला पत्रकारले भनिन्, ‘शालिकरामजीले त्यसै दिन विहान मलाई  फोन गरेर  आफ्नो  पूर्वप्रेमिकाले  एकदम तनावमा पारेको बताउँदै हुनुहुन्थ्यो । मैले केहीबेर सम्झाएको पनि थिएँ  । त्यसअघि मलाई त्यसरी उहाँले व्यक्तिगत कुरा कहिल्यै गर्नुभएको थिएन ।’

शालिकराम त्यसैदिन कंगारु होटल ३ बजेर २० मिनेटदेखि ३ बजेर ३० मिनेटको बीचमा पुगेर कोठा बुक गरेको खुलेको छ। 


कोठा ‘बुक’ गरेपछि...

शालिकरामले २०२ नम्बरको कोठा बुक गरेका थिए । कोठा बुक गरेको एकछिनमै शालिकराम ३ः३२ बजे बाहिर निस्किन्छन् । प्रहरीका अनुसार बाहिर निस्केको समयमा शालिकरामले डोरी किनेको हुनुपर्छ । जुन कुरा होटल सञ्चालकले पनि बयानका क्रममा उल्लेख गरेका छन् ।

प्रहरीले पोखरा बसपार्कस्थित श्रेष्ठ ब्रदर्स होलसेल पसलबाट शालिकरामले ५ मिटर डोरी किनेको सीसीटिभी फुटेजबाट देखिएको बताएको थियो । प्रहरीका अनुसार शालिकरम ३ः४५ बजे डोरी किनेर होटल फर्किन्छन् ।

डोरी किनेर होटल फर्केपछि मात्रै शालिकरामले भिडियो बनाएको प्रहरीको दाबी छ ।

जम्मा १३ मिनेट २५ सेकेण्डको भिडियो शालिकरामले खिचेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिलोपटक खिचिएको भिडियो ४ मिनेट ५८ सेकेण्ड र दोस्रोपटक खिचिएको भिडियो ८ मिनेट २७ सेकेण्डको रहेको छ । शालिकरामले  पहिलो भिडियो ३ः५४ बजे र दोस्रो भिडियो ४ः०१ बजे खिचेको बताइएको छ ।

प्रहरीको दाबी अनुसार शालिकरामले भिडियो होटल कंगारुमा नै खिचेका हुन् । भिडियो बनाउनुअघि पुडासैनीले काठमाडौँमा रहेकी श्रीमती सम्झनालाई ४ बजेर २२ मिनेट जाँदा फोन गरेको देखिन्छ ।

दिउँसै कोठामा गएका पुडासैनी राती करिब ९ बजेसम्म खाना खान नआएपछि होटलका कर्मचारी बोलाउन पुगे । भित्रबाट ढोकामा ‘लक’ लगाइएको थियो ।

बोलाउन जाँदा पनि पुडासैनी नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका फुटाएर हेर्दा पुडासैनी डोरीको पासोमा झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यतिबेला ८ बजेर ४९ मिनेट गएको प्रहरीको भनाई छ । 

४ बजेर ३६ मिनेटपछि पुडासैनीको मोबाइलमा कुनै कल डाटा नभेटिएकाले भिडियो रेकर्ड गरेको र श्रीमतीलाई फोन गरेको केहीबेरमै पुडासैनी झुण्डिएको हुनसक्ने प्रहरीको आशंका छ ।

‘के सेल्फी भिडियोमा नमस्ते गर्न सकिन्छ ?’ भनेर पत्रकार उमेश श्रेष्ठले आफ्नो ब्लग माइसन्सारमा विश्लेषण समेत गरेका छन् ।

हेरौँ उनको भिडियो :

जब रविलाई चितवन लगियो

भिडियोमा पुडासैनीले टीभी प्रस्तोता रवि लामिछाने, सहकर्मी युवराज कँडेल र प्रेमिका अस्मिता भन्ने रुकु कार्कीको कारण आत्महत्या गर्न बाध्य भएको आरोप लगाएका थिए । भिडियो सामाजिक सञ्जालदेखि मिडियाहरुमा भाइरल भएपछि प्रशासन दबाबमा पर्यो । 

अन्ततः लामिछानेसहित तीनै जनालाई प्रहरीले साउन ३० गते साँझतिर अनुसन्धानको लागि भन्दै काठमाडौंबाट पक्राउ गर्यो । पक्राउ परेका तीनै जनालाई रातारात गरेर चितवन लगियो ।

प्रहरीले साउन ३१ गते लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत चितवनबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गर्यो । ५ दिनमा अनुसन्धान नसकेपछि प्रहरीले दोस्रोपटक ५ दिनको म्याद थप गरेर अनुसन्धान थाल्यो ।

अनुसन्धान गरेको ११ औं दिनमा प्रहरीको अनुसन्धान सकिएपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र दायर गरेको थियो ।

अभियोगपत्र दायर भएसँगै जिल्ला अदालत चितवनको एक नम्बर इजलाशका न्यायाधीश हेमन्त रावलले उनीहरुको बयान लिने काम गरे । सो दिन मुद्दाका प्रतिवादी अस्मिता कार्कीको मात्र बयान लिइयो ।

भदौ ९ गते अर्थात भोलिपल्ट । बिहान ११ बजेतिर बयानको लागि रवि र युवराजलाई अदालत लगियो । बयान सकेलगत्तै अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गरे ।

बहस पनि सकेलगत्तै थुनछेक बहस भयो । थुनछेक बहसपछि सोमबार साँझ ६ बजे जिल्ला अदालत चितवनका न्यायाधीश रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दियो ।

यस्तै लामिछानेसँगै कँडेललाई ३ लाख धरौटीमा र अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप