शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको असन्तोष वेवास्ता गर्दै अमेरिकाले ताइवानलाई बेच्यो ६६ अत्याधुनिक एफ–१६ लडाकू विमान

बुधबार, ०४ भदौ २०७६, १० : ४७
बुधबार, ०४ भदौ २०७६

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानसँग भएको लडाकू विमान सम्झौतालाई औपचारिक रुपमा स्वीकृत प्रदान गरेका छन् । 

मंगबार अमेरिकाको विदेश मन्त्रालयले यसको जानकारी गराएको हो । मन्त्रालयका अनुसार यस सम्झौतामा ८ अर्ब अमेरिकी डलर रकममा ६६ वटा एफ–१६ लडाकू विमान ताइवानलाई बेचिनेछ ।  

वाशिङ्टन र बेइजिङबीच व्यापार युद्ध, हङकङजस्ता विभिन्न मुद्दामा विवाद चलिरहेको समयमा ताइवानलाई अत्याधुनिक लडाकू विमान बेच्ने खबरले दुई देशबीचको तनाव थप वृद्धि गर्ने आशंका गरिएको छ । चीनले ताइवानलाई आफ्नो शासनमा आउन बाँकी भूभागको रुपमा हेर्ने गर्छ । 

अमेरिकाले वर्षौंपछि ताइवानलाई यति ठूलो स्तरको सैन्य सामाग्री बिक्री गर्न लागेको हो । 

शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्यीङले ताइवानलाई सैन्य सामाग्री बिक्री गरेर अमेरिकाले चीनको सार्वभौमसत्ता कमजोर बनाउने खोजेको आरोप लगाइन् । 

‘चीन यस कदमको कडा रुपमा विरोध गर्छ,’ हुवाले भनिन् । उनले अमेरिकाले ताइवानसँगको अत्याधुनिक लडाकू विमान सम्झौतालाई रद्द गर्नुपर्ने र ताइवानसँग अन्य कुनै पनि सैन्य सम्झौता गर्न नहुने बताइन् । 
‘अमेरिकाले हातहतियार विक्रि रोकेन भने उसले पछिका सम्पूर्ण परिणामको भागिदार हुनुपर्नेछ,’ हुवाले चेतावनीपूर्ण भाषामा भनिन् । 

अमेरिकामा भने सम्झौताको पक्षमा अक्सर धेरै मुद्दामा नमिल्ने दुवै प्रमुख दल एक ठाँउमा उभिएको छन् ।

‘ताइवानलाई एफ–१६ बेचेर अमेरिकाले इण्डो–प्यासिफिक क्षेत्रको सुरक्षा र लोकतन्त्रको लागि प्रतिबद्ध रहेको बलियो सन्देश दिएको छ,’ डेमोक्रेटिक सांसद एलिओट एन्जल र रिपब्लिकन पार्टीका सांसद माइकल म्याकोलले अघिल्लो हप्ता जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ । 

‘चीनले त्यस क्षेत्रमा सैन्य आक्रमकता वृद्धि गराइरहदाँ, हामीले विश्वभरी रहेका आफ्ना मित्रको सहयोगका लागि सकेको सबै गर्नुपर्छ ,’ सोही वक्तव्यमा भनिएको छ । 

अघिल्लो महिना पनि  ट्रम्प प्रशासनले ताइवानसँग २.२ अर्ब अमेरिकी डलरको छुट्टै हातहतियार सम्झौता गरेको थियो । त्यस अन्तर्गत १०८ वटा तोप र एकठाँउबाट अर्को ठाँउ सार्न मिल्ने विमान–झार्ने मिसाइल बेचेको थियो । 

सन् २०१० यता मात्र अमेरिकाले ताइवानलाई १५ अर्ब अमेरिकी डलर बराबरको हतियार विक्रि घोषणा गरिसकेको छ । अमेरिकाले ४० वर्ष पुरानो ‘ताइवान रिलेसन एक्ट’ अन्तगर्त ताइवानलाई हतियार बेच्छ । 

पछिल्लो समय चीनको सैन्य सामर्थमा उलेख्य वृद्धि भइरहेको अवस्थामा ताइवानको प्रतिरक्षा क्षमता बढाउन आवश्यक भएको अमेरिकामा चर्चा चल्ने गरेको छ । चीनले ताइवानलाई आफ्नो शासनमा आउन बाँकी भू–भाग बताउदैं समय अनुकुल हुनासाथ त्यस भूभागलाई आफ्नो शासनमा ल्याउने बताउदैं आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप