केन्द्रीय संस्करण
कला

घुम्टोदेखि प्राज्ञसम्म मिथिलादेवीको यात्रा

person explore access_timeभदौ ५, २०७६ chat_bubble_outline0
माया श्रेष्ठ

रातोपाटी

कुनै बेला जनकपुरमा मिथिलादेवी यादव घुम्टोमा मात्रै सीमित थिइन् । समाजले निर्धारण गरेको ‘बुहारी’को कर्तव्य निर्वाह गर्दै गर्दा उनको दिनचर्या बित्दथ्यो ।

१३ वर्षको उमेरमा विवाह गरेकी यादवले साढे १४ वर्ष पुग्दा पहिलो सन्तानका रूपमा छोरा जन्माइन् । कक्षा ५ सम्म अध्ययन गरेकी यादवले १३ वर्षसम्म जनकपुर चुरोट कारखानामा बालबच्चा पाल्नका लागि काम गरिन् ।

भनिन्छ नि सङ्घर्षसँग नडराउने, दुःखमा नअतालिने र आफ्नो काममा बाधाव्यवधान आए पनि निरन्तरता दिने मानिसले सफलता हात पार्छ । यो कुरा मिथिलादवी यादवमा ठ्याक्कै लागु हुन्छ । विभिन्न प्रतिकुलताको बीच घरमा कोही नभएको मौका छोपेर घरका भित्ता, आँगनमा गोबर, सिमीको पातको झोल, रातो माटो र टुकीबाट निस्किएको कालो धुवाँले चित्र कोर्ने गर्थिन् । यादव हाल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ–परिषद् सदस्य तथा लोककला विभागका प्रमुख बनेकी छन् । बाल्यकालमा माटो र गोबरले घर पोत्दापोत्दै, खेल्दाखेल्दै चित्र र्कोन सुरु गरेकी थिइन् उनले । खेल्नका लागि घरको भित्ता आँगनमा र्कोने गरेको मिथिला चित्रले स्वदेश तथा विदेशमा परिचित हुन्छु भनेर उनले कल्पना पनि गरेकी थिइनन् ।

तीन जना छोराछोरी लालनपालन गर्न कलिलो उमेरमै कारखानामा मजदुरका रूपमा काम गरेकी यादव अहिले नेपालमा मिथिला कला मात्रै हैन हिमाल, पहाड र तराईमा रहेका सम्पूर्ण जातजातिभित्रका धर्मसंस्कृति थरीथरीका चालचलनलाई कलामार्फत प्रकाशमा ल्याउनुपर्छ भन्दै समाजमा लुकेका प्रतिभालाई उजागर गर्न देशभर प्रोत्साहन दिँदै हिँडिँहरहेकी छिन् ।

घुम्टोबाट निस्किएर प्रतिष्ठानको प्राज्ञसम्मको यात्रामा आइपुग्न मिथिलादेवीलाई सहज भने थिएन । उनी ५ वर्ष हुँदा बुबाको मृत्यु भइसकेपछि आमाले अरूको घरमा काम गरेर लालनपान गरेकी थिइन् । त्यसपछि मिथिलादेवी विवाह गरेर बाराको सामान्य खेतीकिसान गर्ने परिवारमा पुगिन् । खेतीकिसान मात्र गरेर परिवार पाल्न धौधौ भएपछि उनी जनकपुर श्रीमान छोरासहित फर्किन् । ‘आमालाई बुढेसकाल लागेपछि अर्काको घरमा काम गर्न गाह्रो भयो । जीविकोपार्जन गर्न समस्या भएपछि पुनः चुरोट कारखानामा आमाले काम गर्न सुरु गरिन्,’ उनले भनिन्, ‘कारखानामा आमासँगै मैले र श्रीमान्ले पनि काम गर्न सुरु ग¥यौँ ।’

चित्रकलाको यात्रा

कारखाना घुम्न आएकी एक महिलाले काम गर्ने मजदुरलाई मिथिला चित्रकोर्न आग्रह गरिन् । माटो र गोबर खेल्ने क्रममा विभिन्न किसिमका चित्र कोर्ने गरे पनि उनलाई शुरुमा मिथिला चित्र कोर्ने आट नै आएन । ‘ती महिलाले मिथिला चित्रकला कसलाई कोर्न आउँछ भनेर सोध्दा मैले आउँदैन भनिदिएँ, उनले भनिन्, ‘मैले बनाएको चित्रसँगै काम गर्ने साथीहरूलाई राम्रो लाग्छ भन्ने मलाई थाहा थिएन । उनीहरुले नै मिथिलादेवीलाई चित्र कोर्न आउँछ भनेर ती महिलालाई भनिदिए ।’

साथीहरु र ती महिलाको आग्रहमा डराई डराई उनले पहिलो पटक ‘रेडिमेड कलर’ले रुखको चित्र बनाइन् । तर, उनमा आत्मविश्वास कम भएका कारण त्यो चित्र ती महिलालाई देखाउन मानिनन् । ती महिलाले लामो समयसम्म सम्झाई बुझाई गरेसके पछि मात्र चित्र देखाउन उनी सहमत भइन् । 

ती महिलालाई चित्र नदेखाउन नमान्नुको कारण भने यस्तो थियो । साथीहरुले राम्रो मिथिलाचित्र बनाउँछे भनिदिए तर आफूले बनाएको चित्र उनी आफैलाई मनपरेन । ती महिला र साथीहरुले जिस्क्याउँछन् भन्ने डरले चित्र देखाउन उनी असहमत भएकी थिइन् ।

घरमा सिमीको पात थिचेर हरियो रङ, चामलको पीठो पिनेर सेतो रङ, टुकी बाल्दा निस्कने धुवाँको मुस्लोलाई भाडाले ढोकेर मुस्लोबाट निस्किएको कालोलाई कालो रङ बनाई सिङकामा कपास बेरेर चित्र कोर्ने गरेकी यादवलाई रेडिमेड कलर कसरी चलाउने, ब्रस कसरी चलाउने थाहा थिएन ।

यो घटना थियो  २०४५ साल तिरको । डराई डराई बनाएको रुख चित्रले ती महिलालाई भने मनपर्यो । ती महिलाको आग्रहमा उनले अलि दिन ‘रेडिमेट कलर’ र ब्रस प्रयोग गरेर मिथिला चित्र बनाइन् ।

चुरोट कारखानामा मासिक तीन हजार रुपियाँमा कमाउने यादवलाई दिनभरी चित्र करेबापत ती महिलाले दिनको ५ सय दिने सुनाइसके पछाडि उनलाई शुरुमा त विश्वास गर्न नै गाह्रो भयो । मिथिलादेवी भन्छिन्, ‘तीन–तीन जना छोराछोरीसहित ५ जनाको परिवारलाई पाल्न पढाउन धौ–धौ भएको समयमा मिथिला चित्रकला कोरेर एक दिनमा ५ सय कमाइ हुन्छ भन्दा मेरो खुसीको सीमा नै थिएन, त्यस बेलादेखि म मिथिला चित्रकलामा रमाउन थालेँ ।’

काठमाडौँ आउन परिवारसँग गरेको संघर्ष

मिथिलादेवी पहिलो पटक हेन्डिक्र्याफ्टका सामान बोकेर काठमाडौँ छिरेकी थिइन् । ठमेलस्थित एक पसलमा जनकपुरबाट ल्याएका हेन्डिक्र्याफ्टका सामान अरू कुनै पसलमा बेच्न नपाउने सर्तमा काम गर्ने अवसर पाइन् । कामको अडर लिन जनकपुरबाट काठमाडौँ जाने आउने गर्दा घरपरिवार र समाजबाट विभिन्न थरीका अवरोधहरु आउन थाल्यो । ‘बुहारी मान्छे भएर कहिले काठमाडौँ कहिले जनकपुर गर्छे भनेर समाजभरी कुरा गर्न थाले,’ उनले भनिन्, ‘यसको चालामाला राम्रो छैन, शिरमा घुम्टो पनि राख्दिन, साना छोराछोरी छाडेर एक्लै एक्लै कताकता हिँड्छे भन्न थालियो ।’

यादव काठमाडौँ आउनेजाने गरेका उनका श्रीमानलाई समेत मन परेको थिएन । जनकपुरमै बसेर चुरोट कारखाना वा अर्कैको घरमा गएर काम गर्न भन्दै उनका श्रीमानले काठमाडौँ नजान दबाब दिन थाले ।

‘गाउँभरी जता गए पनि तेरै कुरा सुनाउँछन्, यसरी आइमाई भएर जान्ने पल्टिएर काठमाडौँ आउनेजाने गर्दा राम्रो हुँदैन भन्दै उनका श्रीमानले चित्र नकोर्न दबाब दिन थाले । घरबाहिर निस्किएर कलाकारितामार्फत परिवार पाल्ने जोहो गरेको समाजका शिक्षित भनिएका समेतलाई मनपरेको थिएन । घरपरिवार र समाजको दबाबका कारण जनकपुरमा बसेर अरूको घरमा काम गर्ने कि काठमाडौँ गएर आफ्नो कला बेच्ने भन्ने कुरामा उनी दोधारमा परिन्  ।

एकातर्फ उनको परिवार र समाजको दबाब थियो भने अर्कोतिर मिथिला चित्रकारिताबाट नामसँगै दाम कमाएर छोराछोरीलाई पढाइसँगै लालनपालन सहज हुँदै गएको थियो । प्रायः सफलताको शिखरमा पुग्ने मानिसहरु कसले के भन्छ भन्दा पनि नकारात्मक कुरालाई भुलेर प्रगतिको बाटोतिर लम्कन्छन् । मिथिलादेवीले पनि आफ्नो श्रीमान् र समाजको कुरा नसुनी आफ्नो कलाकारितालाई निरन्तरता दिन काठमाडौँ पसिन् ।

त्यो समयमा उनले गरेको काठमाडौँ आउने निर्णयले कलाकारिताको क्षेत्रमा पछिफर्किएर हेर्न कहिल्यै परेन । सुरुमा अरूले दिएको ‘अडर’ अनुसार मिथिलाचित्र कोर्दै गइन् । केही समय पछाडि आफ्नै संस्था खोलेर ४५ जना कर्मचारी राखेर काम गर्न थालिन् । पछि उनलाई मिथिलाचित्र बनाउने काममा छोराछोरीले पनि साथ दिएका कारण उनलाई अगाडि बढ्न सजिलो भयो ।

मिथिलादेवीको जीवनले दुःखबाट सुखतर्फ कोल्टे फेर्दै मात्र के थियो, उनको जीवनमा ठूलो बज्रपात पर्यो । उनको जेठा छोराको २१ वर्षको कलिलो उमेरमा मृत्यु भयो । ‘म विक्षिप्त थिएँ, लामो समयसम्म बिस्तरामै परेँ । अब केही गर्न सक्दिनँ, धेरै बाच्दिन होला भन्ने जस्ता नकारात्मक कुरा मनमा खेलिरहन्थ्यो,’ उनले भनिन्, ‘आफन्तहरुले अब अरु छोरा र छोरीका लागि तैले हिम्मत हार्न हुन्न भनेर हैसला दिन्थे । विस्तारै पुनः त्यही काममा फर्किएँ ।’ 

मिथिलादेवीको सफलता

अहिले मिथिलादेवीलाई मिथिला कलाकार भनेर नचिन्ने देशविदेशमा सायद कमै होलान् । उनले कोरेका चित्र स्वदेश मात्र नभएर विदेशसम्म पुग्छ । सुरुवाती समयमा मिथिला क्षेत्रमा समाजमा हुने असमानता, धर्मसंस्कृति, विविध विषयवस्तुहरुलाई चित्रमार्फत प्रस्तुत गर्दै आएकी उनले आजभोलि भने नेपाली समाजमा भएको सकारात्मक तथा नकारात्मक विषयलाई पेन्टिङमार्फत उजागर गर्दै आएकी छन् । उनी भन्छिन्, ‘जुन क्षेत्रमा भए पनि आफूलाई मनपर्ने कामलाई रमाएर निरन्तरता दिएको खण्डमा जसले पनि सफलता पाउन सक्छ, मैले कक्षा ५ सम्म मात्रै अध्ययन गरे पनि मेरो मिहिनेत र निरन्तरतालाई सरकारले मूल्याङ्क गरेका कारण प्राज्ञ हुन पुगेकी छु, स्वदेश तथा विदेशमा मेरो कलाकारितालाई पुगेको छ ।’

भद्रकुमारी घलेबाट ललितकला अवार्ड, ललितकला प्रज्ञा प्रष्ठिान ललितकला पुस्कार र राष्ट्रपतिबाट सुपरबल जनसेवा श्री पुस्कारसमेत उनले हात पारिसकेकी छन् ।

लोककला प्रबद्र्धन गर्न जिल्ला जिल्ला पुग्छिन् यादव

मिथिला चित्रकला स्वदेश तथा विदेशमा प्रचार प्रसार भए पनि नेपालमा भएका अन्य लोककलाहरु प्रकाशमा आएका छैनन् । नेपाल जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न राष्ट्र भनेर चिनिए पनि चित्रकारितामार्फत भने परिचित हुन नसकेको भन्दै यादव प्रदेश तथा जिल्लाहरुमा विभिन्न कार्यक्रममार्फत् जनचेतना फैलाउँदै हिँड्छिन् । ‘सबै धर्म जातजातीहरुका आ–आफ्नै कलाशैली छन्’, उनले भनिन्, लुकेर रहेका ती लोककलालाई उजागर गर्नुपर्छ ।’ अशिक्षाको भुमरीमा परेका व्यक्तिहरुले आफ्नो लोकशैलीलाई प्रस्तुत गर्न सक्ने हँुदा ती प्रतिभालाई प्रकाश ल्याउनुपर्ने उनी ठान्छिन् ।

विभिन्न स्थानमा गएर पेन्टिङसम्बन्धी तालिम दिए पनि व्यावसायिक रूपमा न्यून मात्रामा मात्र जनशक्ति बजारमा स्थापित हुने गरेको उनको गुनसो छ । ‘सरकारले लोक कलालाई मिथिला चित्रकारिता जस्तै प्रचार प्रसार गर्न आवश्यक छ,’ उनले भनिन्, ‘दुई–चार दिन मात्रै केही स्थानमा गएर तालिम दिएर हुँदैन ।’ ठाउँअनुसारको लोक कलालाई उजागर गर्न तालिमसँगै प्रचारप्रसार र ऋण दिने व्यवस्था गरेको खण्डमा धेरै जनशक्तिले रोजगार पाउन सक्ने उनले बताइन् ।

मिथिलादेवीले प्रदेशहरुमा तालिम दिने क्रममा छानिएका पेन्टिङ र पेन्टिङ गर्ने व्यक्तिहरुलाई काठमाडौँ ल्याएर कार्यशाला गोष्ठी र प्रदर्शन गर्दै आएकी छन् । ‘चित्रकलामा पनि व्यावसायिक तरिकाले जान सकिन्छ भन्ने मलाई हिजो थाहा थिएन । त्यसैले कला जानेका महिलाहरु पछाडि नपरून् भनेर र मेरो विगतलाई सम्झिएर मैले ललितकलामा आउनुभन्दा अगाडिदेखि नै कलालाई प्रदर्शन गरिदिने व्यवस्था गरिदिएकी छु ।’

स्थानीय तह, प्रदेशिक तहबाट पेन्टिङसम्बन्धी तालिम दिएर व्यावसायिक रुपमा नयाँ प्रतिभाहरुलाई अगाडि ल्याउन आवश्यक भएको उनले बताइन् । कतिपय स्थानीय तहले लोक काललाई प्रचारप्रसार गर्नका लागि संस्था नै स्थापना गरेर महिलाहरु जागरुक बनाउने काम गरिरहको उनले बताइन् ।

चित्र कोेर्ने शैलीमा परिर्वतन

उनले २०४५ सालदेखि मिथिला क्षेत्रमा भएको विभिन्न विषयलाई पेन्टिङमार्फत प्रस्तुत गर्दै आएकी थिइन् । हाल भने हिमाल, पहाड र तराईमा भएका विविध विषयहरुलाई चित्रमार्फत जनचेनता फैलाउँदै आएकी छन् ।

पहिला पहिला उनले मिथिला मानिने धर्म संस्कृति र परम्परालाई प्रस्तुत गरे पनि हाल भने उनले सबै जातजाति धर्ममा भएका कुरीतिलाई कलामार्फत व्यक्त गरेर जनचेतना फैलाउने काम गर्दै आएकी छन् । बोक्सीको नाममा गरिने दुव्र्यवाहार, हिमालदेखि मधेससम्म दाइजोका नाममा मानसिक रूपमा दिइने पीडा, शारीरिक रुपमा दिइँदै आएको पीडा र छोरा र छोरीमा गरिने असमान व्यवाहार लगायत छन् । गर्भमा छोरी भएको थाहा पाएर गरिने भ्रुणहत्याका विषयमा उनले पेन्टिङमार्फत पछिल्लो समयमा जनचेतना फैलाउँदै आएकी छन् ।

‘नेपालमा भएका विभिन्न लोक कलाहरुबाट सबै जातजाति, धर्मका नाममा भएका विकृतिलाई न्यूनीकरण गर्न आवश्यक छ । भएका लोक कलालाई पनि उजागर गर्न आवश्यक छ । हरेक धर्मसंस्कृतिमा भएका सकारात्मक कुरालाई स्वदेश अनि विदेशमा पेन्टिङमार्फत पनि जानकारी दिन सकिन्छ । जातजतिभित्रमा असमान व्यवाहारलाई पेन्टिङबाट पनि जनचेनता फैलाउन सकिने हुँदा  लोककलालाई मिथिलाकलालाई जस्तै प्रचार प्रसारमा ल्याउनुपर्छ,’ उनले राटोपाटीसँग भनिन्

मिथिला पेन्टिङको बजार खस्किँदो

२०७२ सालको भूकम्पपछाडि बजारमा मिथिला चित्रकालाको बजार खस्किँदै गएको छ । २०५१ सालमा मिथिला हस्तकला पेन्टिङ उद्योग स्थापना गरेर उनले स्थापना कालमा ४५ जनालाई रोजगार दिएकी थिइन् । पछिल्लो समय मिथिला पेन्टिङको माग क्रमशः घट्दै गएका कारण हाल १२ जनालाई आफ्नो संस्थामा रोजगारी दिँदै आएकी छन् । मिथिला चित्रकलासँगै अन्य पेन्टिङ थान्का, पौवा जस्ता चित्रहरुले पनि बजार पाउन सकेका छैनन् । पेन्टिङ किन्ने स्वदेशीभन्दा विदेशी पर्यटक बढी हुन्छन्,’ उनले भनिन्, ‘विदेशी पर्यटकहरु काठमाडौँमा विगतका तुलना कम आएको व्यापारीहरु भन्छन् ।’ सबै प्रकारका पेन्टिङलाई प्रचार प्रसार गर्न राज्यले अन्य कलाकारितालाई जस्तै साथ दिनुपर्ने उनले बताइन् ।

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...