बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टोर्नाडोको नेपाली नामकरण ‘घुम्रपात’

आइतबार, ०८ भदौ २०७६, १६ : ११
आइतबार, ०८ भदौ २०७६

–भीष्मराज ओझा
काठमाडौं– गत चैत १७ गते साँझ बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक अध्ययन समिति बनाई सो नाम सिफारिस गरेको हो । लामो छलफल र अध्ययनपछि ‘टोर्नाडो’ घुमीघुमी आउने र त्यसले उत्पात मच्चाउने भएकाले उक्त दुवै कार्य समेटिने गरी सो शब्द सिफारिस गरिएको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिए । 
     
विभागका महानिर्देशकको संयोकत्वमा गठित आठ सदस्यीय मौसमविद्सहितको टोलीले स्थलगत तथा अन्य अध्ययन गरी विभिन्न छ नाम छनोट गरेको थियो । ती छ नाममध्ये समितिमा ‘भोटिङ’ गरी ‘घुम्रपात’ शब्दलाई छनोट गरेर सो नामकरण गर्न सिफारिस गरिएको हो । ‘घुम्रपात’ नयाँ शब्द भएकाले नेपाली शब्दकोषमा पनि राख्नका लागि पहल गरिने बताइएको छ ।   
 
उक्त भीषण हावाहुरीबाट भएको क्षति, नाम, टोर्नाडो भएको पुष्टिका आधार, कसरी आएको थियो भन्ने मौसमी अवस्थाको जानकारी, हावाको गति, लम्बाइ र चौडाइ, स्थानीयको अनुभवलगायत मौसमी गतिविधिको विश्लेषण गरेर समितिले प्रतिवेदन तयार गरेको महानिर्देशक वैद्यले बताए । समितिले उक्त प्रतिवेदन दुई हप्ताअघि मन्त्रालयमा बुझाइसकेको छ । मन्त्रालयले आवश्यक तयारी गरी उक्त प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । 
 
बारा र पर्सामा भीषण हावाहुरी आएलगत्तै जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र द स्मल अर्थ नेपाल संस्थाका ६ सदस्यीय मौसमविद्को टोलीले गत चैत २० देखि २४ गतेसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । टोलीले उक्त मौसम प्रणाली ‘टोर्नाडो’ भएको तथ्य सार्वजनिक गरेको छ ।
 
विभागका वरिष्ठ मौसमविद् डा.अर्चना श्रेष्ठ नेतृत्वको उक्त टोलीले ड्रोन क्यामेराबाट क्षतिको अवस्थाबारे भिडियो र तस्बिर लिनाका साथै प्रभावित क्षेत्रका स्थानीयवासीसँग जानकारी लिएको थियो । यसबाहेक भू–उपग्रहबाट लिइएका तस्बिरको समेत अध्ययन गरी विश्लेषण गरिएको थियो । ‘टोर्नाडो’ पर्साको जगत्नाथपुरबाट शुरु भई बाराको बैरियामा पुगेर कमजोर भएको थियो ।
  
उक्त मौसम प्रणाली पोखरामा उत्पन्न भई पर्सा राष्ट्रिय निकुञ्जबाट शुरु भएको अनुमान गरिएको थियो । भू–उपग्रहको तस्बिरका आधारमा ‘टोर्नाडो’ करीब ३५ किमी लम्बाइ र औसतमा २०० मिटर चौडाइ रहेको प्रारम्भिक तथ्याङ्क त्यसबेला सार्वजनिक गरिएको थियो । यद्यपि चौडाइ एकैनासको नभई फरकफरक रहेको देखिन्छ । 
 
प्रभावित क्षेत्र नजिक मौसमी राडार नभएकाले उक्त मौसमी प्रणालीको तथ्याङ्क रेकर्ड गर्न नसकिएको विभागले जनाएको छ । टोर्नाडोमा परी बारा र पर्सामा २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पु¥याएको  थियो । यसअघि नेपालमा ‘टोर्नाडो’ को घटना भएको अभिलेख छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप