शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म हो : पूर्वराष्ट्रपति यादव

शनिबार, ०७ भदौ २०७६, १८ : ३०
शनिबार, ०७ भदौ २०७६

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन् । 

समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहको कृति ‘संविधान निर्माण घटना र अनुभूति’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले भने,‘२०६२÷६३ सालको मात्र नभई नेपाली जनताको ७० वर्षको बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म हो ।’ 

पूर्वराष्ट्रपति यादवले भने,‘कतिपय शक्तिले संविधानसभा नै भङ्ग गर्न खोजिरहेको निकै अप्ठ्यारो समयमा कतिपय जातजाति र समुदायले उठाएका मुद्दा नसमेटिए पनि सबैको भावनालाई संविधानले आत्मसात गरेको छ, त्यसैले यो उपलब्धिको रक्षा गर्न राजनीतिक दलले निकै सोच विचार पु¥याएर काम गर्नुपर्छ ।’

संवैधानिक निकाय र न्यायालयमा सही मान्छेको छनौट भएको छ कि भागबण्डामा भनी प्रश्न गर्दै उनले सरकार र राजनीतिक दललाई अविश्वासको वातावरण अन्त्य गरी जनताको कुरा सुनेर काम गर्न आग्रह गरे । 

तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान सबै राजनीतिक दलबीचको सहमति र सम्झौताको दस्तावेजका रुपमा रहेकाले सबैले उठाएका मुद्दा र विषय समेटिएको बताए ।

 उनले भने, ‘संविधानमा परेका सबै विषयवस्तु निकै सोच र विचार गरेर राखिएको हुनाले संविधानमा कुनै त्रुटि र खराबी छैन, कसरी कार्यान्वयन गरेर अघि बढने सन्दर्भमा राजनीतिक दलका पदाधिकारीको क्षमता, वुद्धि र विवेकमा भरपर्दछ ।’

नेपाली काङ्ग्रेसका सांसद राधेश्याम अधिकारीले गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र  समावेशी सिद्धान्त नचाहने पक्षबाट मात्र संविधानबारे टिक्काटिप्पणी हुने गरेको स्पष्ट पारे । 

सांसद प्रेम आलेले संविधानले नेपालको भौगोलिक र जातीय विविधतालाई समेटेको बताए । 

नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष शम्भु थापाले लेखिएकै आधारमा मात्र संविधान, मूल कानून र रटान गरेकै आधारमा लोकतन्त्रको सही अभ्यास हुँदो रहने छ भन्ने विषय कतिपय घटनाले पुष्टि गरिरहेको धारणा व्यक्त गरे ।

पुस्तका श्रष्टा सिंहले नेपाली जनताको ठूलो बलिदानबाट गठन भएको संविधानसभाबाट युगान्तकारी घटनाको रुपमा भएको संविधान निर्माण र जारी हुँदाका बखतका घटना र अनुभूतिलाई समेटिएको पुस्तकले भावि पुस्तालाई नेपालको संवैधानिक इतिहास बुझ्नमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

संविधान निर्माण र  कार्यान्वयनसम्बन्धी ऐतिहासिक घटनाक्रमलाई लिपिबद्ध गरिएको उक्त पुस्तकमा संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, संसदीय दलका नेता, संसदीय समितिका सभापति, संविधान निर्माणको अविष्मरणीय घटना र स्मरणीय व्यक्तित्वको भूमिका र विश्लेषणलगायतका विषयवस्तु समावेश गरिएको छ । 

संविधान निर्माण र कार्यान्वयनसम्बन्धी छरिएर रहेका हजारौँ तथ्य र तथ्याङ्कलाई एकीकरण र सम्पादन गरी उक्त पुस्तक तयार गरिएको लेखक सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप