मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतोले राजपालाई गुमराहमा राखेपछि वार्ता समिति नै विघटन गर्ने तयारी

बुधबार, ०४ भदौ २०७६, १० : ३२
बुधबार, ०४ भदौ २०७६

काठमाडौँ । समाजवादी पार्टीसँगको एकीकरणलाई लिएर राष्ट्रिय जनता पार्टी, नेपालमा विवाद उत्पन्न भएको छ । पार्टी एकता पहिले कि महाधिवेशन पहिले भन्ने विषयमा पार्टीमा विवाद देखिएको हो ।

राजपा नेपाल अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारी उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्ने अडानमा छन् भने राजपा नेपालका अध्यक्षमण्डका संयोजक राजकिशोर यादव, अध्यक्षमण्डलका सदस्यद्वय अनिल कुमार झा र महन्थ ठाकुर पार्टीको महाधिवेशन सम्पन्न गरेर एकीकरण प्रकृयामा जाने अडानमा छन् ।

यही विवादको कारण अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा रहेका वार्ता समिति नै भङ्ग गर्ने निष्कर्षमा पार्टी पुगेको छ । वार्ता समितिका संयोजक रहेका महतोले समाजवादी पार्टीसँग वार्ता गर्ने तर त्यसको जानकारी पार्टीलाई नदिने गरेपछि पार्टीले वार्ता समिति नै भङ्ग गर्नुपर्नेे निष्कर्ष निकालेको हो ।

स्रोतका अनुसार महतो समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुसँग एकीकरणका बारेमा दिनहुँ जसो छलफलमा छन् । तर, पार्टीले त्यसको बारेमा जानकारी माग्दा ‘केही पनि भएको छैन’ भनेर अन्योलमा राख्ने गरेका छन् । राजपा नेपालका एकजना महासचिवले रातोपाटीसँग भने, ‘राजेन्द्र महतोजीका कारण पार्टी एकीकरणको प्रकृया विवादमा फँसेको छ । उहाँले समाजवादी पार्टीका नेताहरुसँग दिनरात छलफल गर्नुहुन्छ, त्यो कुरा मिडियामा पनि चुहाउनु हुन्छ तर पार्टीले सोध्दा एकीकरणको कुनै प्रगति भएको छैन भन्नुहुन्छ ।’ महतोले पार्टी र पार्टीका कार्यकर्तालाई गुमराहमा राखेको ती महासचिवले दावी गरे ।


राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले केही दिन पहिले मधेशी पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा भनेका थिए, ‘एकीकरणको बारेमा राजेन्द्र महतोसँग आफूले सोध्दा केही पनि भएको छैन, एकीकरणको नाममा एक कप चिया पनि खाएको छैन भन्नुहुन्छ ।’

तर,  महतोले उपेन्द्र यादवसँग पटक–पटक विभिन्न ठाउँमा छलफल गरिसकेका छन् । महतो आफैले पनि सञ्चारकर्मीसँग वार्ता र छलफल सकारात्मक रुपमा भइरहेको तर ठोस प्रगति केही नभएको प्रतिकृया दिएका थिए । तर, उनले पार्टीको बैठकमा भने ‘खासै छलफल नभएको’ जानकारी गराएका थिए ।

यता, समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया दुवै दलको बीचमा सकारात्मक छलफल भइरहेको र एकीकरणको नजिक नजिक पुगिसेको बताउँछन् । यद्यपी सबै कुरा नटुङ्गोमा नपुगेसम्म प्रगतिको कुनै अर्थ नरहने उनको भनाई छ ।

बैठकको एजेण्डा

राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले सोमबार अध्यक्षमण्डलको बैठक बोलाएका थिए । बैठकका लागि महाधिवेशन, सांगठनिक र  राजनीतिक विषय गरी तीनवटा एजेण्डा तय भएको थियो । तर राजेन्द्र महतो आफै ढिलो आउनुका साथै शरतसिंह भण्डारी उपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले भने, ‘एकीकरणका लगायतका एजेण्डामा छलफलका लागि बैठक बोलाएका थियौँ तर वार्ता समितिका संयोजक (राजेन्द्र महतो) नै आइ दिनुभएन । शरदजी बर्दिबासबाट आउँदै छु बाटोमा छु, भन्नुभयो तर आउनु भएन त्यही भएर बैठक स्थगित भयो ।’ 

बैठक ११ वजेका लागि बोलाएको थियो । ११ वजे राजकिशोर यादव र अनिल झा पार्टी कार्यालयमा पुगेका थिए । महन्थ ठाकुर सिंहदरवारस्थित अर्थ समितिको बैठकमा थिए । उता, त्यही समयमा राजेन्द्र महतो र शरतसिंह भण्डारीको छुट्टै छलफल चलिरहेको थियो । तर, भण्डारी आफू काठमाडौँ नरहेको भन्दै पार्टीलाई ढाँटेको राजपा नेपालका एक शीर्ष नेताले रातोपाटीलाई बताए । दुई नेताबीच छलफल सकिएपछि महतो ३ वजेतिर मात्र पार्टी कार्यालय आएका थिए । भण्डारी अनुपस्थित भएपछि बैठक नै बसेन ।

बैठकले महाधिवेशनका लागि स्थान तय गर्ने, महाधिवेशनका लागि व्यवस्थापन समिति, आर्थिक समिति, राष्ट्रिय, अन्तराष्ट्रिय अतिथि समन्वय समिति, विधान÷घोषणापत्र तथा दस्तावेज लेखन समिति, प्रचार प्रसार समिति गठन गरी त्यसको जिम्मेवारी बाँडफाँड गर्ने तयारी थियो । तर, नेताहरु जानीजानी अनुपस्थित भइदिए ।

बैठकमा समाजवादी पार्टीसँग भइरहेको वार्ताको विषयमा बाहिर आइरहेको कुराको बारेमा पनि छलफल गर्ने एजेण्डा थियो । वार्ता सकारात्मक रुपमा अगाडि बढेको छैन भने वार्ता समिति भङ्ग गर्ने र अध्यक्षमण्डलका सदस्यलाई जिम्मेवारी बाँडफाँडको गर्ने लगायतको एजेण्डा थियो । यसबाहेक लाल आयोगको बारेमा सञ्चारमाध्यममा आएको विषयमा पार्टीको धारणा, संविधान संशोधन लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट, संसदमा पार्टीको अगामी भूमिका, बाढी विपद लगायतका विषयमा छलफल गर्ने पनि भनिएको थियो । तर अन्त्यमा बैठक स्थगित भयो । मङ्गलबार फेरि नेताहरुको व्यस्तताका कारण बैठक बस्न सकेन ।

महतोलाई किन हतारो ?

पार्टीको महाधिवेशनपछि राजपा नेपालमा एकल अध्यक्ष प्रणालीमा पार्टी जाने निश्चित भएको छ । त्यो कुरा विधानमै उल्लेख गरिसकेको छ । अगामी महाधिवेशनबाट लगभग महन्थ ठाकुर अध्यक्ष बन्ने निश्चित भएको छ । अन्य नेताहरुको व्यवस्थापन कसरी गर्ने निश्चित भएको छैन । त्यही कारण महतोले आफूलाई व्यवस्थापन गर्न समाजवादी पार्टीसँग एकीकरण गर्न हतार गरेका हुन् ।

त्यहाँ चारजना अध्यक्ष राख्ने र त्यसमा आफू चौथो नम्बरका अध्यक्ष हुने लगभग उनले तय गरिसकेका छन् । एक नम्बरमा महन्थ ठाकुर, दोस्रो नम्बरमा डा.बाबुराम भट्टराई, तेस्रो नम्बरमा उपेन्द्र यादव र चौथो नम्बरमा राजेन्द्र महतो रहने विषयमा अनौपचारिक छलफल भएको समाजवादी पार्टी स्रोतले जनाएको छ । अध्यक्षमण्डलका फोरमबाट दुईजना र समाजवादी पार्टीबाट दुईजना रहने छन् । सो एकीकृत पार्टीमा महेन्द्र राय यादवलाई संसदीय दलको नेता बनाउने पनि छलफल भइरहेको छ भने शरतसिंह भण्डारीलाई पनि उपयुक्त स्थान दिने छलफल भइरहेको स्रोतले जनाएको छ ।

चारजनाको अध्यक्षमण्डलपछि वरिष्ठ नेता र उपाध्यक्षहरु बनाएर सबै नेतालाई व्यवस्थित गर्ने तयारी रहेको समाजवादी पार्टीका एकजना वरिष्ठ नेताले बताए ।

एकीकरणको प्रगतिबारे जिज्ञासा राख्दा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले एकीकरणको कुरा आफूले सञ्चारमाध्यमबाट मात्र थाहा पाएको बताउँदै भने, ‘पार्टीले जिम्मेवारी दिएको व्यक्तिबाट केही जानकारी आएको छैन ।’ यही विषयमा छलफल गर्न संयोजक यादवले बैठक बोलाउँदा नेताहरु अनुपस्थित भएको कारण बैठक बस्न नसकेको उनले जानकारी दिए ।

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप