शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेविरुद्धको मुद्धा जिल्ला अदालत चितवनको १ नम्बर इजलासमा

आइतबार, ०८ भदौ २०७६, १५ : ३५
आइतबार, ०८ भदौ २०७६

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध अभियोगपत्र दायर भएको छ । 

प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले  जिल्ला  अदालत चितवनमा अभियोग पत्र दर्ता गरेको हो । 
अहिले जिल्ला अदालत चितवनको एक नम्बर इजलाशमा उनीहरुकाे बयान सुरु भएको छ । 

न्यायाधीश हेमन्त रावलको इजालशमा बयान चल्दै गर्दा बाहिर समर्थकको भीडभाड रहेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालयले  आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिए । 

अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको उनले बताए  ।

अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक रेग्मीले बताए । एक सातादेखि आफूले निष्पक्ष ढङ्गबाट घटनाको अनुसन्धान गर्दै आएको र  बाह्य दबाब थेग्नु नपरेको जानकारी दिँदै उनले भने,“भिडबाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरी न्यायलयबाटै न्याय खोज्ने परम्परा थाल्नुपर्छ ।” घटना भएपछि प्रहरी प्रधान कार्यालयले आफूलाई अनुसन्धानका लागि खटाएको र सोही अनुरुप आफ्नो काम सम्पन्न गरेको प्रहरी उपरीक्षक रेग्मीको  भनाइ थियो । 

प्रहरीले लामिछानेसहित तीन जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार सकिएको थियो । 

सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेसँगै अभियुक्तलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा आदेश आउने छ । यद्यपि बहस केही दिन लम्बिन सक्नेछ । लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो । उनीहरु पक्राउसँगै समर्थकले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् । 

मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ । आत्महत्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप