शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थारू सम्मेलनमा नेकपाको असहमति

बुधबार, ०४ भदौ २०७६, १९ : ३७
बुधबार, ०४ भदौ २०७६

काठमाडौं– यही भदौ ७, ८ र ९ गते हुने थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ सङ्गठनले असहमति जनाएका छन् ।  नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन थारू राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारू सङ्घ जिल्ला समिति कैलालीले पत्रकार सम्मेलन गरी कार्यक्रममा सहभागी नहुने बताएका छन् । उनीहरूले भदौ ७, ८ र ९ गते हुने थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनको कार्यक्रमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै राजनीतिक उद्देश्य र आधिकारिक संस्थागत आयोजक नभएका कारण आफूहरूको संलग्नता नरहने प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

थारू राष्ट्रिय मुक्ति मोर्चा जिल्ला समितिका सचिव प्रेमबहादुर डङ्गौराले थारूवान् र थरूहट सम्मेलन सबै थारूहरूलाई एकताबद्ध गर्नुभन्दा पनि विखण्डनतिर लिने गरी कार्यक्रमको आयोजना भएको भन्दै नेतृत्वविहीन, उद्देश्यविहीन कार्यक्रममा आफूहरूको सहभागिता नरहने बताए । उनले २०७२ भदौ ७ गतेको घटनामा मुछिएका व्यक्तिको नाम बेचेर राजनीतिक फाइदा लिन खोजेको पनि बताए । 

त्यस्तै, फिरुलाल चौधरीले थारूहरूको हक, हितका लागि बनेको थारू कल्याणकारिणीको समेत सहभागिता नरहेको उक्त सम्मेलनको कुनै तुक नरहेको बताउँदै आयोजक समितिमा मनोगत रुपमा केही व्यक्तिको नाम समावेश गरेकोमा आपत्ति जनाए । थारूहरूको राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भइसकेको र यो सम्मेलन नामको मात्र सम्मेलन हुने उनले बताए । 

थरूहट/थारूवान् राष्ट्रिय सम्मेलन आयोजक समितिले यही भदौ ७, ८ र ९ गते हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । आज पत्रकार सम्मेलनमार्फत सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै समितिले सम्मेलनलाई कुनै राजनीतिकरुपमा नलिन सबैमा आग्रह गरेको छ ।

थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समितिका संयोजक मीनराज चौधरीले राज्यबाट सधैँ दमन र शोषणमा परेको थारू समुदायले राखेका जायज मुद्दामा सहमति भए पनि कार्यान्वयन नभएको उल्लेख गर्दै सम्पूर्ण थारू समुदायलाई सम्मेलन सफल पार्नका लागि सहयोग गर्न आग्रह गरेको छ । उनले विसं २०७२ भदौ ७ र ८ गतेको घटनामा बिग्रिएको सामाजिक सद्भावलाई मजबुद बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउँदै राजनीतिक विचारधाराबाट यो सम्मेलन आयोजना नगरिएको स्पष्ट पारे । 

त्यस्तै, थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनका लक्ष्मण थारूले नेपालका २५ जिल्लाबाट थारू प्रतिनिधिको सहभागिता रहने सम्मेलनलाई टीकापुरको सद्भाव बिगार्न जमघट नहुने बताउँदै सद्भाव कायमका लागि सम्मेलनको आयोजना गरिएको बताए । उनले संस्थागत तथा राजनीतिक प्रतिनिधित्वको रुपमा सहभागी हुनुभन्दा पनि थारूहरूको हक, हितका लागि सम्मेलनमा सहभागी हुन आग्रह गरे ।

समितिले कार्यक्रमको कार्यतालिकासमेत सार्वजनिक गरेको छ । यही भदौ ५ गते बृहत् सरसफाइ कार्यक्रम, ६ गते रक्तदान कार्यक्रम, ७ गते सम्मेलन उद्घाटन समारोह, ८ गते बन्दसत्र र ९ गते घोषणासभा सार्वजनिक गर्दै सम्मेलन सम्पन्न हुने जनाएको छ ।    

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप