शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अर्को चुनावमा काँग्रेसभन्दा ठूलो पार्टी बन्छौँ’

पार्टी जोगाउनै भए पनि एकीकरण हुनुपर्छ : राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादव
शुक्रबार, ०६ भदौ २०७६, १२ : ५४
शुक्रबार, ०६ भदौ २०७६

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकताको विषय अहिले चर्चामा छ । तर एकीकरणबारे दुवै दलका नेताहरूको धारणा फरक फरक आउने गरेछ । त्यसमा पनि सबभन्दा बढी विवाद राजपा नेपालमा देखिएको छ । एउटा पक्षले महाधिवेशनपछि एकीकरण गर्ने भनेको छ भने अर्को पक्षले एकता गरेरै महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ ।

प्रस्तुत छ, एकताको पहल गरिरहेका राजपा नेपालका अध्यक्षमण्डलका सदस्य एवं प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवसँग पार्टीको महाधिवेशन, एकता, प्रदेश सरकार लगायतका विषयमा रातापाटीले गरेको कुराकानी :

राजपाको महाधिवेशन असोजमा गर्ने भनिएको थियो, तयारी कस्तो भइरहेको छ ?

–महाधिवेशन गर्न पार्टीको निर्णयसहित जिल्लाहरूमा सर्कुलर नै पठाइसकिएको हो । त्यो अनुसार जिल्लामा काम पनि भइरहेको थियो । तर यही बीचमा समाजवादी पार्टीसँग एकीकरण गर्ने र महाधिवेशन पनि गर्ने भनेर निर्णय भयो ।

एकता नै गर्ने हो भने एकताकै महाधिवेशन होस् भन्ने धेरै नेता कार्यकर्ताको धारणा छ । अधिकार र पहिचानका लागि सङ्घर्ष गरेका उत्पीडित समुदाय, मधेसी जनताले पनि एकता नै हुनुपर्छ भन्ने सल्लाह सुझाव दिन थाले । आन्दोलनकारी सहिद परिवारले समेत एकता हुनुपर्छ भनेर दबाब बढाउन थाले । मधेसमा भन्दा बढी एकता प्रक्रियाको प्रभाव पहाडमा परेको छ । हिमाल, पहाडका उत्पीडित समुदायका मानिसहरू एकीकरण हुने कुरामा धेरै खुशी भए । त्यसकारण दुवै पार्टीबीच सम्मानजनक स्थितिमा एकीकरण गर्नुपर्छ, ढिलाइ गर्नुहुँदैन भन्ने आवाज बढ्दो छ ।  वार्ता समितिका संयोजकले पनि एकीकरणका लागि वार्ता र छलफललाई गम्भीर रुपमा लिँदै अगाडि बढाइरहनुभएको छ ।

*****

एकता र महाधिवेशन गर्ने भनेर सर्वसम्मतीले निर्णय नै भएको छ भने कुरा नमिलेको कहाँ देख्नुभएको छ ? एकता र महाधिवेशन गर्ने दुवै विषयमा सहमति भएको हो । त्यसमा कहीँ, कतै र कुनै विवाद छैन ।

*****

तर राजपा नेपालकै अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले महाधिवेशनपछि मात्र एकीकरण गर्नुपर्छ भन्नुभएको छ नि ?

पार्टीको संयोजकले भन्नुभएको कुरा पनि ठीकै होला । पार्टीबाट महाधिवेशन गर्ने भन्ने निर्णय भएको छ । साथै विभिन्न दलसँग एकीकरण गर्ने निर्णय पनि भएको कुरा विर्सिनु हुँदैन । वार्ताका लागि पार्टीबाट समाजवादी पार्टीलाई चिठ्ठी पनि पठाइएको हो । दुई पक्षको बीचमा अनैपचारिक छलफल पनि भइरहेको छ । अर्थात् पार्टीका दुईवटा निर्णय छन् । तीमध्ये एकता घोषणा गरेर एकताको महाधिवेशन गर्नु नै उपयुक्त निर्णय हुन्छ भन्ने मेरो बुझाइ छ । एकताको काम पछाडि धकेलेर महाधिवेशनमा गयो भने त्यसलाई पार्टीका कार्यकर्ता तथा नेताले स्वीकार गर्छन् कि गर्दैनन् ? भन्ने कुरा ख्याल गर्नुपर्छ । नेता तथा कार्यकर्ताका चाहना एकीकरण छिटो भइहालोस् भन्ने छ । एकता प्रक्रिया जति ढिलो हुन्छ, त्यति नै महाधिवेशनमा असर पर्छ ।

एकताको विषयमा पार्टीमै एकमत छैन भने एकताले कसरी पूर्णता पाउन सक्छ त ?

–एकता र महाधिवेशन गर्ने भनेर सर्वसम्मतीले निर्णय नै भएको छ भने कुरा नमिलेको कहाँ देख्नुभएको छ ? एकता र महाधिवेशन गर्ने दुवै विषयमा सहमति भएको हो । त्यसमा कहीँ, कतै र कुनै विवाद छैन ।

त्यसो भए नेताहरूको किन फरक फरक धारणा आइरहेको छ त ?

–कुन नेताले के बोल्नुभएको छ, त्यसतर्फ म जान्न । आफ्नो कुरा राख्ने स्वतन्त्रता सबैलाई छ । तर पार्टीले के निर्णय गरेको छ, त्यो मुख्य हो । यदि एकता नगर्ने हो भने के कारणले नगर्ने हो त्यो पार्टीमा छलफल गरेर निर्णय गर्नुपर्छ । तर एकता समयको माग हो । वार्ता समितिका संयोजक अनौपचारिक छलफलमा हुनुहुन्छ । अन्य नेताहरूले पनि कुराकानीलाई अगाडि बढाइरहनु भएको छ । मधेसवादी दलहरू कमजोर भइरहुन् भन्ने काँग्रेस कम्युनिस्टहरूको चाहना छ । त्यसैले उनीहरूले समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण नहोस् भनेर चाहेका छन् । पाँच प्रतिशत थ्रेस होल्ड लगाइँदैछ, त्यसबाट पार्टीलाई जोगाउनुपर्छ । पार्टी जोगाउनुभन्दा पनि मधेसको मुद्दा जोगाउनु महत्त्वपूर्ण हो । अधुरा अधिकार र पहिचान प्राप्त भएका छन्, त्यसलाई पूरा गर्न सविधान संशोधन हुनुपर्छ र सविधान संशोधनका लागि दलहरूको बीचमा एकता हुनुपर्छ । दुई कम्युनिस्ट पार्टी मिल्ने अवस्थामा थिएनन् तर पनि मिले । हाम्रो त मुद्दा मिल्छ, विचार मिल्छ । सँगै चुनाव लडेको, सँगै हामीले आन्दोलन गरेका हौँ । त्यसैले दुई पार्टीबीच एकीकरण  आवश्यक छ । राजपा र समाजवादी पार्टी एकता भएपछि वैकल्पिक पार्टी बन्छ र अर्को चुनावमा काँग्रेसभन्दा ठूलो पार्टी हुन्छ । त्यसपछि देश हामीबिना अघि बढ्न सक्दैन, संविधान संशोधन लगायतका काम पनि हुन्छन् ।

राजपा नेपालकै कतिपय नेताहरूले राजपा नेपाल अझै आफै निर्माण भएको छैन भने अरू पार्टीसँग कसरी एकीकरण गर्नसक्छ भन्ने गरेको पाइन्छ नि ?

–कसले भन्छ राजपा नेपाल निर्माण भएको छैन ? यदि बनेको छैन भने यो देशको तेस्रो ठूलो पार्टी कसरी भयो ? जनताले विश्वास गरेर प्रदेश र स्थानीय तहमा कसरी जिताए ? सदनदेखि सडकसम्म अहिले सङ्घर्ष गरिरहेको छ यो कसरी सम्भव छ, बिना पार्टी, बिना सङ्गठन ? हजारौँ कार्यकर्ता र नेता पार्टीमा छन् । हाम्रै पार्टीको नेतृत्वमा आन्दोलन भएको छ  । थुप्रैले बलिदानी दिएका छन्, घाइते भएका छन् । ती सबै राजपा नेपालको नामबाट । बरु जति काम गर्नुपथ्र्यो त्यति गर्न नसकेको अवश्य हो ।

त्यसो भए यो एकीकरणमा जो सहभागी भए ठीक छ, नहुनेलाई छाडेर पनि एकीकरण हुन्छ ?

– त्यसो होइन । एकीकरणमा सबैको सहभागिता हुन्छ । त्यो पनि तलदेखि माथिसम्म सम्मानजनक ढङ्गले । कसैलाई छाडेर कसैलाई लिएर जाने कुरा हुँदैन । एकता अधिकारका लागि हुनेभएकाले अधिकारको यो लडाइँमा सबैको उपस्थिति आवश्यक छ ।

एक समय तपाईंले पनि पार्टी विभाजन गर्नुभएको थियो, अहिले फेरि एकीकरण गर्न लागिपर्नुभएको छ नि ?

–यो समय र परस्थितिले गराउने कुरा हो । इतिहासले सबै कुरा सिकाउँछ । हामी इतिहासप्रति विश्वास गर्छौं । एक समय थियो, थुप्रै पार्टी विभाजन भएका थिए तर अहिलेको समय जुट्नेको हो । त्यसैले जुट्ने कुरा गरिरहेका छौँ । पार्टी विभाजनपछि लोकतन्त्रलाई नोक्सान पुगेको छ । जनता र कार्यकर्ताको मनोबल गिरेको थियो । जनता कार्यकर्ता अझै आन्दोलन गर्न तयार छन् । मलेठमा भएको कार्यक्रममै हामीले घोषणा गरेका थियौँ कि सबै दलका बीचमा एकीकरण हुनुपर्छ । त्यसपछि हामीले छ दलका बीचमा एकीकरण गर्यौँ । सहिद तथा घाइते परिवारले समाजवादी पार्टी र राजपाबीच पनि एकीकरण हुनुपर्छ भन्ने चाहना राखेका छन् । जसलाई हामीले पूरा गर्नुपर्छ ।

*****

वार्ता समितिका संयोजक राजेन्द्र महतोजीलाई हामीले यसको जिम्मेवारी दिएका छौँ । उहाँले मोडालिटीका बारेमा छलफल गरिरहनुभएको छ । हामीले वार्ताका लागि छलफल गर्न टीओआर दिएका छौँ, त्यसको आधारमा अनौपचारिक वार्ताहरू भइरहेका छन् । उहाँले छलफल गरेका कुराहरू पार्टीमा ल्याउनुहुन्छ, त्यसपछि पार्टीमा पुनः छलफल गरेर एकीकरण प्रक्रियालाई टुङ्गोमा पुर्याउँछौँ ।

*****

विगतमा पार्टी विभाजन गरेर गल्ती गरिएछ भन्ने अहिले महसुस भइरहेको छ ?

–त्यतिबेला सबै पार्टीहरू विभाजित भएका थिए । त्यसको मूल कारण बुझ्नुपर्छ । त्यसको मूलकारण हो– विधि र प्रक्रिया । त्यतिबेला विधानमा समान जनसङ्ख्या र जातीय जनसङ्ख्याका आधारमा पार्टीलाई अगाडि बढाउनु पथ्र्यो । अहिलेको संविधानमा जुन कुरा लेखिएको छ, त्यसको आधारमा विधि विधान बनाउनुपर्छ र चल्नुपर्छ भन्ने हो । पहिला पनि मेरो माग यही हो । त्यतिबेलाको विधान राम्रो भएको भए विभाजन हुँदैनथ्यो । विधानले सबैको हकअधिकार सुरक्षित गर्नुपर्छ । मनोनित प्रथा हटाउनुपर्छ, वडादेखि माथिसम्म सबै चुनाव जितेर आउनुपर्छ । अनि पार्टी विभाजन हुँदैन ।

विधि विधानको कुरा गर्नुभयो, अहिले तपाईंहरूको पार्टीमा विधान पनि बनेको छैन, पार्टीको मूल राजनीतिक दस्तावेज छैन । घोषणापत्र पनि छैन अनि अगामी दिनमा पार्टी कसरी दीर्घजीवी हुन्छ ?

–हामीसँग एउटा सङ्क्षिप्त विधान छ । त्यसैको आधारमा पार्टी सञ्चालन भइरहेको छ । विधानमा लोकतन्त्रको प्रत्याभूत गरेको छ मनोनित प्रथालाई हटाएको छ । त्यसले अब यो पार्टी फुट्ने होइन, जुट्नुपर्छ भनेरै प्रयास भइरहेको छ । क्षेत्रीय पार्टी भए पनि हाम्रा मुद्दा राष्ट्रिय छन् ।

त्यसो भए दुई पार्टीबीचको एकता प्रक्रियाको मोडालिटी के हुन्छ त ?

–वार्ता समितिका संयोजक राजेन्द्र महतोजीलाई हामीले यसको जिम्मेवारी दिएका छौँ । उहाँले मोडालिटीका बारेमा छलफल गरिरहनुभएको छ । हामीले वार्ताका लागि छलफल गर्न टीओआर दिएका छौँ, त्यसको आधारमा अनौपचारिक वार्ताहरू भइरहेका छन् । उहाँले छलफल गरेका कुराहरू पार्टीमा ल्याउनुहुन्छ, त्यसपछि पार्टीमा पुनः छलफल गरेर एकीकरण प्रक्रियालाई टुङ्गोमा पुर्याउँछौँ ।

राजेन्द्र महतोले त अहिलेसम्म पार्टीलाई एकीकरणको बारेमा जानकारी नै गराउनु भएको छैन भन्ने गुनासो छ नि ?

–जानकारी गराउनु भएको छ । एकीकरणका बारेमा खासै प्रगति नभएको तर छलफल भइरहेको भनेर उहाँले पार्टीमा जानकारी दिनुभएको छ । भन्नका लागि सबै कुरा परिपक्व पनि हुनुपर्छ । अधुरो जानकारी दिएर पनि हुँदैन । त्यसैले समय आएपछि पार्टीमा सबै कुराको जानकारी दिनुहुन्छ ।

*****

समाजवादी पार्टीले पनि सरकार छाड्ने भनिरहेको छ । समाजवादी पार्टीका नेताहरूले बाहिर पटक पटक कुरा उठाइरहनुभएको छ । यता, वार्ता समितिको बीचमा पनि यो विषयमा कुरा भइरहेकै होला । अहिले नै हामी सरकार छाड्न दबाब दिनेछैनौँ । एकीकरण नै नभएको अवस्थामा सरकार छाड्नु भनेर कुन आधारमा भन्ने ?

*****

सञ्चार माध्यमहरूमा एकताको मोडालिटीका बारेमा आएका कुरामा कति सत्यता छ ?

–मिडियामा आएका विषय कुनै सरोकारका विषय होइनन् । कसले के लेख्यो, त्यतातिर म जान चाहन्न । वार्ता समितिका संयोजकले भन्ने कुरा नै आधिकारिक हुन्छ । उहाँले चाँडै नै पार्टीमा सबै कुराको विषयमा छलफल गराउनुहुन्छ ।

राजपा नेपाल सरकारबाट समर्थन फिर्ता लिएको छ, समाजवादी पार्टी सरकारमै छ यही कुरा मिलेको छैन भने एकीकरणको कुरा कसरी अगाडि बढिरहेको छ भनेर विश्वास गर्ने ?

–समाजवादी पार्टीले पनि सरकार छाड्ने भनिरहेको छ । समाजवादी पार्टीका नेताहरूले बाहिर पटक पटक कुरा उठाइरहनुभएको छ । यता, वार्ता समितिको बीचमा पनि यो विषयमा कुरा भइरहेकै होला । अहिले नै हामी सरकार छाड्न दबाब दिनेछैनौँ । एकीकरण नै नभएको अवस्थामा सरकार छाड्नु भनेर कुन आधारमा भन्ने ? एकीकरणको टुङ्गो लगोस्, त्यसपछि समाजवादी पार्टीसँग कुरा गरेर निष्कर्षमा पुग्छौँ ।  हामीलाई विश्वास छ समाजवादी पार्टी पनि सरकारमा बस्दैन ।

राजपा नेपालले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधन, गैरन्यायिक हत्या लगायतका विषयमा अवाज उठाउँदै आएको छ । तर समाजवादी पार्टी मौन छ नि किन ?

–समाजवादी पार्टी सत्तारुढ दल भएकाले धर्म निर्वाह गरेको हुनसक्छ । यद्यपि हामीले यो विषयमा पनि कुराकानी गरेका छौँ । एकीकरण भएपछि एउटै सङ्गठन, एउटै संरचना भएपछि सदनमा पनि एउटा शक्तिको रूपमा देखिन्छ र त्यसपछि कुरा उठाउँदा एउटा दबाब पर्न सक्छ । समाजवादीले संविधान संशोधन, लाल आयोगको विषयमा कुरा उठाइरहेका हुन्छ । बेलाबेलामा बोलिरहेको हुन्छ तर प्रतिपक्ष जस्तो बेल्न मिल्दैन उसको पनि बाध्यता छ ।

सरकारसँग तपाईंहरूको संवादहीनता जस्तै छ, तपार्इंहरूका मागप्रति सरकार गम्भीर छैन भन्ने बुझिन्छ, यस्तो अवस्थामा के गर्नुहुन्छ ?

–पहिलो कुरा त हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्यौँ । सुरुमा हामीले यो सरकारलाई भरपुर सहयोग गर्न खोजेका थियौँ । तर, सरकारले हाम्रो सहयोगलाई आवश्यक ठानेन । देशमा दुई तिहाइको सरकार छ । राजनीतिक स्थिरता आवश्यकता छ, समृद्धि, शान्ति, सुरक्षाको आवश्यकता छ । त्यसैले यो सरकारले माग पूरा गर्ला भनेर हामीलाई विश्वास थियो किनभने सरकारको नेतृत्व गरेको दलको घोषणापत्रमा यी कुरा उल्लेख थिए । नेताहरूले पनि संविधान संशोधन गर्ने भन्दै आइरहेका थिए । तर सरकारले संविधान संशोधन गरेन । किन गरेन यसको जिम्मेवारी सरकारले लिनुपर्छ । अस्ति सर्वदलीय बैठक बोलाउँदा पनि हामीले यो कुरा राख्यौँ । यो मुलुकमा अब हरेक कुरामा साझा सहमतिको आवश्यकता छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वीकार गर्नुपर्छ ।

प्रदेश २ मा राजपा र समाजवादी पार्टीको सरकार छ, केही दिनअघि नेकपाका अयक्ष प्रचण्ड मधेस झरेका बेला प्रदेश २ सरकार भ्रष्ट छ, जनताको भावनाअनुसार काम नै गर्दैन भन्ने टिप्पणी भएका थिए के यसमा सत्यता छ ?

–कुन नेताले के भन्नुभयो, कहाँ भन्नुभयो त्यसको पछाडि जान चाहान्न । वास्तविकता फरक छ । प्रदेश २ को सरकार अन्य प्रदेशको सरकारभन्दा राम्रै काम गरिरहेको छ भन्ने हामीलाई लाग्छ । यद्यपि त्यतिले मात्रै मधेसका समस्या समाधान हुँदैनन् । अझै धेरै गर्नुपर्ने हुन्छ । सुरु सुरुका दिनमा कर्मचारी तथा नीति नियमको अभावले काम गर्न सकिरहेको थिएन । यो चालु आर्थिक वर्षदेखि उच्च परिणाम आउने गरी काम हुन्छ ।

प्रदेश सरकारको काम कारबाहीप्रति सरकारमा संलग्न पार्टीकै नेताहरू सन्तुष्ट नभएका खबर आइरहेका छन् नि किन ?

–दुई पार्टीको संयुक्त सरकार हो । सरकार सञ्चालन कार्यविधि बनाउनुपथ्र्यो, कार्ययोजनाहरू बनाउनुपथ्र्यो, त्यो बनाउन सकिएन । त्यही भएर जसलाई जे मन लाग्यो त्यही काम हुन थाले । पार्टीले पनि कुनै सोधखोज र अनुगमन तथा नियन्त्रण गरेन । कुनै प्रकारको प्रशिक्षण भएन । आगमी दिनमा यी कुराहरूलाई ध्यान दिँदै अगाडि बढिन्छ । प्रदेश सरकार सञ्चालनका लागि अब दुईवटै पार्टीले साझा एजेन्डा बनाएर अघि बढ्नुपर्छ ।

त्यो एजेन्डामा मन्त्री हेरफेरको कुरा पनि पर्छ ?

–अहिले त्यो एजेन्डामा जानुभन्दा पहिले कमी कमजोरीहरूलाई सच्याएर अगाडि बढाउनुपर्ने हुन्छ । हाम्रो चाहनाले सबै हुँदैन । दुई दलको संयुक्त सरकार भएकाले संयुक्त छलफलबाट निर्णय लिनुपर्ने हुन्छ र विगतको भन्दा राम्रो काम गर्नुपर्छ । त्यसै अनुसारको म्याकेनिजम पनि बनाउनुपर्छ, जसले सरकार निरन्तर चल्ने र पाँच वर्षसम्म टिक्ने वातावरण बनाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप