मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

किसानका लागि कृषि कार्यक्रमः धनीका लागि अझै धनी बन्ने अवसर ?

शनिबार, ०७ भदौ २०७६, १६ : ३३
शनिबार, ०७ भदौ २०७६

गुल्मी । कृषि  क्षेत्रमा  सरकारले ल्याएको नीति र कार्यकर्तामुखी व्यवहारले लगानी गर्न सक्ने धनी वर्गका दिनहरु झन् सुनौला हुँदैछन् भने लगानी नै गर्न नसक्ने  गरिवका दिनहरु  थप अँध्यारोमा धकेलिँदै छन्  ।

सरकारले कृषि र पशुपालनमा  लगानी गर्नेहरुलाई  लाखौं रुपैयाँ  अनुदान दिन थालेपछि त्यो अनुदानको लालचमा सदरमुकाममा करोडौंको कारोवार गर्ने  ठूला व्यापारीले समेत जग्गा झाडामा लिइ कृषि फर्म खोल्न थालेको पाइएको छ । 

  त्यस्ता कृषि तथा पशुपालन फर्ममा लगानी गरिरहेका  धनाढ्यहरुले पहुँच प्रयोगबाट  थप रकम कुम्ल्याइरहेका हुन् । सरकारी रकमबाट गरिवलाई गोठालो राखेर नक्कली कृषक बन्नेहरुमा अधिकांश राजनैतिक दलका नेता कार्यकर्ता, तिनै दल निकट ठूला व्यापारी  र  शिक्षक कर्मचारीहरु रहेका छन् ।

   जसको ज्वलन्त उदाहरणका रुपमा यअसघि गुल्मीको मालिका गाउँपालिका ८, सिमलटारीस्थित मालिका कृषि सहकारी संस्थाको ‘भैसी काण्ड’ सार्वजनिक भइसकेको छ । 


 रातोपाटीमा सिमलटारी भैसीकाण्डको समाचार विहीवार प्रकाशित भए लगत्तै रातारात  दुई वटा जर्सी गाई र एउटा भैसी खरिद गरेर ल्याइएको छ।  थप गाई भैँसी खाेज्ने क्रम पनि चलिरहेकाे छ । 

   गाई भैसी त ल्याईयो  तर पाल्ने को ?  सहकारीमा आबद्ध कोही शिक्षक , कोही पसले, कोही कर्मचारी , कोही राजनैतिककर्मी त कोही जनप्रतिनिधी छन् । ती मध्ये कतिपयले त आफ्नै घरमा दुध खाने एउटा भैसी समेत पालेका छैनन् ।

 उन्नत गाई भैसीपालनको मुख्य उद्देश्य हो सिमलटारी बजारलाई दुध आपूर्ति गर्नु ।  तर आफ्नै घरमा त एउटा भैसी पाल्न नसकेकाहरुले समूहमा गाई भैसी पालन गरेर गाउँवासीलाई दुध खुवाउलान ? स्थानीयले यस्तो प्रति प्रश्न गरे ।

प्रदेश सरकारको भूमि व्यवस्थापन तथा कृषि सहकारी संस्थाबाट गत आर्थिक बर्षमा उन्नत भैसी पालनका लागि विनियोजित १५ लाख मध्ये करिव १२ लाख रुपैयाँको काम सम्पन्न भएको प्रतिवेदन पेश  गर्नका लागि नवनिर्मित गोठ–टहरामा गाउँका भैसी लगेर बाँध्धै र फोटो खिचाउँदै उक्त रकम पनि निकासी गरियो ।

  तर उक्त गाई भैसी भने बल्ल भदौंमा आएर खरिद गरियो । खरिद गरेर बाँधे पनि रेखदेख गर्ने कोही नभएका कारण स्थानीय एक निम्नवर्गीय परिवारका ब्यक्तिलाई हेरालु बस्न  बोलाइएको छ । 

  चुनावताका आधुनिक कृषि व्यवसायबाटै गरिव किसानको मुहरा फेर्ने छौं भनेर नेताहरुले भाषण गरेको अझै कानमा गुञ्न्छि । तर सिमलटारीका  टाठाबाठाहरुको जस्तै पाराले गरिव किसानहरुको मुहार फेरिएला ? भनेर हामीले नेपाली कांग्रेस गुल्मीबा पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलाई सोधेका थियौं ।

   उनले अहिलेको सरकारले गरिव किसानका नाममा लगाएको नारा देखाउने दाँत मात्रै भएको आरोप लगाए । उनले भने–‘ अहिले भन्दा ब्रम्हालुट कहिले भए होला ?  धमाधम कार्यकर्ताहरुलाई कृतिम किसान बनाइएको छ ।’

  अनावश्यक रुपमा कृषि पशुपालन फर्म दर्ता गरेर सरकारी रकम कुम्लाउने क्रम बढ्दो रहेको उनले बताए । 

 त्यस्तै नेकपा गुल्मीका सचिव विरबहादुर कार्की (चाहल) ले सरकारबाट सञ्चालित विभिन्न कृषि र पशुपालन कार्यक्रमहरु वास्तविक किसान सम्म पुग्न नसकेको स्वीकारे । 

यता रातोपाटीमा समाचार प्रकाशित भएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारी सिमलटारीको पशुपालन फर्म अनुमगन गर्न पुगेका थिए । उनले आफूले पनि समाचारमा आएको जस्तै विवरण पाएको बताए । 

 उनले उक्त सहकारी संस्था किसान लक्षित नभएको पनि स्वीकार गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप