बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोल्यान ग्रुपकी एक्ली बुहारी, जसले थाम्दैछिन् ससुराको विरासत

आइतबार, ०८ भदौ २०७६, १६ : ३९
आइतबार, ०८ भदौ २०७६

उनले कहिल्यै पनि सोचेकी थिइनन् कुनै दिन किसानसँग प्रत्यक्ष जोडिनेछु भनेर । विवाहलगत्तै परिवारको व्यापारिक बिरासत थाम्न अघिसरेकी लतिका गोल्यान यतिबेला गोल्यान ग्रुपकी शान बनेकी छिन् ।

परिवारका महिला सदस्य सबै गृहिणीको रूपमा नै बस्ने चलन । लतिकालाई पनि गृहिणीकै रूपमा आरामको जिन्दगी जिउन, ब्यापारको टाउको दुखाईं नलिन परिवारले नभनेका होइनन् तर उनीभित्रको उद्यमी क्षमता र चेतना किन चुप बस्थ्यो ? उनको पढाइ, व्यक्तित्व र माइतमा पनि बुबाको ब्यापारमा सघाएको अनुभवले उनलाई घरको व्यापारमा सहभागी हुने हुटहुटी जाग्यो । पारिवारिक व्यवसायलाई पुरुषसरह नेतृत्व दिएर विशाल भवनको छायामा मुस्कुराएकी उनै लतिका गोल्यानले हाउजिङ परियोजना मात्रै होइन प्रत्यक्ष रूपमा किसानसँग जोडिएर माटो ब्रान्डको अर्गानिक प्रोडक्ट बजारमा ल्याएकी छिन् ।

लतिकाले परिवारलाई आफू व्यवसाय गर्न सक्षम छु भनेर प्रमाणित गरिन् । उनले परिवारलाई आफूले व्यवसायको नेतृत्व लिन, छोरासरह काम गरेर आत्मनिर्भर बन्न, घर अनि अफिस सँगसँगै हेर्न सक्छु भनेर कन्भिन्स गराइन् ।  उनको यो उत्साहलाई अन्ततः परिवारले साथ दियो ।

यदि कोही महिलालाई घर बाहिर निस्किन गाह्रो छ भने आफ्नो परिवारलाई महिला पनि आत्मनिर्भर हुन सक्छन्, काम गर्न सक्छन्, समाजमा उदाहरणीय बन्न सक्छन् भन्नेबारे बुझाएर बाहिर निस्किन आग्रह गर्छिन् लतिका ।

लतिका छोरीहरुलाई सानैदेखि आत्मनिर्भर बन्न र छोराछोरी बराबार हुन् है भन्ने भावनाको विकास गराउन जरुरी देख्छिन् । छोरा या छोरी भएकै कारण खुम्चिनु नपरोस् ।

भारतको चेन्नईमा जन्मेहुर्केकी लतिका २१ वर्षको उमेरमा गोल्यान परिवारकी बुहारीका रूपमा नेपाल भित्रिइन् । १५ वर्ष वितिसकेको छ नेपालमा । दुई छोरा छोरीकी आमा लतिकाले आजसम्म आफ्नो काममा अवरोधको सामना गर्नुपरेको छैन । दृढ इच्छाशक्ति र लगनशीलताले आज उनलाई व्यवसायमा मात्रै होइन प्रत्यक्ष समाजसँग पनि जोडिन सहयोग गरेको छ ।

एग्रो फार्ममा लतिका

काका ससुरा पवनकुमार गोल्यानले एग्रो फार्मको जिम्मा लिन गरेको आग्रहलाई उनले यति सहज स्वीकार गर्नुको पछाडि अर्के रहस्य रहेछ ।

चेन्नइका रतन आर्या र कृष्णा आर्याको विवाहको १३ वर्षपछि मात्रै लतिकाको जन्म भयो । लतिकाका बुबा व्यवसाय गर्थे । उनीपछि बहिनी जन्मिइन् । बुबालाई आफ्नो व्यवसाय कसले सम्हाल्छ भन्ने ठूलो चिन्ता रहेछ  र त उनले एक धर्मपुत्र पाल्ने योजना बनाए ।

सानै भए पनि लतिकाको मनमा के म छोरासरह बन्न सक्दिन र ? भन्ने प्रश्नले ढकढक्यायो । उनले धर्मपुत्रको चाहना त्याग्न बुबालाई विनम्र अनुरोध गरिन् र ‘म छोरासरह बन्न सक्छु’ भन्ने आत्मविश्वास दिलाइन् । छोरीको त्यस्तो आत्मविश्वास देखेर बुबाले धर्मपुत्रको रहर त्यागेको लतिका सम्झिन्छिन् । उनी भन्छिन्, ‘म १६ वर्षको हुँदै मलाई बेलायतमा बिजनेस म्यानेजमेन्ट र कम्प्युटर पढ्न जान अनुमति दिनु भयो बुबाले ।’

एमबीएसम्मको अध्ययन गरेकी लतिकाले हाल ‘बीसीआई कोर्स’ पनि गर्दै छिन् । उनी अध्ययनकै सिलसिलामा भारत जाने आउने गर्छिन् । त्यही मेसोमा भारतमा रहेको बुबाको बिजनेस पनि हेर्ने गर्छिन् ।

परिवारमा छोरा छोरी दुवैको भूमिका निभाएकी लतिकाका बुबा क्यान्सरका कारण यो संसारबाट विदा हुनुभयो । परिवारमा दुई छोरीमध्येकी जेठी लातिका । परिवारको जिम्मेवारी उनकै काँधमा थियो । लतिकाको बुबालाई क्यान्सर अन्तिम अवस्थामा पुगेपछि मात्रै थाहा भयो । बुबालाई बचाउन हरसम्भव प्रयास पनि गरिन् ।

क्यान्सर रोगीलाई अर्गानिक उत्पादन मात्र खुवाउने र प्राकृतिक उपचार पद्धति पनि सँगसँगै अपनाउँदा केही समय बचाउन सकिनेबारे अध्ययन गरिन् । जसका कारण बुबालाई थप तीन वर्ष बचाउन लतिका सफल भइन् । यसबाट उनलाई क्यान्सरबाट बच्न अर्गानिक खानाले मुख्य भूमिका खेल्छ भन्ने राम्रै शिक्षा मिल्यो । उनले प्रतिबद्धता पनि गरिन्, ‘भविष्यमा क्यान्सर विरुद्धको अभियानमा कहीँ कतै योगदान गर्नेछु ।’

अन्ततः लतिकाको प्रतिबद्धता अनुसारको काम सुरु भएको छ आज । बजारमा ‘माटो ब्रान्ड’बाट अर्गानिक तरकारी बिक्री सुरु भइसकेको छ जसको नेतृत्व लतिकाले गरेकी छिन् । निकट भविष्यमै ‘माटो ब्रान्ड’ काफलफूल तथा अन्य खाद्यान्न पनि बजारमा आउने तयारी उनको छ । जसबाट नेपाली समाजमा विषादीजन्य खाद्यान्नका कारण हुने विभिन्न रोगको रोकथाममा थोरबहुत साहयोगी सावित हुनेछ ।

उनी भन्छिन्, ‘महिला पनि सबै काम गर्न सक्छन् भन्नेमा परिवारले विश्वास गर्नुपर्छ ।’ उनलाई बुबाले व्यवसायमा लाग्न उत्प्रेरणा दिनुभयो । बुबाको उनीप्रति यति विश्वास थियो कि त्यही विश्वासको आधार आज लतिका हरेक चुनौतीलाई सहज स्वीकार गर्न तयार हुन्छिन् ।

‘यदि अफूमा केही गर्न सक्छु भन्ने आत्मविश्वास छ भने अवश्य पनि गर्न सकिन्छ’ लतिकाको बोल्ड जवाफ हो यो । उनी आफूलाई आत्मविश्वासले नै काममा अगाडि बढ्न उत्प्रेरित गरिहेको बताउँछिन् ।

‘माटो ब्रान्ड’ हरेक भान्सामा

एक वर्ष अगाडि गोल्यान समूह सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत किसानलाई सहयोग गर्न भन्दै झापा पुग्यो । झापाका किसानको अवस्था र उत्पादन देखेर गोल्यान समूहले यसलाई व्यावसायीकरण गर्ने योजना बनायो । जसको जिम्मा पाइन गोल्यान समूहकी निर्देशक लतिका गोल्यानले ।

हरेक नेपालीको भान्सामा अर्गानिक तरकारी र फलफूल पुर्याउने उद्देश्यले झापाबाट सुरु भएको उत्पादनलाई केही समय झापामै बिक्री गरी हाल काठमाडौँ ल्याइएको हो ।

झापामा टेम्पोले बजारमा तरकारी बेच्ने काम गर्यो । माटो ब्रान्डका तरकारी बोकेको टेम्पोमा तरकारीबारे जानकारी दिन रङ्गीविरङ्गी पोस्टर लगाइयो, जसले सजिलै ग्राहकको ध्यान खिच्यो । घुम्ती टेम्पोले ठाउँ ठाउँमा गएर तरकारी बिक्री गर्यो । स्थानीयले अर्गानिक तरकारीप्रति देखाएको उत्सुकता र ग्राहकको सकारात्मक प्रतिक्रियाले माटो ब्रान्डले काठमाडौँको यात्रा तय गर्यो ।

अहिलेलाई काठमाडौँका भाटभटेनी, सेल्सबेरिज, बिगमार्ट लगायतका सुपरमार्केटबाट बजारमा प्रवेश गरेको माटो ब्रान्ड विस्तारै काठमाडौँकै अन्य स्थानमा पनि जाने छ र काठमाडौँ बाहिर पनि जाने लतिका बताउँछिन् ।

काठमाडौँमा पनि दुई महिनापछि घुम्ती टेम्पो आउनेछ । जसले ठाउँ ठाउँमा गएर अर्गानिक तरकारी बिक्री गर्नेछ ।

माटो ब्रान्डले पूर्णरूपमा अर्गानिक तरकारी बिक्री गर्छ । यसमा कुनै रासायनिक विषादी तथा कीटनाशक औषधिको प्रयोग गरिएको छैन । यो पूर्णरूपमा स्थानीय जैविक मलबाट उत्पादित छ । यसले किसान र प्रयोगकर्ताको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउनेमा लतिका पूर्ण विश्वस्त छिन् ।

मानिसमा लाग्ने धेरैजसो रोगहरू रसायनका कारण र विषादीयुक्त खानेकुराका कारण भएकाले विषादीमुक्त खाद्यान्न उत्पादनमा किसानलाई अग्रसर गराउने र उपभोक्तालाई पनि यस्ता खानामा प्रोत्साहित गर्ने हो भने खतरनाक रागबाट बच्न सकिने लतिका बताउँछिन् ।

हरेक नेपालीको भान्सालाई विषादीमुक्त बनाउने अभियानमा किसानहरुले पनि साथ दिएका छन् । लतिका भन्छिन्, ‘हामीले झापाबाट अर्गानिक उत्पादन सुरु गरेका छौँ यसलाई देशका हरेक जिल्लामा फैलाउन सकियो भने अवश्य पनि हरेक नेपालीको भान्सा विषादीमुक्त हुनेछ ।’

नेपालमा अर्गानिक भन्नेवित्तिकै महँगो मूल्यमा बिक्री वितरण गर्ने र खरिदकर्ताले पनि महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ । थोरै उत्पादनका कारण महँगोमा सर्वसाधारण परिरहेको अवस्थामा सबैतिर अर्गानिक उत्पादनलाई बढाउँदै लैजाने हो भने सर्वसुलभ तरिकाले सस्तोमा उत्पादनले बजार पाउने थियो ।

कुनै पनि उत्पादनलाई बजारमा सहज खरिद बिक्रीका लागि मुख्य रूपमा किसानको मूल्य तोकिनुपर्छ । किसानलाई सही मूल्य दिने र खरिदकर्तालाई पनि खरिद गर्न सक्ने मूल्यमा नै पठाउने लक्ष्य माटो ब्रान्डको छ ।

अहिले कम्पनीले नाफालाई भन्दा पनि देशमा कसरी अर्गानिक उत्पादनलाई बढावा दिन सकिन्छ भन्नेमा सोचेको लतिका बताउँछिन् । माटो ब्रान्डले आफ्ना उत्पादन र किसानबाट खरिद गरिएका तरकारी तथा फलफूलको अनुगमनका लागि विशेषज्ञहरुको टोली नै राखेको छ ।

जनतालाई अर्गानिक खानामा उत्प्रेरित गर्नको लागि गोल्यान समूहले विभिन्न चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको लतिका गोल्यान बताउँछिन् । किसान तथा सर्वसाधारणलाई विषादीले पार्नसक्ने प्रभावबारे जानकारी दिन तालिम प्राप्त विज्ञहरुको टोलीबाट नै चेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।

विषादीको प्रभाव

नेपालमा केही महिना अगाडि विषादी परीक्षणको विषयले निकै चर्चा कमायो । वास्तवमा विषादीयुक्त तरकारी तथा फलफूलको उपयोगमा कमी ल्याउनुपर्नेमा उल्टो विषादी परीक्षण नै नगर्ने भन्ने विषय जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो ।

नेपालको आफ्नै उत्पादनले बजारको मागलाई थेग्न सक्दैन । भारतबाट मात्रै ४४ प्रतिशतभन्दा बढी तरकारी आयात हुँदै आएको छ । भारतबाट आयात हुने तरकारीमा ९० प्रतिशत तरकारीमा विषादीको प्रयोग हुने कृषि विज्ञहरुको बारम्बार बताउँदै आएका छन् । यसबारे सरोकारवाला निकाय, सरकारले खासै चासो दिएको पाइँदैन ।

यता नेपालमा पनि कृषिमा विषादीको प्रयोग बढेकाले किसानहरु नै दिन प्रतिदिन रोगी बन्दै गएको खबर बारम्बार आउने गरेको छ । विज्ञहरुले पनि विषादीको प्रयोग रोक्न आग्रह गरिरहेका छन् ।

नेपालमा प्रयाप्त प्रयोगशालाको कमीले पनि यो समस्या ज्यूँका त्यूँ रहेको छ । विषादीयुक्त तरकारी तथा फलफूलको सेवनले क्यान्सर जन्य रोगहरु बढ्ने खतरा धेरै हुने र अन्य समस्या पनि हुने भएकाले यस्ता खानेकुरामा प्रतिबन्ध लगाएरै भए पनि स्वदेशी अर्गानिक उत्पादनलाई बढावा दिनु आवश्यक छ ।

माटो ब्रान्डले विशेष प्रकारको मेसिनको माध्यम तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरेको छ । माटोबारे जानकारी दिनकै लागि गोल्यान ग्रुपले विशेष अभियान नै सञ्चालन गर्दै आएको छ ।

किसानको भावनासँग जोडियो गोल्यान समूह

किसान त्यतिबेला खुसी हुनेछन् जतिबेला आफ्नो मिहिनेतले सही मूल्य पाउनेछ । परिश्रमअनुसारको मूल्य नपाएर निरास झापाका किसानलाई अलिकति भए पनि हौसला र आँट दिन पुग्यो गोल्यान समूह ।

किसानहरुलाई जैविक (अर्गानिक) खेतीमा कसरी आकर्षित गराउने र हरेक नेपालीको भान्सामा अर्गानिक उत्पादन पुग्ने वातावरण बनाउन तल्लीन यो समूहले झापाबाट आफ्नो कार्यक्रम सुरु गरेर अन्य जिल्लामा पनि विस्तार गरेको छ ।

समूहले झापामा दुई सय बिगाहा जमिन किनेर आफ्नै अर्गानिक फार्म पनि सुरु गरिसकेको छ । जसको एउटै लक्ष्य हो अर्गानिक उत्पादन नेपालमा मात्रै होइन कि अन्य देशमा पनि निर्यात गर्नु ।

समूहले विभिन्न जिल्लाहरुका कृषि सहकारी तथा अर्गानिक खेती गरिरहेका किसानहरुसँग मिलेर काम गरिरहेको छ । माटोको प्याकेजिङमा झापा लगायत बर्दिया, धादिङ, मकवानपुर र ललितपुरका उत्पादनहरु पनि उपलब्ध गराउने निर्देशक लतिका बताउँछिन् ।

लतिका भन्छिन्, ‘हाल जनमानसमा अर्गानिक तरकारीप्रति चासो बढेको छ र अझ यसको माग काठमाडौँमा बढी भएकाले हामीले यहाँ बिक्री थालेका छौँ । यो तरकारी अन्य तरकारीकै मूल्यमा उपलब्ध छ । अर्गानिक तरकारी भन्ने वित्तिकै महँगो पर्छ भन्ने भान जुन छ त्यो हटाउन अन्य तरकारीकै मूल्यमा माटो ब्रान्डका तरकारी उपलब्ध छ ।’

समूहले हाल तरकारी मात्र बजारमा ल्याएको र छिट्टटै नै स्ट्रबेरी, कागती, आँप, मेवा, ड्रागन फुड, एभोकाडो, खुर्सानी, तरबुज, मोरिङ्गालगायत बजारमा ल्याउने तयारी गरेको छ । साथसाथै, भविष्यमा गोल्यान समूहले अर्गानिक उत्पादनलाई विदेश निर्यात गर्ने योजना पनि अगाडि सारेको छ ।

विषादीरहित उत्पादनमा आम कृषकलाई जोड्नु एउटा लक्ष्य भए पनि यो समूहको अर्को लक्ष्य स्वदेशमा रोजगारी सिर्जना गर्नु हो । समूहले रोजगारीको अभावमा विदेशिन बाध्य नेपाली युवालाई स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्दै विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

निर्माण व्यवसायी लतिका

किसानका माझ जानुअघि लतिकाले सम्हाल्दै आएको सिटी होटलको प्रोजेक्टले अब अन्तिम रूप लिँदै छ । अमेरिकाको हायात होटल कर्पोरेसन अन्तर्गतको चेन होटल ‘हायात प्लेस’ नेपाल भ्रमण वर्ष २०२० सम्ममा सञ्चालनमा ल्याउन कम्मर कसेर लागेकी छिन् लतिका ।

काठमाडौँकै पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’ नजिकै निर्माणाधीन उक्त होटलसँगै गोल्यान समूहको अपार्टमेन्ट पनि निर्माण भइरहेको छ । उक्त अपार्टमेन्टले पनि अन्तिम रूप लिँदै छ । निर्माण कार्यमा प्रत्यक्ष सहभागी भएकी लतिकाले यो प्रोजेक्टसँगसँगै कृषिलाई पनि साथमा लिएर अगाडि बढिरहेकी छिन् ।

हायात होटल २०२० को मार्चमा सञ्चालनमा ल्याउने तयारीमा जुटेकी छिन् लतिका । सरकारले भ्रमण वर्ष २०२० मा ४ लाख पर्यटक भित्र्याउने महत्त्वकाङ्क्षी योजना अगाडि सारेको छ । यसमा निजी क्षेत्रको तर्फबाट सरकारको योजनामा साथ दिन पनि गोल्यान समूहले होटल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

निर्माण व्यवसायमा पुरुषहरुको वर्चस्व रहेको नेपालमा लतिका एक्लै भिड्ने गरेकी छिन् । यो क्षेत्रमा महिलाहरु नभएकाले निर्माण कार्यमा पुरुषहरुसँग नै काम गर्नुपर्ने हुन्छ । जति चुनौतीसँग घेरिन्छु उति काम र पेसाप्रति सशक्त हुन्छु, लतिका बताउँछिन् ।

यति मात्र कहाँ हो र बिहान साँझको उनको तालिका आफ्ना बच्चाहरुमा केन्द्रित हुन्छ । घर परिवारदेखि निर्माण क्षेत्र अनि कृषिमा पनि सक्रिय लतिकाले बाच्चाहरुलाई पहिलो प्राथमिकतामा राख्दै आएकी छिन् ।

एक सफल व्यवसायी बन्ने सपनालाई अगाडि लगाएर हिँडेकी लतिकाको भिजन र साहस उत्प्रेरणा बन्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप