शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोर्काको रक्तगाथा ( भाग–२)

आइतबार, २९ साउन २०७४, १३ : ०४
आइतबार, २९ साउन २०७४

लोर्काका केही कविता पढ्दा त्यसमा बरफ जस्तो चिसोपना र अवसाद महशुस हुन्छ । लोर्काले मृत्युलाई सानैमा चिनिसकेका थिए, जति बेला उनी पक्षघातबाट मृत्युको मुखमा पुगेर फर्के । त्यसैले उसको स्मृतिमा मृत्युको गहिरो छायाँ कहीँकतै अँध्यारोमा लुकेर बसेको हुन्थ्यो । जति बेला उसले लेख्थ्यो ती गहिरा अँध्यारा र छायाँका रङ्गहरु शब्दमा मिसिएर आउँन पुग्थे । लोर्काका सर्वोत्तम कवितामध्येको एक ‘पाँच बजे दिउँसो’ उसको साथी ‘इग्नासियो सान्चेस मेखियास’ माथि नै लेखिएको थियो । जो साँढेसँग युद्धमा मारिएको थियो । इग्नासियो ‘बुल फाइटर’ थियो । हुन सक्छ लोर्काले इग्नासियोको मृत्युमा नै आफ्नो नियतिको पूर्वाभास र स्वयम् आफ्नै स्मृतिको छायाँ र अँध्यारा रङ्गहरुको बासना कविता लेख्ने बेलामा महशुस गरेका थिए होलान ।

लोर्काको रक्तगाथा

लोर्काले भन्ने गर्थे– स्पेन मृत्युको देश हो र मृत्युका लागि खोलिएको देश... एउटा मारिएको मान्छे, कुनै अर्को ठाउँको तुलनामा स्पेनमा नै जिउँदो हुन्छ । स्पेन एउटा त्यस्तो ठाउँ हो, जहाँ त्यही महत्वपूर्ण हुन्छ, जसको अन्तिम गुण मृत्यु हो । (हवाना र व्युनस आयर्समा दिएको भाषणको अंश) स्पेनको दमनकारी, बर्बर फासिस्ट शक्तिले कहिलै पनि उसलाई सन्तुष्टिको सास लिन दिएन । ऊ आफ्नो युगको यसै दर्दनाक समयमा लगातार ब्युझिरह्यो र लेख्दै गर्यो । ऊ नराम्रो गरी थाकिसकेको थियो । उसको एउटा कविताको अंश यस्तो छ ।

म सुत्न चाहन्छु 
म सुत्न चाहन्छु, अलिक बेरका लागि
क्षणभरि, एक मिनट, सायद
एउटा पूरै शताब्दी... तर
मानिसहरुले यो बुझून्
कि म मरेको छैन...
कि मेरो ओठमा जूनको अमरता छ,
कि म पश्चिमी हावासँग खेल्दै हुर्केको हुँ...
त्यसको बाक्लो छयाँ हुँ...

आफ्ना नाटक र कविताहरुमा लोर्काले जति पनि पात्रहरुको निर्माण गरे त्यसमा अधिकांशको नियति मृत्यु नै थियो । लोर्का ती पात्रलाई ल्याएर एउटा दोबाटामा उभ्याई दिन्थे, जसको अन्तिम लक्ष्य मृत्यु नै हुन्थ्यो । आफ्नो एउटा निकै प्रारम्भिक कविता जुन उसले युवा अवस्थामा लेखेको थियो– ‘एउटा अर्को स्वप्न’मा उसले लेखेको छ, जति पनि केटाकेटीहरुको नियतिमा मृत्यु लेखेको छ, ती मेरो छातीमा छन् । साँच्चै ती सबै केटाकेटी एक न एक दिन मारिने केटाकेटीहरु उसको छातीमा नै थिए । विस्तारै विस्तारै पूरै नजिकपनाका साथ मैनझैँ पग्लिँदै उनीहरुको अस्तित्वलाई महशुस गर्दै उसले ती सबै लेख्ने गर्दथ्यो ।

आफ्नो एउटा अद्भूत कविता ‘ब्ल्याड अफ सिविल गार्ड’मा लोर्काले एउटा भयानक दुःस्वप्नको रचना गरेका छन् । त्यस दुःस्वप्नको केन्द्र पनि मृत्यु हो । यस कवितामा जिप्सीहरुको एउटा नगर छ । ध्वजा पताकाले सजिएको उत्सवधर्मी नगर । तर मुस्कान, सङ्गीत र नृत्यहरुले भरिएको त्यस उल्लासपूर्ण नगरको भाग्यमा पनि त्यही थियो, अर्थात– मृत्यु । राति सिभिल गार्डहरु नगरमा प्रवेश गर्छन् । उनीहरुले केटाकेटी र महिलाहरुलाई सङ्गीनले रोपेर मारिदिन्छन् । सिभिल गार्ड रातभरि अँध्यारोमा सर्पहरु सरी सलबलाउँदै विनास गर्दै हिँड्छन् । उनीहरु भकारी फुटाल्दै, ध्वजा पताका च्यादै उज्यालोमाथि निर्मम तवाही मच्चाउँछन् ।

जतिबेलासम्म बिहानको मिर्मिरे सुरु हुन्छ, त्यस बेलासम्म उत्सवधर्मी उल्लासपूर्ण नगर नेस्तानाबुद भैसकेको हुन्छ । यस नगरको हरेक ढोका, गल्ली र चौबाटोमा निर्दोष हाँसहरुको रगत लतपतिएको हुन्छ । लोर्काले ती सबै दृश्यलाई हेर्छ । ऊ कविताको प्रारम्भदेखि नै जान्दछ कि सिमेन्ट र स्पातले बनेको यो ठोस नगर एक दिन मर्नेछ । लोर्काको यो डरलाग्दो दुःस्वप्न पनि दुर्भाग्यले झुठो हुन सकेन । स्पेनमा यसै गरी समग्र रातभरि सिभिल गार्ड सार्पहरु जसरी सलबलाउँदै हिँडिरहे र जब बिहान भयो त बाटोमा, घरका ढोकामा, बगैँचामा र चौबाटोमा हरेक ठाउँमा साना साना केटाकेटीहरुको र महिलाहरुको लास छरिएको थियो । चिलीमा पनि ठ्याक्कै यस्तै भयो । ‘हेवलक एलिस’ र ‘रिल्के’को रचनाको केन्द्रमा पनि मृत्यु नै छ ।

रिल्केले मर्न लागेकी एउटी केटी थिई, उसमाथि एउटा कविता लेख्यो– ‘जब तिमीले आरम्भ गर्यौ आफ्नो जीवन तबसम्म तिम्रो मृत्यु ठूलो भैसकेको थियो ।’ पछि अस्तित्ववादीले, अल्वेयर कामुले आफ्ना रचनाहरुमा मृत्युलाई चित्रित गरे । अस्तित्ववादी दार्शनिक हेडेगरले पनि मृत्युलाई मानिसको अस्तित्वको अनिवार्य लक्षण भएको बताए । तर लोर्कासँग मृत्युको अनुभूतिको अर्थ जीवनदेखि विरक्त, जीवनदेखि नकार होइन कि बरु ठ्याक्कै त्यसको विरुद्ध हो । उनका रचनाले मृत्युका प्रति जागरुक, जीवन र कर्मप्रति जागरुकको बुझाईलाई झनै तीखो बनाउँछ ।

लोर्कामाथि लेख्दै त्यतिबेलाका समकालीन प्रसिद्ध स्पेनी कवि ‘सालिनास’ले पनि के स्वीकारे भने यदि जीवनका घटनाहरुले मृत्यु उपस्थितिको बुझाईलाई घटाइदिने हो भने जीवन एउटा सरल रेखामा बग्ने सिनेमा जस्तो हुन्छ । यस्ता सिनेमाका घटनाहरु मुर्दा हुने गर्छन् । किनभने हामीले त्यहाँ मृत्युको उपस्थिति र डरको आभास गर्दैनौँ । मृत्युसँग आफ्नो जिन्दगीको अनिवार्य अन्तर सम्बन्धहरुलाई बुझेर नै मानिसले आफ्नो जीवनलाई बुझ्न सकेको छ । मानिसहरु सामान्यतः जीवन रोज्छन... त्यो पनि आफ्नो मृत्यु बारेमा जागरुक नभईकन ।

लोर्काले आफ्नो मृत्युलाई रोज्यो । ठ्याक्कै त्यसरी जसरी उसले आफ्ना लागि एउटा विशिष्ठ जीवन रोजेको थियो । लोर्काले कहिलै पनि मृत्युृलाई भुलेन । उसका कविताहरु पनि त्यसकारण यति जीवन्त र सप्रमाण छ किनभने तीनले पनि मृत्युलाई बिर्साउँदैनन् । एउटा भनाइ नै छ नि मुर्दा कहिलै मर्दैन । जो मरेको छ, उसको के मृत्यु हुन्छ । तर लोर्काका पात्र पटक पटक मर्छन्, किनभने तिनी जिउँदा छन् । लोर्काका कविताहरु जिउँदा कविता हुन् । यो आफैमा विचित्र कुरा हो कि मृत्युमाथि लेखिएको भए पनि ती रचनाहरुले जीवनप्रति आस्था पैदा गर्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उदय प्रकाश
उदय प्रकाश

उदय प्रकाश वरिष्ठ भारतीय साहित्यकार तथा फिल्ममेकर हुन् ।

लेखकबाट थप