शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइडिया नेपालको कार्यालय स्थापना

स्मार्ट सिटीका लागि स्मार्ट घर बनाउन सहयोग गर्नुस्ः मेयर चिरिबाबु महर्जन
आइतबार, ०८ भदौ २०७६, १७ : ०७
आइतबार, ०८ भदौ २०७६

ललितपुर –छरिएर रहेका इन्टेरियर डिजाइनरहरुको पेशागत हकहितको निम्ति स्थापित इन्टेरियर डिजाइनर एसोसियशन अफ नेपाल (आइडिया नेपाल)ले ललितपुर महानगरपालिकास्थित पुल्चोकमा कार्यालय स्थापना गरेको छ ।

कार्यालयको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनले स्मार्ट र सुन्दर सहर निर्माणमा इन्टेरियरको भूमिका रहने बताए । उनले सहर सुन्दर हुन हरेक घर सुन्दर हुनुपर्ने बताउँदै कुनै पनि भवन, घर, अथवा कार्यालयको आन्तरिक र बाह्य पक्ष आकर्षक बनाउन भूमिका खेल्ने डिजाइनरहरु पेशागत रुपमा एकजुट भएकोमा बधाई तथा शुभकामना दिए । 

कार्यक्रममा बोल्दै संस्थाकी संस्थापक अध्यक्ष डा. मथुरा कार्कीले २०६० सालमै आफू अध्यक्ष भएर संस्था सुरु गरेपनि संस्थाले गति लिन नसकेको बताइन । उनले आज संस्थाले थलो पाएको र धेरैजना डिजाइनरहरु सक्रिय भएर लागेकोमा खुसी लागेको बताइन् । डिजाइनरहरुले भोग्दै आएको समस्या र उनीहरुको हक अधिकारका लागि काम गर्न संस्थालाई सुझाव पनि दिइन् ।

इन्टेरियर डिजाइन एसोसियशनकी अध्यक्ष विन्द्रा कक्षपतीले आइडिया नेपाल संस्थासँग आवद्ध सदस्यका लागि मात्रै नभएर समग्र डिजाइनरको लागि खडा भएको बताइन् । अध्यक्ष कक्षपतीले संस्थाले डिजाइनरहरुको हकहितका लागि काम गर्नुका साथै डिजाइनरको काम, कर्तव्य र महत्वबारे समाजमा चेतना जगाउन तल्लिन रहने प्रतिवद्धता जनाइन् । 

उनले वास्तवमा इन्टेरियर को हो र के काम गर्छन भन्ने बारे धेरैलाई थाहा नभएकाले पेशागत प्रचारप्रसार र चेतना जरुरी रहेको बताइन् । उनले आइडिया नेपाललाई राष्ट्रियस्तरबाटै अगाडी बढाउन प्रयास गर्ने साथै विभिन्न सामाजिक उत्तरदायित्व, विचार आदानप्रदान लगायत कार्यक्रम संचालन गर्ने बताइन् । उनले आइडिया नेपाल इन्टेरियरको साझा थलो भएकाले सवैलाई आवद्ध हुन आग्रह पनि गरिन् ।

आइडिया नेपालमा महासचिव श्याम श्रेष्ठले इन्टेरियर डिजाइनर भनेको को हो के काम गर्छन भन्ने नै थाहा नहुँदा आफूहरुको पहिचान हराएको तर संस्था स्थापनासँगै आफूहरुको परिचय बनेकोले अव डिजाइनरहरु ढुक्क भएर पेशामा लाग्न सक्ने बताए । 

आइडिया नेपाल २०६० सालमा स्थापना भएपनि लामो समयदेखि निश्क्रिय यो संस्था पुन संचालनमा आएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप