शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यूएईमा मोदीलाई सर्वोच्च सम्मान दिएपछि पाकिस्तानमा कडा प्रतिक्रिया

आइतबार, ०८ भदौ २०७६, १३ : २९
आइतबार, ०८ भदौ २०७६

बीबीसी हिन्दी

एकातर्फ पाकिस्तानका प्रधानमन्त्री इमरान खान कश्मीरको स्वयत्तता खोसिएकोमा संसारभरीका मुस्लिम देशलाई लामबद्ध गर्ने कोसिस गरिरहेको छन् भने अर्कोतर्फ मध्य–पूर्वको महत्वपूर्ण इस्लामिक देश संयुक्त अरब इमिरेट्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट सम्मानित गरेको छ ।

१४ अगस्टमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मिरको मुजफ्फराबादमा असेम्बलीलाई सम्बोधित गर्दै भने, ‘कश्मीरमा दुनियाँको सवा अर्ब मुसलमान एकजुट छन् तर दुर्भाग्यले त्यहाँका शासक चुप छन् ।’

अबु धाबीका युवराजले प्रधानमन्त्री मोदीको यूएई भ्रमणबारे भने, ‘म उनीप्रति निकै कृतज्ञ छु । मेरा भाइ आफ्नो दोस्रो घर अबू धाबी (संयुक्त अरब इमिरेट्सको राजधानी) आएका छन् ।’

यसअघि यूएईले रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, महारानी एलिजाबेथ–२ र चीनका राष्ट्रपति शी जिनपिंगलाई यसमार्फत् सम्मानित गरेको थियो ।

‘अर्डर अफ जायेद’ पाएपछि प्रधानमन्त्री मोदीले आफू गौरवान्वित भएको बताएका छन् ।

उता पाकिस्तानमा यो घटनाक्रमको विषयमा राजनीतिदेखि मिडियासम्म निकै चर्चा छ । पाकिस्तानी मिडियाले कश्मीरमा भारतले एकतर्फी निर्णय गरेका बेला मोदीलाई यो सम्मान दिइएको बताइरहेका छन् ।

पाकिस्तानका प्रमुख अखबार डनले लेखेको छ, ‘अर्डर अफ जायेदमा मोदीको प्रवेशबाट यो  पत्ता लाग्छ कि संयुक्त अरब इमिरेट्सका लागि भारत कति महत्वपूर्ण छ । भारत कच्चा तेलको तेस्रो सबैभन्दा ठूलो आयातकर्ता देश हो । भारत संसारको ठूलो उपभोक्ता बजारमध्ये एक हो र यूएईमा ठूलो संख्यामा भारतीय काम गर्छन् । यद्यपि, विभिन्न अभियानकर्तालाई यूएईको यो कदम मन परिरहेको छैन । बेरुतका एक मानवाधिकार कार्यकर्ता समाह हदिदले खाडीका थुप्रै देश आर्थिक फाइदाको आधारमा मोदीको विरोध गर्न नसकिरहेको बताएका छन् । उनीहरु मानवाधिकारको उल्लंघनको अगाडि आर्थिक अवसरलाई महत्व दिइरहेका छन् ।’

यूएईले मोदीलाई यो सम्मान दिएको केही घण्टापछि पाकिस्तानी सिनेटका अध्यक्ष सादिक सनर्जानीले यूएईको आफ्नो भ्रमण रद्द गरे ।

सादिकले आफ्नो बयानमा मोदीको निर्णयका कारण कश्मीरी मुसलमानमाथि अन्याय भइरहेको छ तर उनैलाई यूएईले आफ्नो सर्वोच्च नागरिक सम्मान दिएको बताएका छन् । यस्तोमा यूएई जानु कश्मीरी आमा, बहिनी र वृद्धाहरुमाथि अन्याय हुने उनले बताए ।

यूएईको यो सर्वोच्च नागरिक सम्मान संयुक्त अरब इमिरेट्सका पहिलो राष्ट्रपति शेख जायेद बिन सुल्तान अल नाह्यानको नाममा दिइन्छ ।

यद्यपि, यो सम्मानको घोषणा अप्रिल महिनामा गरिएको थियो । तब यसको घोषणा गर्दै संयुक्त अरब इमिरेट्सले यूएई र भारतको सम्बन्धलाई प्रधानमन्त्री मोदीले नयाँ उचाई दिएको बताएका थिए ।

मोदीले अर्डर अफ जायेद पाएपछि ब्रिटेनमा लेबर पार्टीका सांसद नाज शाहले कडा प्रतिक्रिया दिएका छन् । नाज शाहले एक खुल्ला पत्र लेखेर आपत्ति जनाएका छन् ।

उनले भने, ‘शेख मोहम्मदले कश्मीरमा भारतको निर्णयलाई हेरेर यसबारे विचार गर्नुपर्दथ्यो । यो अवार्ड दिएकोमा पनि पुनर्विचार गर्नुपर्छ । तपाईंले मानवाधिकारको उल्लंघन हेरेर भएपछि यसबारे विचार गर्नुपर्छ ।’

पाकिस्तानका वरिष्ठ पत्रकार हामिद मीरले मोदीलाई यूएईको सर्वोच्च सम्मान दिएकोबारे टिप्पणी गर्दै ट्वीटरमा लेखेका छन्, ‘फासीवादी मोदीले संयुक्त अरब इमिरेट्सको सर्वोच्च सम्मान दिएको विरुद्धमा संसारका ठूल्ठूला मुश्लिम नेता चुप छन् तर एक बहादुर बेलायती सांसद नाज शाहले यूएईको यो निर्णयविरुद्ध आपत्ति जताएका छन् । पाकिस्तानी र कश्मीरीहरुको भावनालाई नाजले व्यक्त गरेका छन् । बहादुर बहिनी नाज शाहलाई धेरै धन्यवाद ।’

डनका पत्रकार जमिल फारुकीले यसबारे लेखेका छन्, ‘सत्यानाश होस् अरबको । इतिहासकारले जतिबेला भारत अधिनस्थ कश्मीरमा पूर्ण रुपमा प्रतिबन्ध  भएकै बेला मोदीले संयुक्त अबर इमिरेट्सको सबैभन्दा ठूलो सम्मान दिइएको थियो भनेर लेख्नेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप