शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा एक महिनामै  सय जनाभन्दा बढीमा डेङ्गु देखियो

बिहीबार, ०५ भदौ २०७६, १२ : ५७
बिहीबार, ०५ भदौ २०७६

चितवन– साउन महीनामा जिल्लामा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४५३ जनामा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । 

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेङ्गुका सङ्क्रमितमध्ये ७८ जना चितवनका हुन् । तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका वडा नं १, २ र ३ मा बढी सङ्ख्यामा डेङ्गुको जोखिम देखिएको केसीले जानकारी दिए । महानगरको कमलनगर, पुलचोक क्षेत्र बढी प्रभावित रहेको उनले जानकारी दिए । 

सङ्क्रमण बढेसँगै डेङ्गुको प्रकोप फैलन सक्ने देखिएपछि कार्यालयले सबैलाई सतर्क रहनसमेत आग्रह गरेको छ । महानगरका १, २, ३, ४, १० नं वडा डेङ्गुको उच्च जोखिममा रहेको किट नियन्त्रक केसीले बताउनुभयो । यी वडामा कबाडी पसल, ग्यारेज तथा वर्कशप र होटल धेरै छन् । ती स्थानमा बढी डेङ्गुको जोखिम देखिएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए । 

आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ९५१ जनाको रक्त परीक्षण गरिएकामा ३१ जनामा सो रोग देखिएको थियो । डेङ्गु रोग एडिस एजेप्टाइ नामको पोथी लामखुट्टेको टोकाइबाट लाग्दछ । यो लामखुट्टेको टोकाइबाट बच्नसकेमा डेङ्गुको सङ्क्रमणबाट बच्न सकिने हुँदा सतर्क रहन केसीले सुझाव दिए । 

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार डेङ्गुको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, कम्मर दुख्ने, रक्तचाप परिवर्तन भइरहने, झाडाबान्ता हुने लगायतका सङ्केत देखिएका छन् । अघिल्ला वर्षमा तीन दिनमा मात्रै सङ्क्रमण देखिने गरेको भए पनि अहिले शुरुकै दिनमा सङ्क्रमण देखिने गरेको उनले बताए । 

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी हुने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको उनले बताए । साधारणतया भदौदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण जोखिम उच्च रहन्छ । तर साउन महीनामा नै धेरै सङ्ख्यामा बिरामी देखिएको हो । जिल्लामा सन् २०१०, २०१३ र २०१६ मा डेङ्गु महामारीकैरुपमा फैलिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप