बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खुल्यो ‘कपडा बैंक’: गरीबलाई सित्तैमा

शुक्रबार, ०६ भदौ २०७६, १८ : ३१
शुक्रबार, ०६ भदौ २०७६

चन्द्रकला भण्डारी

लत्ताकपडा खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले झापामा ‘कपडा बैंक’ स्थापना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गरीब परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ । 
    
सामाजिक कल्याणकारी सोच राखेर झापामा यस्ता ‘कपडा बैंक’ यसै साता तीन ठाउँमा सञ्चालनमा आएका छन् । विर्तामोड, दमक र भद्रपुर नगरपालिकामा खुलेका यी बैंकबाट गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको छ ।

सामाजिक सेवामा क्रियाशील रोटरी क्लब, लायन्स क्लबलगायतका सङ्घ संस्थाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएका हुन् । भद्रपुरमा तीन दिनअघि र दमकमा एक सातादेखि खुलेको यस्तो नौलो बैंकमा कपडा छानीछानी लैजान खासगरी मजदूर वर्गका व्यक्ति धेरै सङ्ख्यामा झुम्मिने गरेका छन् ।
    
‘कपडा बैंक’मा महिलाले लगाउने सारी, चोलो, पेटिकोट, कुर्था, सुरुवाल, सल, टिसर्ट आदि कपडा सङ्ग्रह गरेर राखिएका छन् । पुरुषका निम्ति पेन्ट, सर्ट, हाफपेन्ट, टिसर्ट, गन्जी, कट्टुलगायतका तयारी कपडा राखिएको छ । सित्तैमा पाइने ती कपडा लिन गरीब परिवारका महिला, बालबालिका र ज्येष्ठ नागरिक धेरै आउने गरेका छन् ।
    
‘सहयोगको हात बढाऔँ, खुशी बाँड्न सिकाऔँ’ भन्दै भद्रपुरमा बुधबारदेखि ‘कपडा बैंक’ सञ्चालन गरिएको रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष टीकाराज ढकालले बताउनुभयो । “किनेर लुगा लगाउने जसको आर्थिक अवस्था छैन, उहाँहरुको कल्याण गर्नका लागि अभियानकै रुपमा यस्तो बैंक खोलेका हौं”,रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष ढकालले भने ।
    
भद्रपुर–५ स्थित दुर्गा मन्दिर अगाडि बजारकै छेउमा एउटा कोठालाई ‘कपडा बैंक’ बनाइएको छ । त्यहाँ गएर गरीब व्यक्तिले छानीछानी लत्ताकपडा लैजान पाउने सुविधा छ । कपडा लैजाने व्यक्तिले आफ्नो परिचय भने टिपाउनुपर्नेछ । रोट्र्याक्ट क्लब अफ भद्रपुरले अभियानमा साथ दिएको छ । 
    
भद्रपुरको ‘कपडा बैंक’ सातामा दुई दिन अर्थात प्रत्येक बुधबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म खुल्ने र एक व्यक्तिले एक जोर कपडा लैजान पाउने नियम बनाइएको अध्यक्ष ढकालले जानकारी दिए ।

‘कपडा बैंक’मा नयाँ र पुराना, सुकिला र सफा लुगा राखिने गरेका छन् । महिला उद्यमी सङ्घ झापाका अध्यक्ष गोमा भट्टराईका अनुसार व्यापारीका गोदाम र पसलमा मौसम सकिएर थन्किएका कपडा सङ्कलन गरेर ‘कपडा बैंक’मा ल्याउने गरिएको छ । घरमा प्रयोग नभएका कपडासमेत खोजीखोजी बैंकमा थुपार्ने गरिएको छ ।

विर्तामोडमा देवी पञ्चकन्या मर्निङ वाक ग्रुप, रोटरी क्लब अफ बिर्तामोड र महिला उद्यमी सङ्घ झापाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएको हो । बिर्तामोडका व्यवसायी सुरेशकुमार बंशलले ‘कपडा बैंक’ सञ्चालनका लागि एउटा कोठा निःशुल्क उपलब्ध गराए महिला उद्यमी सङ्घ झापाका अध्यक्ष भट्टराईले बताए । 
    
सामाजिक कल्याणको यस अभियानमा जोडिएका सङ्घ संस्थाले घरमा प्रयोग नभएका र गोदाममा मौसम सकिएर थन्किएका कपडा उपलब्ध गराइदिन सर्वसाधारण तथा व्यापारीलाई सार्वजनिक आह्वान गरेका छन् । विर्तामोडमा सोमबार बाहेक साताको ६ दिन ‘कपडा बैंक’बाट गरीब तथा असहायलाई कपडा वितरण गरिने व्यवस्था मिलाइएको छ । कपडा वितरण र अभिलेखका लागि एक कर्मचारी खटाइने गरिएको छ ।  
    
दमकमा लायन्स क्लब अफ दमकले जिल्लामा नै पहिलोपटक गत साउन २२ गतेदेखि ‘कपडा बैंक’ सञ्चालनमा ल्याएको हो । दमकस्थित पूर्व बसपार्कमा रहेको ‘कपडा बैंक’मा ज्येष्ठ नागरिकसमेत कपडा लिन आउने गरेको क्बलका अध्यक्ष सन्दीप बस्नेतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप