बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा बढ्यो : चित्रबहादुर केसी

बुधबार, ०४ भदौ २०७६, १७ : ०८
बुधबार, ०४ भदौ २०७६

काठमाडौं । राष्ट्रिय जनमोर्चाले २०६२–०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भीर खतरा उत्पन्न भएको औंल्याएको छ । वर्तमान सरकारप्रतिको असन्तोषका कारण पनि गणतन्त्रप्रति विरोध बढेर जाने सम्भावना रहेको उसको ठम्याइ छ । 
पार्टीको साउन ३१ र ३२ गते बसेको केन्द्रिय कार्यसमिति बैठकले गरेको निर्णय सार्वजनिक गर्न बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनमोर्चाले यस्तो बताएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले नेपालमा राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा औंल्याए । अध्यक्ष केसीको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘कतिपय कार्यमा त्यो असफल पनि भएको छ । सरकारप्रतिको असन्तोषको कारणले स्वयं गणतन्त्रप्रति पनि विरोध बढेर जाने सम्भवाना छ ।’
कतिपय वामपन्थी दलहरुको गणतन्त्र र संविधानको विरुद्धका नीति र गतिविधिले प्रतिगमनलाई नै मद्दत पुग्ने राष्ट्रिय जनमोर्चाको विश्वास छ । जनमोर्चाले संघीयताले नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सार्वभौम सत्तामाथि नै खतरा रहेको पनि औंल्याएको छ । 
भ्रष्टाचार, नागरिकता समस्या, महँगी, करवृद्धि, तराईमा भएको शोषण, उत्पीडन, मजदुर, किसान, महिला, जनजाति, उत्पीडित जातिलगायत विभिन्न जनवर्ग र समूदायका समस्याहरु पनि विकराल बन्दै गएको केसीले बताए । 
पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता, युवक मोर्चाले नागरिकता समस्या र भ्रष्टाचार, विद्यार्थी मोर्चाले संघीयता, महँगी र करवृद्धि, किसान मोर्चाले कृषि, भूमिसुधार र तराईका जनतामाथि भइरहेका शोषण, उत्पीडन तथा डुवानका समस्या, मजदुर मोर्चाले मजदुरका समस्या, महिला मोर्चाले निर्मला पन्तको बलात्कार र हत्यासहित महिला हिंसा तथा अन्य महिला समस्या, जनजाति मोर्चाले जातीय तथा जनजातिका समस्या, समता मोर्चाले सामाजिक भेदभाव र छुवाछुतसमेतका समस्याका बारेमा संघर्ष गर्ने पनि जनाइएको छ ।
अध्यक्ष केसीले संघीयता अहिले सबैलाई भालुको कंचड भएको बताउँदै आफ्नो पार्टीले संघीयताविरोधी काम जारी राख्ने स्पष्ट पारे । ‘संघीयता विद्यार्थीको भरमा भएको हुँदा हामीले विरोधको तयारीका लागि विद्यार्थीहरुलाई मुख्य रुपमा जोड दिएका छौ, तर संविधानको विरोधमा हामी छैनौ’–उनले भने । 
संघीयताको आवरणमा नेपाललाई धर्मनिरपेक्ष बनाउने र हिन्दुराज्य बनाउने बहानामा फेरि राजसंस्था फर्काउने कार्य भएकोले यसको विरुद्ध आफूहरुको विरोधका कार्यक्रम जारी रहेको प्रस्ट पारे । हिजो मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठकमा पनि गणतन्त्रमाथि कालो बादल मडारिएको र धर्म निरपेक्षतामाथि शंका भएको कुरा नेताहरुले आँकलन गरेको समेत उनले ठोकुवा गरे । 
नेपाललाई हिन्दुराज्य बनाउने बाहानामा धर्मनिरपेक्ष बनाउने र गणतन्त्र सिध्याउने कुरामा बाह्य शक्तिको चलखेल भएको हुँदा यसमा नेपाली जनता सतर्क हुनुपर्ने कुरामा समेत उनले जोड दिए । 
कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, सचिव हिमाल पुरी, कोषाध्यक्ष ओमबहादुर पुरी र केन्द्रिय सदस्यद्धय घनश्याम न्यौपाने र लालबहादुर थापाको पनि उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप