केन्द्रीय संस्करण
यात्रा संस्मरण

मुस्ताङको सुन्दरता (३४ तस्बिरमा हेर्नुहोस्)

person explore access_timeभदौ ७, २०७६ chat_bubble_outline0

पोखरा एयरपोर्टभित्र छिर्दा १० बज्नै आँटेको थियो । यात्रा थियो मुस्ताङसम्मको । मुस्ताङमा ३ दिनको बसाइ थियो हाम्रो । प्लेन उड्यो । विस्तारै पोखरा सानो सानो देखिन थाल्यो । जम्मा १८ मिनेट पो लाग्दो रहेछ प्लेनमा पोखरादेखि मुस्ताङ पुग्न ।

यो यात्रामा सँगै हुनुहुन्थ्यो कान्तिपुर दैनिकका दीपक परियार, अनलाइनखबर र समाधान राष्ट्रिय दैनिकका अमृत सुवेदी, एबीसी टेलिभिजन र ताण्डब साप्ताहिकका सुशान्त गाहामगर, राष्ट्रिय समाचार समितिका वासुदेव पौडेल, सिक्सटिन प्रोडक्सनका मिलन थापामगर, नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियालगायत ।

यात्राको चाँजोपाजो मिलाएको थियो नेपाल पर्यटन बोर्ड पोखराले । बिहानै ६ः५० को फ्लाइट रहेको सुनाएका थिए बासुदेव पौडेलले ।

मुस्ताङको पहिलो यात्राका लागि यसअघि पटक पटक योजना बनाएको भएपनि अवसर जुरेको थिएन ।  उसो त दुई वर्ष अघि कलेजमा पनि कुरा चलेको थियो  मुस्ताङ जाने । त्यो बेला समय जुरेन । दुई वर्षपछि जुर्नु रै छ । खैर, मुस्ताङ जाने पाए पछि अरु के चाहियो ?

लौ, पर्यो फसाद !

फसाद के परिदियो भने मस्ताङ जाने दिन बिहानै मुसलधारे पानी पर्यो । मनमनै भनेँ, ‘अब मुस्ताङ जान क्यान्सिल ।’ वासुदेव दाइलाई फोन लगाए । दाइले पनि अन्यौल जस्तो कुरा गर्नु भयो । एकैछिनपछि बुझेर फोन गर्ने बताउँदै उहाँले फोन राख्नुभयो ।

मन हावा सकिएको बेलुन जस्तै भयो । मनमनै सोचे, ‘अब मुस्ताङ जान क्यान्सिल ।’ लगभग मुस्ताङ ट्रिप क्यान्सिल भएकै मनस्थितिमा थिए । वासुदेव दाइको फोन आयो । ‘ल, अब एयरपोर्ट आउ,’ दाइले भन्नु भयो । फेरि हावा भरिएको ट्युव लाइट जस्तै भयो मन ।

आवश्यक सामान ब्यागमा कोचेर निस्किएँ । हतार – हतार एअरपोर्ट पुग्दा सबैजना बोडिङ पास लिएर चेकजाँज गर्दैै थिए । धन्न म समयमै पुगेछु ।

जोमसोममा प्लेन ल्यान्ड हुँदा बेतोडले हावा चलिरहेथ्यो । मेरो लागि मुस्ताङ विलकुलै फरक अनुभूति थियो सोचेको भन्दा भिन्न । आँखामा कैद गरी नसक्नुको रहेछ मुस्ताङ । एयरपोर्टबाट निस्किसकेपछि स्कापियोमा घरपझोङ गाउँपालिकामा अवस्थित ठिनी गाउँ लाग्यौँ ।

ठिनी गाउँमा गजबकै स्वागत भयो । थकाली भेषभूषामा सजिएका महिलाहरुको स्वागतपछि खाजा खायौँ । थकाली संस्कृतिलाई अझै पनि मर्न दिएको रहेनछ होमस्टेले । ठिनीका १३ घरमा होमस्टे चलाइएको रहेछ । सिंगो गाउँमा करिब १ सयका हाराहारिमा घर रहेछन् । होमस्टेमा लोकल फापरको ढिडो, रोटी, कालो दाल, आलु, भोटे चिया(नुन चिया) जस्ता परिकार पाहुनाको स्वागतमा पस्कन्छ ।

‘नुन चिया’को स्वाद मेरो लागि बिलकुल फरक अनुभूति थियो । उवाको पिठोमा थोरै पिठो र चौरीको घ्यु मिसाइएको ‘नुन चिया’ले लेक (हाइ अल्टिच्युट)लाग्नबाट बचाउँदो रहेछ ।

खाना खाई सकेपछि ‘जोमसोम – तिलिचो’ मोटरबाटो अवलोकन गर्यौँ । जिल्ला विकास समिति र संसद विकास कोषको संयुक्त लगानीमा बन्न लागेको उक्त मोटरबाटोले जोमसोम – तिलिचोलाई यसै आर्थिक वर्ष भित्र जोड्दै रहेछ । जोमसोम–तिलिचो मोटरबाटोले जोडिसकेपछि तिलिचो आउँने पर्यटक मुस्ताङ भित्रिने लक्ष गाउँपालिकाले लिएको रहेछ । घरपजोङ गाउँपालिका ५ ठिनीका वडाध्यक्ष वीरेन्द्र थकालीले बाटोको बारे धेरै जानकारी दिए । अग्लो डाँडा परेकाले गाडि माथि उक्लिन सकेन । त्यही थुप्रो सेल्फी लियौँ र फर्कियौ ।

ठिनीमै अर्को ऐतिहासिक गुम्बा छ । ‘कुछब तेरङा’ गुम्बा । एघार सय वर्ष पुरानो ‘कुछब तेरङा’ लामा गुरु ल्हुङतेन ओघ्यन पल्साङले बनाएका रहेछन् । सो गुम्बामा दैनिक पाठ पूजा गर्नाले जीवनभर सुख, शान्ति पाउँने जनविश्वास रहेछ । गुम्बा व्यवस्थापनका समितिका अध्यक्ष अनिल थकालीले गुम्बा बारे धेरै जानकारी दिए ।

०००

गुम्बाबाट फर्किदा साँझ पर्नै आँटेको थियो । साँझको खानापछि नाँचगानको कार्यक्रम राखिएको रहेछ । पाहुनाको स्वागतमा । राती अबेरसम्म थकाली समुदायको लोक नृत्य हेर्यौँ । नाँच मात्र हेरेनौँ हाम्रो टिम पनि मज्जैले नाच्यौँ । ठिनीको संग्रहालय पनि त्यही साँझ हेर्यौँ । थकाली समुदायको संस्कृति झल्काउने प्राचिन चिज जोगाएर राखिएको रहेछ संग्रहालयमा ।

भोलिपल्ट, मुक्तिनाथसम्मको यात्रा थियो । बिहानै ठिनीकै ढुम्बा ताल र हिउँ चितुवा गुफा पनि पुग्न भ्यायौँ । बीचमा पर्ने ठाउँहरु पनि उत्तिकै मनमहोक थिए ।

मुक्तिक्षेत्रमा बर्षा सकिएपछि मनाइने ‘यार्तुङ’ उत्सव सुरु हुँदै थियो । ‘यार्तुङ’ मेला मुस्ताङ लगायत अन्य हिमाली जिल्लामा पनि मनाइन्छ बर्खा सकिएको खुसियालीमा । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुक्तिनाथ रानीपौवामा सुरु भएको ‘यार्तुङ’ मेलामा स्थानीय सेबु्र नाँच, हिमाली याक, घोडचढिका विभिन्न कौशल पनि नियाल्यौँ । तारो हान्ने खेल त अझ गजबको थियो ।

त्यो दिन मेला हेर्दै बित्यो । भोलिपल्ट बिहानै मुक्तिनाथ मन्दिर पुग्यौँ । पर्यटनको लागि अफ सिजनको भएकाले त्यति भिडभाड थिएन, मुक्तिनाथमा । मुक्तिनाथ हिन्दुको मात्र होइन बौद्धमार्गीहरुको पनि पवित्र तिर्थस्थल हो । समुद्री सतहदेखि ३ हजार ७ सय १० मीटर उचाईमा रहेको मुक्तिनाथ शालिग्राम भगवानको लागि पनि प्रसिद्ध रहेछ । शालिग्राम शिला हो । हिन्दु धर्म मान्नेले शालिग्रामलाई भगवानको रुपमा पुज्छन् । मुक्तिनाथसँग जोडिएका अरु धेरै धार्मिक आस्था पनि छन् ।

केही समय अघि मुक्तिनाथ पुग्न सहज थिएन । तीर्थालुहरु पौवामै रात बिताउँथे । सुविधा सम्पन्न होटलको पनि अभाव छैन । वि.स. २०३२÷३३ यता मुक्तिक्षेत्रमा होटलको संख्या बढेको स्थानीय होटल व्यवसायी सुरज गुरुङ बताउँछन् । हाल २२ होटल सञ्चालनमा रहेकोमा नयाँ सिजनमा होटलहरु थपिने तयारिमा पनि छन् । अझ, बसपार्कबाट हिडेर मन्दिरसम्म पुग्न नसक्ने भक्तालुलाई घोडा र स्ट्रेचरको समेत व्यवस्था गरेको छ मुक्तिक्षेत्रले ।

आजकाल बाटोको सहज सुविधा छ मुक्तिनाथसम्म । ‘हवाई’ यात्राबाट पनि पुग्न सकिन्छ । सबै चिजको सुविधा छ ।

तिब्बत र नेपालको व्यापारिक नाका पनि थियो प्राचिनकालमा मुस्ताङ । जे होस्, मुस्ताङ पुग्नेका लागि केही चिजको असुविधा छैन । ढुक्कसँग मुस्ताङ पुग्न सकिन्छ ।

मुस्ताङ घुम्न मात्रै होइन । प्राचीन इतिहास अध्ययन अवलोकनको थलो पनि हो । इतिहासका धेरै पाटो जान्ने अवसर मिल्छ ।

०००

त्यसै दिन दिउसो १ बजेको हुँदो हो । मुक्तिनाथबाट जोमसोम झर्यौँ । त्यस दिन जोमसोम बसेर भोलिपल्ट पोखरा फर्किने योजना थियो हाम्रो । सबै ठाउँमा पुग्न नसके पनि नयाँ कुराको अनुभव पक्कै पाइयो ।

जोमसोम आइपुग्दा साँझ परिसकेको थियो । भोलिपल्ट बिहान त पोखरा पुग्नु थियो ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...