मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरबाटोले जोड्दै: जोमसोम– तिलिचो

मङ्गलबार, ०३ भदौ २०७६, १६ : ५५
मङ्गलबार, ०३ भदौ २०७६

पोखरा– तिलिचो पुग्ने पर्यटक तिलिचोबाटै किन फर्के ? एक–दुई दिनको बसाई लम्ब्याएर मुस्ताङ किन झरेनन् ? किनकि न बीचमा बस्ती थियो । न सडकको सुविधा नै सहज । बीचमा पर्ने घना जंगल र हिँउ चितुवाको जोखिम पनि उत्तिकै थियो ।  तर, अब मुस्ताङदेखि तिलिचोसम्म मोटरबाटै ढुक्कसँग आउजाउ गर्न पाइने भएको छ । यसै आर्थिक वर्षमा जोमसोम–तिलिचो (बेसक्याम्प) मोटरबाटोले जोडिने भएको छ । घरपजोङ गाउँपालिका ५ ठिनीका वडाध्यक्ष वीरेन्द्र थकालीका अनुसार जिल्ला विकास समिति र संसद विकास कोषको संयुक्त लगानीमा मुस्ताङदेखि तिलिचो मोटरबाटोले जोडिँदै छ । 

यसअघि पनि आजभन्दा ५,७ वर्षअघि जोमसोमदेखि ठिनी हुँदै मनाङ (तिलिचो बेसक्याम्प) सम्म मोटरबाटो जोड्ने योजनाअनुसार काम अघि बढेको थियो । सविकुमार थकालीको अध्यक्षतामा बनेको उपभोक्ता समितिले मोटरबाटो निर्माणको काम थालेको थियो । पछि काम बीचैमा रोकिन पुग्यो । ‘स्थानीय तहको निर्वाचनपछि काम फेरि सुरु भएको छ,’ उनले भने, ‘बीचमा केही १–२ वर्ष ग्याप पनि भयो ।’ 

जोमसोमदेखि तिलिचो मोटरबाटोको ७ किलोमिटर निर्माण कार्य सकिइसकेको उनले जानकारी दिए ।  ‘पिपिथाङसम्म बाटो पुगिसकेको छ,’ उनले भने, ‘अब त्यहाँदेखि उता नयाँ बाटो थप गर्ने तयारिमा छौं ।’ बजेटको अभावमा त्यति गतिलो काम नभएको उनले सुनाए । ‘खासै गतिलो काम पनि भएन, त्योबेला बजेटको पनि अभाव थियो । फेरि, त्यो बनिसकेको बाटो स्तरोन्नति गछौं,’ उनले भने । तिलिचो बेसक्याम्प (नमखु)सम्म बाटो पु¥याउन कुनै समस्या नरहेको उनले सुनाए । 

जोमसोमदेखि तिलिचो बेसक्याम्प सरदर १५ किलोमिटरको दूरीमा पर्छ । अघिल्लो वर्षमा पूर्वाधार विकास अन्तर्गत प्रदेश सरकारले ५० लाख बजेट छुट्याएको थियो । उनका अनुसार प्रदेश सरकारले यो आर्थिक वर्षमा ६५ लाख छुट्याएको छ । सडक स्तरोन्नतिको काम ठिनीबाटै सुरु हुने छ । नयाँ थपको काम पिथाङबाट । बेसक्याम्प नपुग्दै तचिह्यङ (खोला) मा बेलिब्रिज हाल्नुपर्ने वडाध्यक्ष थकालीले सुनाए । 

जोमसोमबाट हिँडेरै तिलिचो पुग्ने हो भने हिँड्न सक्ने मान्छे एकै दिनमा पुग्न सक्छन् । उनका अनुसार नयाँ मान्छेको लागि ३, ४ दिन लाग्न पनि सक्छ । ‘पहिलो दिन बेसक्याम्प (नमखु) पुगेर बास बस्ने । दोस्रो दिन ताल पुगेर बेसक्याम्प फर्किने,’ उनले भने, ‘तेस्रो दिनमा जोमसोम फर्कन सकिन्छ ।’ 

मनाङबाट धेरै जान्छन् 
जति पनि पर्यटक तिलिचो पुग्छन् । उनीहरु मनाङबाटै जान्छन् । जोमसोम हुँदै वर्षमा १५, २० जना मात्रै जान्छन् । त्यो पनि चैत–वैशाखमा । उस्तै परे आफूसँग साधन नभए  तातोपानी पनि खान पाइन्न् । ठिनी नझरेसम्म हिउँचितुवा पाइने ठाउँ भएकाले जोखिम पनि उत्तिकै छ । 

प्रचार–प्रसारको कमी भो 

त्यतिबेला होटल खुलेको भए पर्यटक बढ्ने उनी सुनाउँछन् । ‘न टि हाउस छ । न होटल,’ उनले भने, ‘आफूसँग साधन नभए त तातो पानी पनि खान पाइन्न । अनि कसरी आओस् त पर्यटक ?’  तर, मनाङ हुँदै तिलिचो पुग्दा यी सबैको सहज सुविधा छ । तिलिचोलाई तिर्थस्थलको रुपमा पनि लिन सकिने हुनाले यसबाट पर्यटक बढाउन सकिने उनी थप्छन् । ‘प्रचार प्रसार पनि भएन,’ उनले भने, ‘नत्र त तिलिचो पुग्ने पर्यटक १५ किलोमिटरको दुरी छ । मुस्ताङ झरि हाल्छ नि !’

मनाङ र मुस्ताङको सिमानामा पर्ने मेसोकन्तोपास, तिम्चि लगायतका क्षेत्र प्रचार प्रसारको कमीले ओझेलमा परेको उनी सुनाउँछन् । पर्यटन प्रबद्र्धन गर्न सके मेसोकन्तोपास थोरङपासभन्दा राम्रो बनाउन सकिने उनले बताए । तिम्चिबाट मुक्तिनाथ पनि देख्न सकिन्छ । तिलिचो बेसक्याम्प (नमखु)मा पौवामा बस्न मिल्छ । होटलको सुविधा भने छैन । 

तिलोचो जोमसोम मोटरबाटोले जोडिएपछि २ घण्टामा बेसक्याम्प पुग्न सकिन्छ । बेसक्याम्पबाट ३ घण्टा हिँडेपछि तिलिचो पुगिने वडाध्यक्ष थकालीले सुनाए ।  उसो त पञ्चायतकालमा घडेरी दिएर पनि बस्ती बिस्तार गर्ने योजना बनेको थियो । जोमसोमदेखि तिलिचो जाने बाटोको बीचमा । साबिकको जोमसोम पञ्चायतको निर्णय अनुसार १० बाई १५ फुटको घडेरी दिएर बस्ती बसाउन सुरु गरिएको थियो । २०४०/४१ तिर ।

वडाध्यक्ष थकालीकाअनुसार पछि प्रधानपञ्चकै विरोधमा सो काम बीचैमा रोकियो । त्यतिबेला सोहनलाल थकाली प्रधानपञ्च थिए । ‘कटुवालको प्रथा थियो,’ उनले भने, ‘सबैले थाहा पाएर जग्गा बाँड्ने सहमति भयो । पछि प्रधानपञ्च आएर मलाई थाहा नदिई निर्णय गर्ने भनेर बीचैमा रोक्नुभयो ।’ प्रधानपञ्चले रोक नलगाएको भए यतिबेला होटल तथा बस्ती बिस्तार भएर जोमसोमदेखि तिलिचो जाने पर्यटक पनि बढ्दै जाने उनले सुनाए । ‘प्रधानपञ्चले त्यतिबेला रोक नलगाएको भए पर्यटक धेरे नै बढ्थे,’ उनले भने । 

जोमसोममा रिङरोड 
मुस्ताङका पर्यटकीय स्थलहरु रिङरोडले जोडिने भएका छन् । ठिनी, ढुम्बा ताल, छैरो, मार्फा, स्याङ हुँदै जोमसो रिङरोडले जोडिने भएका हुन् । वडाध्यक्ष थकालीका अनुसार यो आर्थिक वर्षमा १० किलोमिटरको टेन्डर भइसकेको छ । पहिलो चरणमा ५ किलोमिटर कालोपत्रे र ५ किलोमिटर ग्राभेल गरिने उनले सुनाए । यसले पर्यटन प्रबद्र्धनमा थप टेवा पु¥याउनेमा उनी विश्वस्त छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप