मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जयशंकर आउनुअघि एक टोली नेपाल आइपुग्यो

मङ्गलबार, ०३ भदौ २०७६, १९ : ३५
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं– भारतीय विदेश मन्त्री एस.जयशकंर नेपाल आउनुअघि मन्त्रालयको एउटा टोली नेपाल आइपुगेको छ ।  

नेपालस्थित भारतीय दूतावासमा डिसिएम रहिसकेका पीयुष श्रीवास्तवको नेतृत्वमा एक टोली आज नेपाल आइसकेका छन् । उनका साथमा मनसिंह, निरजा एडिडाम, शशिभूषण शुक्ला लगायत विभिन्न मन्त्रालयका प्रतिनिधिहरु रहेका छन् । 

विदेशमन्त्री जयशंकर नेपाल भारत–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोली भदौं ४ गते ११ वजेट ५५ मिनेटमा एयर इण्डियाबाट उनी नेपाल आउन लागेका हुन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेका मन्त्री जयशंकर नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, शेरबहादुर देउवा, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ । 

भदौ ४ गते आयोगको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिवा भोज दिनेछन् । त्यसपछि विदेश मन्त्रीले उच्चस्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

नेपालस्थित भारतीय दूतावासले सोहीदिन रात्री भोज दिनेछ । जसमा प्रमुख राजनीतिक दलका शीर्षस्थ नेतालाई बोलाएको छ । त्यहाँ सामूहिक तथा एक्लाएक्लै भेटघाट हुने बताइएको छ । उनी भदौं ५ गते बिहानै भारत फर्किने कार्यक्रम रहेको भारतीय दूतावास स्रोतले जनाएको छ । 

विदेश मन्त्री भएलगतै नेपाल भ्रमणमा आउने कार्यक्रम थियो तर यहाँ तरकारीमा विषादी परीक्षण, आइफा अवार्ड र क्लिन फिड लगायतको विवाद चलिरहेको कारण कार्यक्रम रद्द गरेको थियो । 

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आएर फर्केपछि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले विदेश मन्त्री जयशंकरलाई भेटेका थिए । राजदूत आचार्यले भेटेपछि विदेश मन्त्री जयशंकरको नेपाल आउने तय भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप