बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाका ती विवादास्पद भेटघाट, जसले ल्यायो पार्टीभित्र तरङ्ग

आइतबार, ०८ भदौ २०७६, १४ : ०३
आइतबार, ०८ भदौ २०७६

काठमाडौं– भारतका मन्त्री–कर्मचारी नेपाल आउँदा पूर्वप्रधानमन्त्री पनि प्रोटोकलको ख्यालै नगरी राजदूतावासदेखि होटल धाउने गरेको विषयले बेलाबेला चर्चा पाउने गरेको छ ।

त्यसको अग्रपंतिमा छन्, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । जो चारपटक प्रधानमन्त्री समेत भइसकेका व्यक्ति हुन् । पछिल्ला केही भेटघाट तथा बधाई सन्देशले यो कुरालाई थप पुष्टि गर्दछ । 

यद्यपि अन्य पूर्वप्रधानमन्त्री पनि यो ‘रोग’बाट अछुतो भने देखिँदैनन् । पूर्व प्रधानमन्त्रीहरुको यो ‘हर्कत’को सामाजिक सञ्चालदेखि पार्टी फोरममा पनि आलोचना हुँदै आएको छ ।

विशेषत काँग्रेसमा सभापति देउवाले कूटनीतिक (प्रोटोकाल) विपरित भेटघाट र सन्देश पठाउने गरेको विषयले काँग्रेस वृत्त तरंगित भएको छ । 

घटना १ : एस जयशंकरलाई भेट्न होटलमा 
भदौ ५ गते काँग्रेस सभापति देउवाले भारतीय विदेशमन्त्री सुब्रमण्यम (एस) जयशंकरलाई कूटनीतिक मर्यादा विपरीत उनी बसेको होटेलमै पुगेर भेट गरे । देउवाका साथमा महामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्य डा। नारायण खड्का र पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा। दिनेश भट्टराई पनि होटल पुगेका थिए । विषयको काँग्रेसभित्र विरोध भएको छ ।

स्रोतका अनुसार जयशंकरले पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पनि भेटका लागि आफू बसेको होटलमा बोलाएका थिए । होटलमै गएर भेट्न प्रचण्ड र नेपालले भने अस्वीकार गरेका थिए । 

घटनाः २ सामन्तसँग सामीप्यता
साउन ६ गते भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल  काठमाडौं आए । उनले केही उच्च नेतालाई भेटेर फर्किएका थिए । गोयललाई भेट्न देउवा लैनचौरस्थित भारतीय दूतावासमै पुगे । 

६ गतेको बेलकी ७ बजेदेखि १० बजेसम्म उनले गोलयसँग गोप्य वार्ता गरे । करिब एक महिनाअघि गोयत ‘रअ’ को नेतृत्व पाएका थिए । देउवाको साथमा सांसद डा।अमरेशकुमार सिंहसहितिको टोली दूतावास पुगेको काँग्रेस स्रोतको दाबी छ । यो जिम्मेवारी पाएपछि पहिलोपटक आइतबार नेपाल आएका उनले केही उच्च नेतालाई भेटेको थिए । तर सबैजसो भेट गोप्य राख्ने प्रत्यन भएको थियो ।

 दक्षिण एसियामा आफ्ना खुफिया गतिविधिका कारण चर्चामा रहने ‘रअ’ प्रमुखसँग भेट गर्दा देउवाले कूटनीतिक आचारसंहिता लत्याएको भनेर चर्को आलोचना खेप्नु परेको थियो । अर्को मुलुकको गुप्तचर प्रमुखसँग पूर्वप्रधानमन्त्री तथा पार्टीको मूल नेतृत्वले गोप्य रुपमा भेट्नुले पार्टीभित्रै विवाद सिर्जना गराएको थिए ।

घटना ३ः जयशंकरलाई पनि शुभकामना सन्देश !
देउवाले कूटनीतिक ‘प्रोटोकल’ ख्याल नगरी भारतीय विदेशमन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाए । 

जो कुरा पार्टीभित्र आलोचित भएको थियो  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना पठाएको भोलिपल्टै देउवाले जेठ १७ गते पार्टीका तर्फबाट विदेशमन्त्री जयशंकरलाई बधाई तथा शुभकामना पठाएपछि पार्टीका शीर्ष नेतादेखि परराष्ट्रविद्ले समेत विरोध जनाएका थिए ।

देउवाले भारतलाई रिझाउने नाममा यस्तो कार्य गर्नु अशोभनीय भएको बताएका थिए । देउवा निकट मानिने सहमहामन्त्री प्रकाशशरण महतले पनि जयशंकरलाई बधाई तथा शुभकामना पठाउनु कमजोरी भएको स्वीकार गरे । 

भारतको मन्त्रिपरिषदमा विदेशमन्त्री जयशंकरको मर्यादा ११ औं स्थानमा छ । पहिलो नम्बरमा रक्षामन्त्री राजनाथ सिंह छन् । उनी भारतीय जनता पार्टीका पूर्वअध्यक्ष हुन् । दोस्रो नम्बरमा भाजपा पूर्व अध्यक्ष अमित शाह छन्। उनी गृहमन्त्री छन्। 

एक जना परराष्ट्रविद्ले देउवाको प्रोटोकल विपरीतको कार्यले काँग्रेसप्रति राम्रो सन्देश नजाने बताए । 

‘प्रोटोकलअनुसार आफ्नो काउन्टर पार्टनरलाई मात्रै शुभकामना दिनुपर्ने हो, भेटघाट गर्नुपर्ने हो । एउटा पुरानो र ऐतिहासिक पार्टीको सभापति, त्यसमा पनि चारपटकसम्म प्रधानमन्त्री भइसकेका व्यक्तिले ११ औं नम्बरमा रहेका मन्त्रीलाई शुभकामना सन्देश पठाउँदा र होटलमा गएर भेटने कुराले नेपाली जनमानसमा कस्तो सन्देश जाला रु,’ तिनको प्रश्न थियो । 

उनले अगाडि थपे, ‘राष्ट्रवादी देखिन भारतको विरोध गर्नुपर्ने देश हो नेपाल । हाम्रो भारतको विरोध नगरी राष्ट्रवादी भइन्न भन्ने संस्कार छ । यस्तो संस्कार भएको मुलुकमा कस्तो असर पर्छ । ख्याल गर्नुपर्दैन रु’

ओलीको सिको गर्दै देउवाले दोकान थापे : भण्डारी
सभापति देउवाका पछिल्ला प्रोटोकल विपरीतका विषयमा पार्टी केन्द्रीय कार्यसमितिमा समेत कुरा उठाएको केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताए । तर देउवाले गोलमोटल जवाफ दिएका थिए । नेता भण्डारीले देउवा–केपीहरुबाट प्रोटोकलको परिपालना नहुने दाबी गरे ।

‘निर्वाचन परिणामले ओली प्रधानमन्त्री बन्ने निश्चित भइसकेको थियो । सरकारको नेतृत्वमा शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । त्यतिबेला ओलीजीको निमन्त्रणामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भयो, जसबारे सरकारलाई नै जानकारी थिएन ,’ भण्डारीले आक्रोशित हुँदै भने, ‘हिजो ओलीले जुन दोकान थाप्नुभएको थियो, आज देउवाले त्यस्तै अर्को दोकान खोल्न खोज्दा देश कहाँ जान्छ रु एउटा ऐतिहासिक पार्टीको सभापति र चारपटक प्रधानमन्त्री भएको व्यक्तिले प्रोटोकलको ख्यालै नगरी व्यक्तिपिच्छे । यस्तो गर्नु मिल्छ रु’

भारतलाई रिझाउने नाममा प्रोटोकललाई समेत ख्याल नगरी दिइएको सन्देश र भेटले सभापति र पार्टीको छविमा असर पर्ने उनीको दाबी छ ।

प्रोटाकल विपरीतका भेटघाट रोक्न निर्देशिका बनाउँदा हुँदैनर भन्ने प्रश्नमा उनले भने, ‘नेपालमा प्रोटोकलको अन्तर्राष्ट्रिय अभ्यासलाई आफूअनुकूल व्याख्या र प्रयोग गर्ने प्रवृत्ति छ । अर्को कुरा हाम्रा नेताहरुको स्वभाव नै लम्पसारवादी छ । निर्देशिका र चलनले काम गर्ने भएत राणाहरुले चलान मान्थे होला त।’

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री कमल थापाले  पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र डा बाबुराम भट्टराईले कुटनीतिक मर्यादा विपरीत जयशंकरलाई होटलमै गएर भेटेर लम्पसारवादको नमूना पेस गरेको टिप्पणी गरेका छन् ।

उनले ट्विटरमा लेखेको छन्, ‘फेरि एकपटक शेरबहादुर देउवा, बाबुराम भट्टराई र उपेन्द्र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमूना पेस गरे ।’ 

यता सहमहामन्त्री प्रकाश शरण महतले जयशंकरसँगको भेटलाई चर्चाको विषय बनाउनु आवश्यक नरहेको बताए । 

उनले भने, ‘आवश्यकता अनुसार भेट हुन्छ । कसले कहाँ भेट्यो भन्ने विषय गौण हो । सभापतिज्युले मुलुकको समस्याबारे भारतीय विदेश मन्त्रीलाई भन्नु भएको छ । तपाई क्षेत्रको डुवान र पञ्चेश्वर परियोजनाको काम कारबाही बढाउने कुरा भएको छ ।’ 

देउवाले मर्यादाका ख्याल गरेको भए हुनेः आचार्य
लामो समय पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको प्रमुख सल्लाहकार समेत रहेका राजनीतिक विश्लेषक पुरञ्जन आर्चायले पनि देउवाको भेटवार्ताको तरिकाप्रति विमति जनाए । 

उनले भने, ‘भारतबाट यहाँ आएका विदेश मन्त्री शेरबहादुरजीको डेरामा भएर चियापान गर्दा राम्रै हुन्थ्यो । तर शेरबहादुरजी होटल गएर चियापान गर्ने हाम्रो संस्कार अनुसार त्यति राम्रो कुरा होइन । शेरबहादुरजी आफ्नो मर्यादामा बस्दा राम्रो हुने थियो ।’ 

विशेषत पार्टी वा देशका लागि के असर पार्छ भन्ने कुरा देउवाले गर्ने गरेका भेटको नियतमा भरपर्ने आचार्यको बुझाइ छ । 

‘उहाँले सत्तासिँढी बनाउनका लागि यसरी भेटिराख्नु भएको छ भने यो दुर्भाग्य हो,’ उनले भने, ‘होइन भने अहिले शेरबहादुरजी सक्रिय राजनीतिमा हुनुहन्छ । त्यसैले भारतलाई रिझाउन, केही नेतालाई रिझाउन गर्नु भएको होला । अहिलेको भेटघाट भोली सत्तामा पुग्ने सिढी पनि बन्छ किन्ने उहाँलाई लागेको होला ।’

आचार्यका अनुसार पूर्वप्रधानमन्त्रीले भारतका विदेश मन्त्रीसँग भेट नै गर्नुहुन्न भन्ने कुरा छैन । 

‘भारतका विदेश मन्त्री नेपाल आउँदा भटेर कुराकानी गर्नु अहिले समान्य भइसक्यो । एउटा सामान्य किसिमले भेटघाट हुन्छ, कुराकानी हुन्छ । मुलुकका एजेण्ड, भूराजनीतिकका एजेण्डामा छलफल हुन्छन् । यसलाई नर्मल रुपमा लिन थालिसकियो,’ उनले सुनाए ।

 आधुनिक राजनीतिमा प्रोटोकलको कुरा समान्य भएको आचार्यको बुझाइ छ । उनले भने, ‘प्रोटोकलको कुरा पहिले देखि चलिएको थियो । तर अब आजको आधुनिक राजनीतिमा यसको खास अर्थ रहँदैन । पहिले राजा, महाराजाहरुले र नेपालका राणाहरुले विदेश जादा आफ्नो स्टाटसमा बस्छौँ भन्ने गरेको थिए । त्यो एउटा संस्कार बन्दै आएको छ । त्यसैले यति चर्चा भएको हो ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप