शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक विशेष समयः कसले के भने ?

शुक्रबार, ०६ भदौ २०७६, १५ : ०२
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको कास्मिरकको समस्यादेखि  बाजुरा लगायत क्षेत्रका जोखिम वस्तीको स्थानान्तरणबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले कास्मिर समस्याबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताए । छिमेकी मुलुकहरुले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कुटनीति नहुने भन्दै उनले राष्ट्रिय सहमतिका साथ यसबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘नजिकबाट नियकाल्दैछौ हामी भनेर परराष्ट्रमन्त्री ज्यूले भन्नुभयो । यो नियाल्ने काम कहिले सम्म हुन्छ ।  कहिलेसम्म नियालिराख्ने ? आँट छ भने यो सरकारले बोलोस् । के बोल्छ बोलोस् अनि नेपाली काँग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ ।’

पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रत्यन्त गर्दैछ भन्ने संदेश गएको उल्लेख गर्दै उनले यस्तो सन्देशले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिए । भारतसँगको कुटनीतिक सम्बन्धमा असन्तुलन पैदा हँुदा पर्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक असरबारे समयमै सोच्न उनले आग्रह गरे ।

उनले नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाए । १९ सय ५० को सन्धिका बारेमा नेपालले आफ्ना कुराहरु राख्न नसकेकोमा पनि उनले असन्तुष्टी जनाए ।  

उनले भने, ‘व्याक टु मंगलमान भयो । घुमिफिरी रुम्जाटार भयो ।’ २०४८ साल मै उठेको विषयमा अहिले पनि अगाडि नबढेर आवश्यक रोडम्याप बनाउन दुवै देशका परराष्ट्र सचिवलाई दिएको निर्देशनलाई उपलब्धि मान्न नसकिने तर्क उनले गरे ।

राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले बाजुराका विभिन्न गाउँ बाढी पहिरोको जोखिमको खतरामा रहेको भन्दै जोखिमयुक्त वस्तीका बासिन्दालाई सुरक्षिप्त स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराए । बाजुरा जिल्लाको गौमुल गाउपालिका १ को अन्द्राणी गाउँमा गाउँभन्दा तल रहेको खोलामा ठूलो बाढी आएर गाउँसम्म पुगेको र माथिबाट आएको पहिरोले गाउँ नै असुरक्षित भएको र त्यस्तै किसिमको समस्यामा दर्जन बढी गाउँ परेको भन्दै उनले तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए  ।

जोखिममा रहेका वस्ती पहिचान गरि स्थानान्तरणको सुझावसहित विगतमा अध्ययन प्रतिवेदन  बुझाउने काम भएको स्मरण गराउदै एककीकृत वस्ती विकासको योजना साथ अघि बढ्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले विपद परेको बेला मात्रै व्यूँझे जस्तो गर्ने त्यसपछि विर्सने सरकारको कार्यशैली लाई ‘छेपारोको घर बनाउने सपना’ को संज्ञा दिए ।

राष्ट्रियसभा सदस्य खेमराज नेपालीले मैथिली भाषालाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हटाइएकोमा गम्भीर आपत्ति जनाए । मैथिली भाषा एउटा प्रदेशमा मात्रै सिमित नभएको भन्दै मैथिली भाषालाई संरक्षण र सम्बद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराए । मैथिली र भोजपुरी लगायत भाषाहरु संकटमा पर्दै गएको भन्दै उनले त्यसको संरक्षण गर्न जोड दिए । 

राष्ट्रियसभा सदस्य रामप्रित पासवानले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिभिटीले भर्खरै सार्र्वजनिक गरेको प्रोफिसेन्सी सर्टिफिकेट इन जेनेरल मेडिसिनको नतिजामा दलित लगायतका विद्यार्थीलाई दिइने कोटामा गैह्रदलितको नाम निकालिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए । राष्ट्रियसभाको अर्को बैठक आईतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप