बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

झरीको पर्वाह नगरी मतदाता नामावलीमा नाम दर्ता गराउनेको घुइँचो (फोटोफिचर)

आइतबार, २९ साउन २०७४, १२ : १०
आइतबार, २९ साउन २०७४

काठमाडौँ । निर्वाचन आयोगले गत साउन १ गतेबाट प्रदेशसभा र संसदीय निर्वाचनका लागि मतदाता नामावली संकलन थालेपछि भोटङ लिस्टमा आफ्नो नाम दर्ता गराएर मतदाता परिचय पत्र लिनेको भिड बढेको छ । 

उनीहरु हिलाम्मे सडक र झरीको पर्वाह नगरी लाइन बसेका हुन् । यसरी लाइनमा बस्नेमा भर्खरका युवादेखि जेष्ठ नागरिक समेत रहेका छन् । कतिपय बैदेशिक रोजगारीबाट हालै फर्किएर आएका व्यक्ति पनि छन् । उनीहरु बिहान ६–७ बजेदेखि नै लाइनमा बस्न शुरु गर्छन् ।

अहिले काठमाडौँमा रहेका तीन संकलन केन्द्रबाट आगामी सङ्घ र प्रदेश निर्वाचनका लागि देशभरिका मतदान गर्न योग्य नागरिकको नाम दर्ता, ठाउँ सार्ने र त्रुटि सच्याउने कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख चन्द्र गौतमले बताए । उनले ती ठाउँमा अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि भीड नै लाग्ने गरेको बताए । 

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय, बबरमहलस्थित जिल्ला समन्वय समिति र राष्ट्रिय सभागृहमा मतदान नामावलीमा छुट भएका नागरिकले गई फोटोसहितको मतदाता परिचय पत्र बनाइरहेका छन् । तीबाहेक साउन १६ गतेदेखि काठमाडौँ जिल्लाका १० नगरपालिकाबाट मतदाता परिचय पत्र बनाइरहेका छन् । 

जिल्ला समन्वय समितिमा ११ वटा स्थान र सभागृहमा १० वटा स्थानमा फोटोसहितको नामावली संकलन गर्ने कार्य भइरहेको छ । 

बबरमहलस्थित संकलन केन्द्रमा खट्नुभएका कार्यालयका अधिकृत शान्ति बोगटीले फोटोसहितको नामावली दर्ताका लागि सर्वसाधारणको भीड रहेको बताउनुभयो । उनले दैनिक करिब एक हजार पाँचसय मतदाताको नाम दर्ता गर्ने कार्य भइरहेको बताए । 

केन्द्रमा १७ जना कर्मचारीले बिहान ७ देखि साँझ ६ बजेसम्म फोटोसहितको नामावली दर्ता गराउने गर्नुहुन्छ । उनका अनुसार सबभन्दा बढी रामेछाप, सिन्धुली, सिन्धुपाञ्चोक, बारा, पर्सा, सर्लाही जिल्लाका अधिकांश मानिस मतदाता नामावलीमा नाम दर्ता गराउन आएका छन् । उनले दुईदेखि पाँच मिनेटभित्रमा फोटोसहितको नामावली दर्ता गराउने बताए । 

अहिलेसम्म काठमाडौँस्थित सो केन्द्रमा ६० हजारभन्दा बढीले नाम दर्ता गराएका छन् । तीमध्ये ४२ हजार काठमाडौँ बाहिरका जिल्लाका रहेको गौतमले बताए । उनका अनुसार दुई हजार पाँचजनाको ठाउँसारी र पाँचसयजनाको त्रुटि सच्याउने काम सम्पन्न भएको छ । 

साउन १ गतेदेखि मसान्तसम्म केन्द्रबाट नामावली संकलन भइरहेको छ भने साउन १६ गतेदेखि भने देशभरिका स्थानीय तहबाट पनि नामावली संकलन गर्ने कार्य थालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप