मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अमेजन जङ्गलमा डढेलोको रौद्र रुप, नियन्त्रणका लागि सेना परिचालन

शनिबार, ०७ भदौ २०७६, १३ : ४०
शनिबार, ०७ भदौ २०७६

-कार्लोस फबाल

ब्राजिल । ब्राजिलको विशाल अमेजन जङ्गलमा लागेको भिषण आगलागीप्रति अहिले विश्व समुदायको ध्यान आकर्षित भएको छ । 

पृथ्वीका अथाह जीवजन्तु र वनस्पतिको वासस्थानका रुपमा परिचित अमेजन जङ्गलमा लागेको यसपटकको डढेलोले एउटा धरोहर नै नष्ट हुने अड्कलबाजी गरिएका छन् ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले शुक्रबार अमेजन जङ्गलको डढेलो नियन्त्रणमा सघाउन सेना परिचालनको आदेश दिएका छन् । 

विश्वका प्रकृतिप्रेमीले अमेजोनको डढेलो नियन्त्रण गर्न ब्राजिल सरकारले बेवास्ता गरेको भन्दै सजायस्वरुप ब्राजिलसँगको व्यापार रोक्न विश्वसमुदायले ध्यान दिनुपर्ने आवाज उठाएसँगै राष्ट्रपति बोल्सेनारोले यस्तो आदेश दिएका हुन् ।

ब्राजिलको उत्तरपश्चिमी रोन्डोनिया राज्यको घना जङ्गलमाथिको आकाशमा बाक्लो धुँवा निरन्तर देखिएको छ । एकजना एएफपी फोटोग्राफरका अनुसार सयौं किलोमिटरको दूरीमा आगोका लप्का जताततै देखिएका छन् । 

‘यो दृश्य सामान्य छैन । जङ्गलमा जताततै आगो लागिरहेकाले आकाश धुँवा नै धुँवाले ढाकेको छ,’ राज्यको राजधानी पोर्टो भेल्होको एक होटलका कर्मचारीले बताए । पोर्टो भेल्हो नगरकै नजिक आगलागी भइरहेकाले पूरै नगर धुँवा र धुलोले छपक्क ढाकेको छ । 

विश्वकै सबैभन्दा ठूलो जङ्गलको उपमा पाएको यस जङ्गलमा आगलागी भएपछि विश्वभर नै चिन्ता व्यक्त गरिएको छ । ब्राजिली राष्ट्रपति बोल्सोनारो र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोबीच एकअर्काविरुद्ध आरोप प्रत्यारोप नै चलेको छ । 

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले अमेजन जङ्गलको डढेलोलाई ‘अन्तर्राष्ट्रिय संकट’ का रुपमा लिनुपर्ने बताएका छन् । उनले ब्राजिलले तत्काल नियन्त्रणका आपतकालीन उपाय अवलम्बन नगरे युरोपेली युनियनसँगको व्यापार सम्झौता नै अबरुद्ध पार्ने धम्की दिएका छन् ।

पछिल्लो सरकारी तथ्याँकमा यस वर्षमत्र ब्राजिलमा ७६ हजार ७२० वटा बन डढेलोका घटना रेकर्ड गरिएका छन् । सन् २०१३ यता यो नै सबैभन्दा बढी डढेलाका घटना भएका हुन् । 

विज्ञहरुले चरिचरन वा बाली लगाउनका लागि जमिन तयार गर्न स्थानीयवासीले सुख्खा मौसममा जङ्गल आसपास डढेलो लगाउने प्रचलनले आगलागीका घटना बढेको बताएका छन् ।

यी आगलागीमध्ये आधाभन्दा बढी अमेजन जङ्गलमै भएका हुन् ।

राष्ट्रिय अन्तरिक्ष अनुसन्धान इन्स्टिच्यूट (इन्पे)का अनुसार बुधबार र बिहीबारकै बीचमा अमेजनमा ७०० वटा आगलागीका नयाँ घटना भएका छन् । 

धुँवाका कारण साओ पाउलो समेतका नगर क्षेत्रको आकाशको हावाको गुणस्तर अत्यन्त न्यून विन्दुमा पुगेको थियो । सोमबार यी क्षेत्रको आकाशलाई धुँवाले ढाकेका कारण दिउँसै रातिजस्तो भएको थियो ।

परिस्थिति अति नाजुक बन्दै गएपछि राष्ट्रपति बोल्सोनारोले शुक्रबार अबेर राति मन्त्रिपरिषदको बैठक समेत डाकेका थिए । उक्त बैठकले आगलागी नियन्त्रण गर्न र अमेजन आसपासका आपराधिक घटना नियन्त्रणमा ल्याउन सैनिक परिचालन गर्न स्वीकृति दिएको थियो ।

अमेजन वनक्षेत्रले ठूलो परिमाणमा अक्सीजन दिने भएकाले पनि यसलाई ‘पृथ्वीको फोक्सो’ का रुपमा लिइन्छ । साथै यसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न ठूलो भूमिका खेल्ने गरेको छ ।

ब्राजिलकै रियो डे जेनेरियो र साओ पाउलोमा हजारौं मानिसले अमेजनमा लागेको डढेलो नियन्त्रणमा सरकारी बेवास्ताको विरोध गर्दै दिनहुँ प्रदर्शन गरिरहेका छन् । युरोपेली मुलुकहरुले ब्राजिलका राष्ट्रपतिमाथि दबाब दिनुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगो नियन्त्रणमा ल्याउन सघाउने वचन दिएका छन् ।

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले युरोपेली युनियन र ब्राजिल समेत सहभागी दक्षिण अमेरिकी व्यापार क्षेत्र (मर्कोसर) बीच तय भएको व्यापार सम्झौता रोक्ने चेतावनी दिएका थिए । आयरल्याण्डले पनि व्यापार सम्झौता रोक्ने चेतावनी दिएको छ । फिनल्याण्डले ब्राजिली बिफ युरोप भित्रिन नदिने बताएको छ ।

बोल्सोनारोले डढेलोलाई देखाएर ब्राजिललाई सजाय नदिन बारम्बार आग्रह गरेका छन् । ‘विश्वभर नै वन डढेलोका घटना भइरहेका हुन्छन्, र यसैलाई कारण देखाएर प्रतिबन्ध लगाइनु जायद होइन,’ शुक्रबार साँझ एक टेलिभिजनलाई दिएको संक्षिप्त प्रतिक्रियामा बोल्सोनारोले बताए ।

म्याँक्रोले बिहीबार एक ट्वीट गर्दै अमेजनको डढेलोलाई अन्तर्राष्ट्रिय संकटका रुपमा लिनुपर्ने र फ्रान्समा यसैसाता हुने सात आद्योगिक राष्ट्रहरुको बैठक (जी७)मा उच्च प्राथमिकता दिएर छलफल गरिनुपर्ने बताएका छन् ।

म्याँक्रोको ट्वीट लगत्तै आक्रामक हुनुभएका ब्राजिली राष्ट्रपति बोल्सोनारोले म्याँक्रोमाथि ‘उपनिवेशवादी प्रवृत्ति’ रहेको आरोप लगाए । 

वातावरण क्षेत्रका विज्ञहरुको भनाईमा वन डढेलोसँगै तिब्र गतिमा अमेजन जङ्गलमा वनविनाश हुनेछ । इन्पेका अनुसार सन् २०१८ को जुलाई महिनाको तुलनामा यसवर्ष सन् २०१९ को जुलाईमा वनविनाश झण्डै तीनगुणा बढेको छ । बोल्सोनारोले विगतमा गरिएका दाबी झुटो रहेको भन्दै इन्पेका प्रमुखलाई नै बर्खास्त गरेका थिए । 

यसै साताको शुरुमा बोल्सोनारोले गैरसरकारी संस्थाहरु बन डढेलोका लागि जिम्मेवार रहेको दाबी गरेका थिए ।  । 

बोल्सोनारोका प्रमुख समर्थक मानिएको ब्राजिलको निकै शक्तिशाली कृषि क्षेत्रले पनि राष्ट्रपतिका भनाईप्रति चासो व्यक्त गरेका छन् । कृषकको भनाईमा समयमै बोल्सोनारोले अमेजन मामिलामा सही कदम नचाले आफ्ना उत्पादनले प्रमुख विश्व बजार गुमाउने छन् ।

कन्ट्रोल रिस्क परामर्शदाताका थोमज फाभारोको भनाईमा बोल्सोनारोका टिप्पणीहरुले अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिम बढाएका छन् । ‘यो पछिल्लो बन डढेलोले ब्राजिलको वन संरक्षणको विश्वव्यापी मोडेल पनि समाप्तीको संघारमा पुगेको छ,’ रियो डे जेनेरियोस्थित इगारेप इन्स्टिच्यूटका अनुसन्धान निर्देशक रोबर्ट मुग्गाहले बताए ।

अमेजन क्षेत्रमा रहेको ब्राजिलकै सबैभन्दा ठूलो मानस नगरका प्रमुखले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अमेजनको वनक्षेत्र विश्वकै लागि जीवनको आधार रहेको बताए । 

प्रबुद्ध आदिवासी प्रमुख राओनीले पनि आगो नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेका छन् । छिमेकी मुलुकहरु पाराग्वे र बोलिभियाले पनि अमेजन जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्न भरमग्दुर प्रयत्न जारी राखेका छन् । 

अमेजन जङ्गलको सबैभन्दा ठूलो क्षेत्र ब्राजिलमा पर्दछ भने यो पेरु, कोलम्बिया, भेनेजुएला, इक्वेडर, पाराग्वे र बोलिभिया समेतमा फैलिएको छ । 

अमेजन जङ्गलको क्षेत्रफल करिब ५५ लाख वर्गकिलोमिटर छ । यस जङ्गल क्षेत्रमा साना ठूला हजारौं नदीनाला रहेका छन् । अत्यधिक वर्षा पनि हुने यस वन क्षेत्रलाई जैविक विविधताका दृष्टिले यो पृथ्वीकै अद्भूत र अनुपम उपहार मानिन्छ । 

बोलियाका सरकारले शुक्रबार बन डढेलो नियन्त्रण गर्न ‘सुपरट्याँकर” विमान प्रयोग गरिएको छ । गत महिनादेखि पूर्वी प्रान्त सान्ता क्रुज क्षेत्रको करिब सात हजार ७७० वर्ग किलोमिटर वन क्षेत्र सखाप पारिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप