शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वप्रसिद्ध बेइजिङ इन्टरनेसनल आर्टमा दुई नेपाली कलाकार

मङ्गलबार, १० भदौ २०७६, १४ : ५६
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं । विश्वप्रसिद्ध बेइजिङ इन्टरनेसनल आर्ट बायनालेमा दुई नेपाली कलाकारका कलाकृति छानिएका छन् । कलाकारद्वय एससी सुमन र रविन्द्र श्रेष्ठका कलाकृति चीनको बेइजिङमा हुने उक्त बायनालेमा छानिएका हुन् ।

३० अगस्टबाट सुरु हुने ‘आठौं बेइजिङ इन्टरनेसनल आर्ट बायनाले–०१९’ बेइजिङस्थित नेसनल म्युजियम अफ चाइनामा हुँदैछ । १ सय २५ देशबाट छानिएका कलाकार सहभागी हुने उक्त प्रदर्शनीमा नेपालबाट सुमन र श्रेष्ठ छानिएका हुन् ।
 
विश्वकै सबैभन्दा ठूलोमध्येको उक्त बायनालेको मुख्य थिम ‘कलरफुल वल्र्ड एण्ड अ सेयरड फ्युचर’ रहेको सहभागी कलाकार सुमनले जानकारी दिए । 

तीन दशकदेखि मिथिला कला बनाउँदै आएका उनले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान बायनाले महत्वपूर्ण फोरम भएको बताए । 

उनले मिथिला शैलीमा बनाएको कलरफुल विश्वको चित्र बायनालेमा छानिएको जानकारी दिए । उक्त प्रदर्शनीमा नेपालबाट दोस्रोपटक छानिएका सुमनले १६ पटकसम्म एकल प्रदर्शनी गरिसकेका छन् । उनले भने, ‘कलामार्फत सांस्कृतिक सम्बन्धलाई बिस्तार गर्न यो प्रदर्शनी निकै फलदायी हुने अपेक्षा राखेका छौं ।’

विश्वलाई सुन्दर र मानवतावादी समाजको परिकल्पना गरी बनाइएको सुमनको चित्रमा निलो रङको पष्ठभूमिमा चराचर जगतका जीव र तिनको जीवनलाई उतारेका छन् । 
अर्का सहभागी कलाकार श्रेष्ठको फिंगरप्रिन्टमार्फत मानवताको विषयलाई प्रस्तुत गरेको चित्र छनोट भएको छ । 
श्रेष्ठका अनुसार चित्रले विश्वका मानव जातिको रुप, रङ, भेषभुषा तथा संस्कृति फरक भए पनि रगतको रङ भने सबैको रातो हुने विषयलाई उठाइएको छ ।

शुद्ध सुन र एक्रेलिक रङ प्रयोग गरी बनाइएको उक्त चित्रको पृष्ठभाग निलो रङको रहेको छ । जसले मानिस, जीव–जनावर तथा जगतका यावत् चीजबीच समभाव हुनुपर्ने विषय प्रस्तुत गरेको श्रेष्ठले बताए  ।
प्रदर्शनी २३ सेप्टेम्बरसम्म रहनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप