शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नाडा अटो सो २०१९’ विशेष : कसले के प्रदर्शन गर्दैछन् ?

बिहीबार, ०५ भदौ २०७६, १७ : ०९
बिहीबार, ०५ भदौ २०७६

काठमाडौँ । सवारी साधनको कुम्भ मेला ‘नाडा अटो सो २०१९’ को मिति नजिकिएको छ । अबको केही दिनमै राजधानीमा बृहत् र भव्य अटो मेला आयोजना हुँदै छ । 

हरेक वर्ष नेपालीहरुको महान चाड वडा दसैँ र तिहारलाई लक्षित गर्दै आयोजना गरिँदै आएको नाडा अटो सो यस वर्ष यही भाद्र १० गतेदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा आयोजना हुँदै छ । १० गतेदेखि १५ गते सम्म ६ दिन चल्ने उक्त अटो मेलामा नेपालमा उपलब्ध सानादेखि ठूला र सस्तादेखि महँगा गाडी पाइने छ । जहाँ अटो खरिदकर्ताहरुले सहज रूपमा छानी छानी र बार्गेनिङ गरीगरी सवारी साधन किन्न पाउने छन् । त्यसका लागि अटो मेलाको सम्पूर्ण तयारी पूरा गरिसकिएको आयोजक नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले जनाएको छ । 

यतिखेर नाडा अटो सोको आयोजनाले भन्दा पनि अटो सोमा विशेष के ? भन्ने सवालले सबैको ध्यान तानेको छ । अटो पारखी, उपभोक्ता तथा आम अबलोकनकर्ताहरु यस वर्षको अटो सोमा नयाँ के ? भन्ने विषयमा बेग्र प्रतीक्षामा छन् । कुन कम्पनीले के ल्याउँदै छ ? र कुन कम्पनीले कसरी आफ्नो प्रोडक्ट प्रदर्शन गर्दै छ ? भन्ने विषयलाई बढो कौतुहल र जिज्ञासुका साथ हेरिरहेका छन् । 

यसै जिज्ञासाको पेरिफेरीमा रहेर हामीले यस वर्षको नाडा अटो सो विशेष केही प्रदर्शनीका गाडीहरु कलेक्सन गरेका छौँ । कुन कम्पनीले अटो सोमा आफ्नो उपस्थिति कसरी जनाउँदै छ ? र के कस्तो गाडी उतार्दै छ ? त्यसको प्रारम्भिक जानकारी दिन गइरहेका छौँ ।

आउनुहोस् हेरौँ । ‘नाडा अटो सो २०१९’ मा कसले के प्रदर्शन गर्दै छन् : 

सुजुकी


यस पटक सुजुकीको नाडा विशेष हाइब्रिड कार बन्ने भएको छ । कम्पनीले मेलामा तीन हाइब्रिड कार एस–क्रस, सिआज र आर्टिका उतार्दै छ । यी कार नै मेलाको मुख्य आकर्षणको केन्द्र बन्ने कम्पनीको विश्वास छ । 
तर यी तीन इस्मार्ट हाइब्रिड कारहरुमध्ये पनि एस–क्रस नै मेलाको पहिलो रोजाइ बन्ने देखिन्छ । अटो सो टार्गेट गरेर ल्याइएको यो कार मेलामा राम्रै बुकिङ हुने कम्पनीको अपेक्षा छ । 

एस–क्रस 

एस–क्रस हाइब्रिड टेक्नोलोजीमा आधारित नयाँ कार हो । यसलाई क्रस ओभर सेग्मेन्टको विशेष कारका रूपमा लिइन्छ । हाल सुजुकीले ल्याएको एस–क्रस १३ सय सीसी इन्जिन क्षमताको डिजेल कार हो । यसलाई हाइब्रिडको प्रिमियम सेग्मेन्ट कारको रूपमा पनि हेर्ने गरिन्छ । 

एस–क्रस सुजुकीकै एक्सएस–फोको क्रस एक्स सेग्मेन्टबाट उत्पादित कार हो । 

यो कार भारतीय बजारमा सन् २०१५ मा नै सार्वजनिक भएको थियो । तर नेपालमा भने ढिला गरी भर्खर मात्र आएको छ । जुन नाडा अटो सोमा प्रदर्शन गरिँदै छ । 

मूलतः एस–क्रस १.३ डिजेल इन्जिनयुक्त हाइब्रिड प्रिमियम कार हो । यसलाई आरामदायी र फेमिलियर कारका रूपमा लिन सकिन्छ । ५ सिट क्षमतामा उपलब्ध यो कार लामो यात्राका लागि समेत निकै आरामदायी छ । त्यसो त कार हाइब्रिड भएकैले इन्धन बचतमा समेत अब्बल मानिएको छ । एस–क्रसले सरदर प्रतिलिटर २५.१ किलोमिटरसम्मको उच्च माइलेज दिन्छ । जुन यही सेग्मेन्टको अन्य कारहरुले दिँदैन । 

सिआज


सिआज सुजुकीकै एक नयाँ मोडलको सेडान सेग्मेन्टको हाइब्रिड कार हो । १३ सय सीसी इन्जिन क्षमतामा डिजेल र पेट्रोल दुवै भेरियन्टमा उपलब्ध यो कारलाई पनि कम्पनीले यस वर्षको नाडा अटो सोमा उतार्ने भएको छ । लग्जरियस सेडान सेग्मेन्टको सिआज कार अटो सो विशेष बन्ने कम्पनीले अपेक्षा छ । 

आर्टिका


सुजुकीले अर्को नयाँ कार आर्टिकालाई पनि यस वर्षको नाडा अटो सोमा उतार्ने भएको छ । अहिलेसम्मकै सुजुकीको प्यासेन्जर सेग्मेन्टमा अधिकतम ७ सिट क्षमतामा उपलब्ध यो कार अटो सोको विशेष बन्ने भएको छ । यो कार पनि हाइब्रिट टेक्नोलोजीमा नै आधारित भएर निर्माण गरिएको कार हो । 
१२४८ सीसीदेखि १४०० सीसी इन्जिन क्षमतामा उपलब्ध यो कार म्यानुअल र अटोमेटिक दुवै अप्सनमा छ । यो कार पनि पेट्रोल डिजेल दुवै अप्सनमा उपलब्ध छ भने हाइब्रिड सीएनजीसमेत समाहित छ । 

 महिन्द्रा

यस वर्षको नाडा अटो सोमा महिन्द्राले एसयूभी सेग्मेन्टका दुईवटा कार प्रदर्शन गर्ने भएको छ । महिन्द्रा एसयूभी–३०० र मराजो अटो सो विशेष कारहरु बन्ने छन् । 
भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलग्गै पहिचान बनाउन सफल यी दुई गाडीले नेपाली बजारमा निकै राम्रो बजार विस्तार गर्ने कम्पनीको अपेक्षा छ ।

महिन्द्रा एसयूभी–३००


महिन्द्राको लेटेस्ट मोडलमा एसयूभी–३०० आएको छ । यो नेपाली बजारमा निकै प्रतीक्षा गरिएको मोडल पनि हो । महिन्द्राले नयाँ प्लाटर्फम ‘एस–१००’ को अवधारणा एसयूभी–३०० लाई बजारमा उतारेको छ । 
यसमा आकर्षक सनरूफको साथै, एलईडी डेटाइम रनिङ लाइट, पुस स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन् ।
एक्सयूभी ३०० मा ७ वटा फस्टइन सेग्मेन्ट फिचर दिइएको छ । सातवटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्विल, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक फिचर्सहरुले एसयूभी–३०० विशेष बनेको छ । 
एसयूभी–३०० १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । 

मराजो


महिन्द्राको निकै चर्चामा रहेको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटो सोमा मुख्य आकर्षणका रूपमा रहने छ । सार्क माछाको डिजाइनमा निर्मित मराजो नाडाको विशेष सो हुने कम्पनीको विश्वास छ । 
महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिस्ट, स्टायडर्ड रूपमा दुईवटा एयरब्याग तथा बालमैत्री सिट लगायतका सुरक्षा फिचरहरू उपलब्ध गराइएको छ । 

मराजोमा सनरूफ भेन्ट, सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम, थ्री–स्पोक स्टेयरिङ ह्विल, ब्लुटुथ टेलेफोनिक सिस्टम लगायत क्रुज कन्ट्रोल सिस्टिमका सुविधाहरु उपलब्ध छन् ।
महिन्द्रा मराजोमा १.५ लिटरमा ४ सिलिन्डर डिजेल इन्जिनमा आएको छ । 

टाटा-ह्यारिअर (एच–फाइभ)


टाटा मोटर्सले नाडा अटो सोको अवसर पारेर अहिलेसम्मकै अत्याधुनिक एवं सुविधासम्पन्न एसयूभी कार ह्यारिअर भित्र्याउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा ह्यारिअर नामले परिचित यो कार नेपालमा भने ‘एच फाइभ’ नाममा आउने भएको छ । यो नै टाटाको यस वर्षको नाडा अटो सो विशेष कार हुने पक्का पक्की जस्तै भएको छ । 

ह्यारिअर गत जनवरी २३ मा मात्र भारतीय बजारमा लन्च गरिएको थियो । टाटाले गत वर्षको अटो एक्सपोमा एच५एक्स कन्सेप्टको रूपमा यो कारलाई पहिलो पटक सार्वजनिक गरेको थियो । त्यही कन्सेप्टको अधिकांश भागलाई नै मिलाएर ह्यारियर निर्माण गरिएको छ । कारको डिजाइन आधुनिक छ भने बनोटको तल्लो साइडमा हेडलाइट राखिएको छ । फ्रन्ट ग्रिलमा राखिएको डे टाइम रनिङ लाइटले यसलाई निकै नै आकर्षक बनाएको छ । 

ह्यारिअरमा ईएसपीमा आधारित टेरेन रेस्पोन्स मोड उपलब्ध छ, जसका कारण जस्तोसुकै सडकमा पनि सहज तरिकाले चलाउन सकिन्छ । कारको क्याबिनमा ८.८ इनचको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । त्यसैगरी ८–वे एड्जस्टेबल ड्राइभर सिट, लेदर अप होल्स्ट्री, क्लाइमेट कन्ट्रोल, ओआरभीएम आदि उपलब्ध छ ।
टाटा ह्यारिअरमा २.० लिटरको फोर सिलिन्डर क्र्याओटेक टर्बो डिजेल इन्जिनमा उपलब्ध छ । 

हुन्डाई

भेन्यु


यस पटकको नाडा अटो सोमा हुन्डाईले विशेष नयाँ कारको रूपमा भेन्युलाई उतार्ने भएको छ । कम्पनीले नाडाकै तयारीका रूपमा आज बिहीबार औपचारिक रूपमा भेन्युको लन्च गर्दै छ । १२ सय सीसी इन्जिन क्षमतामा उपलब्ध भेन्यु म्यानुअल अप्सनमा उत्कृष्ट एसयूभी कार हो । उक्त कारमा आधुनिक फिचर्ससहित अतिरिक्त सेवा सुविधामा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । भेन्यु पहिलो पटक जीडीआई टर्बो पेट्रोल इन्जिनमा आएको छ । जुन भारतीय बजारमा पहिलो डीसीटी अटो कार मानिएको छ । यो कार नै हुन्डाईको नाडा अटो सो विशेष कार हुने कम्पनीले जनाएको छ । 

स्यान्ट्रो


त्यस्तै हुन्डाईले नाडा अटो सोमा अर्को कार स्यान्ट्रोलाई प्रदर्शन गर्ने भएको छ । जुन कार बजारमा केही समयअघि नै आएको हो । तर गत वर्षको अटो सोमा प्रदर्शन नगरिएको स्यान्ट्रोललाई यस वर्ष नयाँ सोको रूपमा प्रदर्शन गर्न लागिएको कम्पनीले जनाएको छ ।  
स्यान्ट्रो ११ सय सीसी क्षमताको ह्याजब्याग सेग्मेन्टको कार हो । जसलाई इन्ट्रिलेभलको कार पनि भन्ने गरिन्छ । यो कार पनि यस पटकको अटो मेलाको आकर्षणको कार बन्ने देखिन्छ । 
कोना


हुण्डाईले इलेक्ट्रिक कार कोनालाई समेत यस पटकको अटो सोमा विशेष कार बनाउने भएको छ । 
कोना बजारले निकै रुचाएको र उत्कृष्ट इलेक्ट्रिक कार हो । जुन कार हुन्डाईले हालसालै मात्र नेपाल भित्र्याए हो । यो कारसमेत यस वर्षको नाडा अटो सोमा विशेष गरी प्रदर्शन गरिने भएको छ ।

फोर्ड
यस वर्षको नाडा अटो सोमा फोर्डले दुईवटा कार एक्सएलटी अटोमेटिक र इकोस्पोर्टमा थन्डर प्रदर्शन गर्ने भएको छ । यीबाहेक पनि बजारमा चलेका फोर्डका अन्य कारसमेत अटो सोमा प्रदर्शन गरिने कम्पनीले जनाएको छ । 
एक्सएलटी अटोमेटिक 


एक्सएलटी फोर्डको पिकअप सेग्मेन्टको कार हो । यो कारलाई नै फोर्डले यस पटकको नाडा अटो सोमा विशेष कारका रूपमा प्रदर्शन गर्ने भएको छ । एक्सएलटी अटोमेटिक २.३ एल टीआई–भीसीटी आई–फो इन्जिनमा उपलब्ध हुनेछ । यो कार फो ह्विल ड्राइभमा उपलब्ध हुनुका साथै अफ रोड विशेष कारका रूपमा स्थापित हुने देखिन्छ । कम्पनीले नाडा अटो सोमा यो कार विशेष हुने अपेक्षा गरेको छ । 

इको–स्पोर्ट थन्डर


थन्डर फोर्डको इको–स्पोर्टको नयाँ मोडलको कार हो । यो कार हालसालै मात्र नेपाल भित्र्याइएको छ । यो कारलाई नाडा अटो सो विशेष बनाउने फोर्डको योजना छ । 
१५ सय सीसी इन्जिन क्षमतामा उपलब्ध इको–स्पोर्ट थन्डर निकै आकर्षक र मनमोहक देखिन्छ । ५ सिट क्षमताको थन्डरले अधिकतम २३ किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ । 
निसान
निसान र ड्याट्सनका लागि नेपालको आधिकारिक वितरक पाइनियरस् मोटोकर्पले यस वर्षको नाडा अटोमा टप भेरियन्टका दुईवटा मोडल सार्वजनिक गर्ने भएको छ । निसानको टप भेरियन्टको किक्स र ड्याट्सनको टप भेरियन्टमा ड्याट्सन गो प्लस नै यस वर्ष नाडा विशेष हुने कम्पनीले जनाएको छ । 
किक्स


निसानले यस वर्ष टप भेरियन्टमा ‘किक्स’लाई नाडामा उतार्ने भएको छ । बजारमा केही समयअघि नै आइसके पनि यस पटक किक्सको टप भेरियन्ट आउने भएको हो । यो कार टप प्रिमियम अप्सनको कार हो । जुन फो के रियर क्यामेरासहित फो एयर ब्यागमा आउने छ । 
१४ सय ६१ सीसी इन्जिन क्षमतामा आउने यो कार डिजेल र पेट्रोल दुवै अपसनामा आउने कम्पनीले जनाएको छ । 
अन्यमा पहिलेकै र बजारमा आइसकेका प्रोडक्टहरु नै नाडा अटो सोमा प्रदर्शन गरिने कम्पनी जनाएको छ । 

ड्याट्सन-गो प्लस


ड्याट्सनले नाडा विशेषमा गो प्लसको टप भेरियन्टलाई उतार्ने भएको छ । पहिले पनि बजारमा गो प्लसको मोडल आइसके पनि अब आउने नयाँ मोडल टप भेरिन्टमा रहेको कम्पनीले बताएको छ । १२ सय सीसी इन्जिन क्षमतामा आउने यो कार इन्ट्री कारमा उत्कृष्ट्र बन्ने कम्पनीले विश्वास लिएको छ । 
माथि उल्लेखित चारपाङ्ग्रे सवारीको मात्र जानकारी हो । यीबाहेक पनि यस वर्षको नाडा अटो सोमा नयाँ ब्रान्ड र मोडलका गाडीहरु पनि प्रदर्शन गरिने छ । बाँकी जानकारी आउने क्रम जारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप