बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

'ढुक्क हुनुहोस् टीकापुरको थारु सम्मेलन सद्भावको लागि नै हो'

शुक्रबार, ०६ भदौ २०७६, १५ : ४२
शुक्रबार, ०६ भदौ २०७६

भदौ ७, ८ र ९ गते कैलालीको टीकापुरमा थारुवान र थरुहटको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । भदौ ७ त्यही दिन हो जुन दिन टीकापुरमै ७ जना प्रहरी र एक नाबालकको हत्या भएको थियो । २०७२ साल भदौ ७ गते भएको उक्त हत्याकाण्डकै दिन पारेर थारुहरुको सम्मेलन आयोजना हुनुले टीकापुरमा त्रास बढाएको छ । सम्मेलन आयोजकले कार्यक्रम शान्तिपूर्ण नै हुने बताइरहँदा सर्वसाधरणमा भने त्रास बढेको छ । जिल्ला सुरक्षा समितिले पनि टीकापुरमा ६ सय सुरक्षाकर्मी परिचालन गरेका छन्, जसबाट सुरक्षा चुनौतीको आंकलन गर्न सकिन्छ ।

टीकापुरको यो सम्मेलन किन र के का लागि त ? के यो सम्मेलन शान्तिपूर्ण होला त ? यही विषयमा हामीले थारु कल्याणकारिणी सभाका उप महामन्त्री मीनराज थारुसँग टीकापुरमै भेट गरेका छौँ ।


हाम्रो पहिलो प्रश्न थियो ‘भदौ ७ गतेकै मिति राखेर टीकापुरमै थारु सम्मेलन किन ?’

उनले सहज उत्तर दिए, सद्भावका लागि ।

अहिले टीकापुरमै थारु सम्मेलन राखेर त्रस्त बनेका टीकापुरबासीका लागि सायद सबैभन्दा सुन्दर उत्तर हो यो ।

टीकापुरको आगामी भविष्य थारु आन्दोलन, रेशमलाल चौधरी लगायत अन्य थारु समुदायका युवामाथि लागेको ज्यान मुद्दा र सजाय आदिका सम्बन्धमा थरुहट र थारुवान कार्यकर्ताले यो सम्मेलनको आयोजना गरेको हो । यद्यपि यसको आधिकारिक आयोजक भने अझै स्पष्ट पारिएको छैन ।

कार्यक्रमका संयोजक मीनराज चौधरीका अनुसार थारुहरुको माग र सरकारले गरेका सम्झौता अझै पूरा भएको छैन ।

थरुहट एकता, संघर्ष र विकल्पका विषयमा छलफल गर्न र भदौ ७ गतेलाई विद्रोहको दिनका रुपमा मनाउन तथा सामाजिक सद्भाव बिग्रेको कुरा चिर्नका लागि पनि त्यही दिन र टीकापुरमै सम्मेलनको आयोजना गरिएको मीनराज बताउँछन् ।

मीनराजका अनुसार अहिले थारु शक्तिहरु टुटफुटमा लागेका छन् र थारुको मुल मुद्दा पाखा लागेको छ । त्यसकारण थारु शक्तिलाई एकीकृत गर्नका लागि पनि यो सम्मेलनको आयोजना गरिएको मीनराजको दाबी छ ।

मीनराजले थारु र पहाडी समुदायमा सद्भाव नभएको भ्रम चिर्न सम्मेलन गर्न लागिएको बताएपछि हामीले फेरि सोध्यौँ, ‘के यो भ्रम मात्रै हो ?’

उनले जवाफ दिए ‘समुदायमा सद्भाव नभएको केही सत्यता हो । तर अहिले बाहिर हल्ला गरिएजति सद्भाव सबै सकिएको भने होइन । त्यही भ्रम र सत्यताबीचको अन्तर देखाउन पनि यो सम्मेलनको आयोजना गरिएको हो । सद्भाव, एकता, र मेलमिलापको सन्देश दिन सम्मेलन गर्न लागिएको मीनराजको दाबी छ ।

यो सम्मेलनको एउटा मुख्य एजेण्डा रेशम चोधरी लगायतलाई लगाइएको मुद्दा फिर्ता लिनका लाग सरकारलाई दबाव दिनु पनि हो । तथापि सम्मेलन सद्भावपूर्ण र शान्तिपूर्ण नै हुने मीनरजाले दाबी गरे ।

हामीले फेरि सोध्यौँ, कार्यक्रम त्रासमुक्त र शान्तिपूर्ण नै हुन्छ नि !

उनले भने ‘ढुक्क हुनुहोस्, यो सम्मेलन सद्भावकै सम्मेलन हुने छ ।’

मीनराजसँगको अन्तरवार्ताको पूरा भाग यहाँ प्रस्तुत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप