केन्द्रीय संस्करण
शिक्षा

होमवर्क विद्यार्थीलाई चाहिएको कि अभिभावकलाई ?

अत्यधिक गृहकार्यले तनावमा बालबालिका

person explore access_timeभदौ ८, २०७६ chat_bubble_outline0
photo : https://www.jellytelly.com
माया श्रेष्ठ

रातोपाटी

बबरमहल बस्ने ९ वर्षीया सुर्वीया पाठक निजी विद्यालयमा कक्षा तीनमा अध्ययनरत छन् । उनी शनिबारबाहेक अन्य दिनमा सारै व्यस्त हुन्छिन् । उनको व्यस्त दैनिकी देख्दा बालापन महशुस गर्न पाएकी छैनन् जस्तो लाग्छ । उनी बिहान उठेर ७ सात बजेदेखि ८ बजेसम्म गृहकार्य गर्न व्यस्त हुन्छिन् । साढे आठ बजे खाना खाएर विद्यालय जान तयार हुन्छिन् । ८ बजेर ४० मिनेट जाँदा उनी चोकमा बस चढ्न कहिले आमा त कहिले साथीहरुसँग पुग्छिन् । दिउँसो साढे चार बजे विद्यालयबाट घरमा आउनासाथ हतारहतार खाजा खान्छिन् । अनि फेरि साँझ ५ बजे ट्युसन पढ्नका लागि उनी विद्यालयकै शिक्षिकाको घरमा पुग्छिन् ।

साँझ ५ बजेदेखि ७ बजेसम्म ट्युसन पढेर उनी घर फर्किन्छिन् । घरमा आउनासाथ उनलाई विद्यालयको गृहकार्य गर्न हतार हुन्छ । साँझ साढे आठ बजेसम्म गृहकार्य गरेर खाना खान्छिन् । अनि राती ९ बजे सुत्नका लागि बिस्तारामा पुग्छिन् ।

 ९ वर्षीय बालिकाको दैनिक सूची हो यो । शनिबारको दिन बाहेक हरेक दिन यही समय तालिकाअनुसार ब्यस्त रहन्छिन् उनी ।

यो सुर्वीयाको मात्रै नभएर शहरी क्षेत्रमा बसेर पढ्ने आम विद्यार्थीको दैनिकी हो यो । उपत्यकाका निजी विद्यालयमा अध्ययन गर्ने एकाध बालबालिका बाहेक प्रायः सबैको दैनिकी यस्तै हुन्छ ।

बालबालिकाको दैनिकी व्यस्त हुनुको मुख्य कारण गृहकार्य भएको शिक्षाविद् विद्यानाथ कोइरालाको भनाई छ । बालबालिकालाई विद्यालय, ट्युसन र कोचिङबाट दिइने गृहकार्यका कारण साथीभाईसँग खेल्न तथा मनोरञ्जन गर्न मन लागेपनि इच्छालाई दबाएर गृहकार्य गर्न बाध्य छन् ।

गृहकार्य गर्नैपर्ने बाध्यता र दबावका कारण पनि शहरिया बालबालिका विद्यालय अनि घरको कोठामा सीमित हुने अवस्था सिर्जना भइरहेको शिक्षाविद् कोइरालाको भनाई छ ।

‘नेपालमा दिइने गृहकार्यको शैलीले बालबालिकाको मानसिक विकास गर्ने भन्दा पनि बालबालिकाको लागि बोझ बनिरहेको छ,’ शिक्षाविद् कोइरालाले बताए ।

विद्यालयले विद्यार्थीलाई बिना योजना मनलाग्दीरुपमा गृहकार्य दिने गरेको पाइन्छ । एकाध विद्यालयबाहेक अन्य विद्यालयले गृहकार्य दिएर जाँच गर्ने कुनै निश्चित कार्यतालिका तथा मापदण्ड नै बनाएका छैनन् । गृहकार्य दिँदा कुन तहका विद्यार्थीलाई कति गृहकार्य दिने भन्ने बारेमा विद्यालयले कुनै मापदण्ड तयार पार्न नसकेको शिक्षाविद् कोइरालाले बताए ।

जुन विद्यालयले धेरै गृहकार्य दिन्छ, त्यो विद्यालयमा राम्रो पढाई हुन्छ भ्रममा अभिभावक बाँचिरहेका छन् । शहरिया अभिभावकले बालबालिकालाई समय दिन नभ्याउने हुँदा पनि गृहकार्यमा व्यस्त होउन् भन्ने चाहन्छन् । फुर्सद मिलेको समयमा पनि अभिभावक मोबाइल, टेलिभिजनमा आदिमा समय बिताउँछन् । त्यसकारण आफूले मोबाइल, इन्टरनेट वा टेलिभिजनमा समय बिताउँदा बालबालिकाले  होहल्ला नगरुन् र उनीहरु गृहकार्य गर्नमै व्यस्त हुन भन्ने चाहना बढ्दै गएकाले पनि गृहकार्यको ‘महत्त्व’ झनझन् बढ्दै भएको शिक्षाविद् कोइरालाको टिप्पणी छ ।

बालकालिकालाई विद्यालयले गृहकार्य दिनुपर्छ, तर गृहकार्य दिने शैली परिर्वतन हुनैपर्ने कोइरालाको  विचार छ । हाल दिँदै आइरहेको गृहकार्यको शैलीलाई बदलेर विद्यार्थीलाई सृजनशील बन्ने प्रकृतिको गृहकार्य दिनुपर्ने कोइराला बताउँछन् ।  निजीदेखि सरकारी विद्यालयले दिने गृहकार्यले विद्यार्थीलाई सोच्ने वातावरण बनाएको छैन, गृहकार्यलाई बालबालिकाले बोझका रुपमा लिने गरेको उनले बताए ।

उनी भन्छन्, ‘गृहकार्य गर्ने क्रममा बालबालिकाले मज्जा लिनु पो प¥यो । अहिलेको शैली ठीक छैन र यसमा परिवर्तन ल्याउनैपर्छ ।’

‘आमा–बाबुको नाम के हो भनेर गृहकार्य दिनुको साटो तिम्रो घरमा खानेपानी कुन कुन भाँडामा राखिन्छ भनेर गृहकार्य दिइयो भने कमसेकम त्यो विद्यार्थीले खानेपानी यस्तो नाम गरेको भाडामा राख्छन् भन्ने कुरा चित्रसमेत बनाएर नाम जानेर रमाउँदै विद्यालयमा गएर भन्न सक्छन्’ शिक्षाविद् कोइरालाले बताए ।

निजी र सरकारी विद्यालयहरुले सृजनात्मक तवरबाट सोच्ने, सृजनात्मक शैलीबाट बालबालिकाले गृहकार्य गर्ने अवस्था सृजना गर्नु आवश्यक रहेको उनको भनाई छ ।

photo : https://www.irishtimes.com

गृहकार्य गर्न नसक्दा बालबालिका तनावमा

विद्यालयले दिएको गृहकार्य बालबालिकाले समयमै सिध्याएनन् भने साथीको अगाडि शिक्षक–शिक्षिकाले सजाय दिन्छन् भन्ने डरले उनीहरु विद्यालय नै जान खोज्दैनन् ।

विद्यालयमा सबै विद्यार्थीले पढाएको कुरा समानरुपले बुझ्न सक्दैनन् । विद्यालयमा पढाएको कुरा नबुझेका विद्यार्थीले त्यही विषय घरमा आएर गृहकार्य गर्दा उनीहरुमा झन् बोझ बढ्ने हुँदा विद्यार्थीले विद्यालय, शिक्षक र पढाइको कुरा गर्न नचाहने शिक्षाविद् कोइरालाको बुझाई छ ।

उनी भन्छन्, ‘विद्यार्थीलाई यो शैलीमा गृहकार्य दिनु मानसिकरुपमा बोझ बढाउनु मात्रै हो । विद्यार्थीले घरमा बिरामी भएको बाहाना गरेर गृहकार्य नगर्ने अनि विद्यालयमा ढाँट्ने गर्छन् ।’ बालबालिकाको तह, क्षमताअनुसार गृहकार्य दिने चलन छैन ।  धेरै गृहकार्य गराएर व्यस्त राख्दा सिकाइ प्रक्रियामा समेत असर पर्न सक्छ । बालबालिका गृहकार्यमा व्यस्त हुँदा यस विषयमा अभिभावक र विद्यालयले खासै ध्यान दिएका छैनन् । बालबालिकालाई व्यस्त राख्ने नाममा दिइने अधिक गृहकार्यले विद्यार्थीको सिकाइ प्रक्रियामा नकारात्मक असर पार्न सक्छ वा पार्दैन भन्ने सवालमा विद्यालय, शिक्षक र अभिभावकबीचमा अध्ययन गर्न आवश्यक भएको उनी बताउँछन् ।

किन विद्यार्थीलाई गृहकार्य दिनुपर्छ ? 

नेपाल लगायत विश्वभरि नै गृहकार्य दिने चलन छ । तर नेपालमा झैँ विद्यालयका बालबालिकालाई बिना योजना गृहकार्य दिने चलन भने अन्य देशमा छैन । विद्यार्थीलाई गृहकार्य दिनाले स्मरण क्षमतामा वृद्धि हुनुका साथै अध्ययन गर्ने बानीको विकास पनि हुन्छ । विद्यार्थीले आफनो काम आफै गर्ने बानीको विकास समेत गर्छन् । विद्यालयले योजना बनाएर नियमसङ्गत गृहकार्य दिएको खण्डमा विद्यार्थीले समयको व्यवस्थापन गर्नुका साथै उनीहरु आत्मनिर्भर बन्न प्रेरित हुन्छन् । उनीहरु कामप्रति जिम्मेवार पनि बन्छन् ।

विद्यार्थीले कम्प्युटर, मोबाइल, पुस्तकालय आदि जस्ता कुराहरु प्रविधिमार्फत सिक्ने सिकाउने अवसर पनि पाउने कोइराला बताउँछन् ।

गृहकार्यकै माध्यमबाट विद्यार्थी, शिक्षक र अभिभावकबीचमा समन्वयको वातावरण सृजना हुने उनको भनाई छ । अभिभावक र बालबालिकाको बीचमा गृहकार्यका कारण अध्ययन गर्ने गराउने वातावरण समेत सृजित हुने शिक्षाविद् कोइरालाले बताए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...