शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनताले जानकारी पाउनुपर्छ, विज्ञप्ती निकाल्नुपर्छ : डा. दिक्षित

मङ्गलबार, ०३ भदौ २०७६, १५ : ५३
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौँ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले डा. दिक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको बारेमा नेपाली जनताले यथेष्ट जानकारी पाउनुपर्ने धारणा राखेका छन् ।

राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘केपी ओली दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री हो । उहाँ त सर्वेसर्वा हो । उहाँ विरामी भएर सिंगापुर जानुभयो । फेरि जाँदै हुनुहुन्छ । उहाँको स्वास्थ्यको बारेमा जनताले थाहा पाउनुपर्छ ।’

दिक्षितले ओलीजी नभए मुलुकमा अस्थिरता उत्पन्न हुनेपनि बताए । उनले भने,‘उहाँको स्वास्थ्यको बारेमा विज्ञप्ती निकाल्नुपर्दछ । जनताले जानकारी त पाउनुपर्यो नि । हुन त उहाँ औषधीको मात्रा मिलाउन फेरि जान लाग्नुभएको भन्ने कुरा आएको छ । अहिले ईन्टरनेटको जमाना छ । भाईबर छ । यसबारेमा जानकारी चाहियो । उहाँको स्वास्थ्य अवस्थाबारे विज्ञप्ती चाहियो । यो त हाम्रो हकको कुरा हो । उहाँको पनि सुचना दिनु दायित्व हो । उहाँको अगाडिको भविष्य के हो ? यसबारेमा जानकारी नदिनु उहाको टिमको गल्ती हो ।’

फरक प्रसङ्गमा भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले बहुमत ल्याएको र मोदी नेपालको असल मित्र भएकोले उनको मित्रतालाई नेपालले समात्न सक्नुपर्ने धारणा राखे । उनले भने,‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ ।’

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउन लागेकोले उनको भ्रमणको बेला नेपालले भीख माग्न नहुने दिक्षितको सुझाव छ । उनले भने,‘आजसम्म भएका सम्झौताहरु के कति कारणले कार्यान्वयन भएनन् ? यी विषयमा गम्भिर समिक्षा हुनुपर्छ ।’ उनले संयुक्त बैठकमा हाईड्रोदेखि ईरिगेशनसम्मका कुरा अघि बढ्नुपर्ने पनि धारणा राखे ।

उनले बाढीले नेपाल र भारत दुवै देशका जनता पीडित बनेको सुनाउँदै यो समस्याको दिर्घकालिन समाधान खोज्नुपर्ने बताए । उनले भने,‘दुवै देशका जनतालाई हित हुने कुरा गर्नुपर्छ । खुल्ला सिमानाका समस्या छन् । कष्टममा नेपाली जनतालाई दुःख दिने काम भएका छन् । दशैं आउन थालेको छ । नेपालीहरुको बोर्डरमा सामान लुट्ने, पैसा लुट्ने काम भएका छन् । त्यसैले विहार, युपी, बंगालमा नेपालीहरुले दुःख नपाउन् ।’

दिक्षितले भारतले कश्मिरमा चालेको कदमबारे नेपालले कुरै नगर्ने भनेर परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले अभिव्यक्ति दिएको भन्दै त्यसमा आपत्ति जनाए । उनले भने,‘भारत नेपालको गाढा मित्र हो । हामी ओपन हुनुपर्छ । यस्तो मामिलामा कुरै गर्दैनौं भन्नु गलत हो ।’

पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिटलरको संज्ञा दिँदा त्यो गलत हो भनेर नेपालले भन्न सक्नुपर्नेथियो भन्ने उनको भनाई थियो । दुवै देश सार्कको सदस्य राष्ट्र भएकोले यो क्षेत्रमा शान्ति कायम गर्नु नेपालको पनि दायित्व रहेको दिक्षितले उल्लेख गरे । ‘तर, यस्तो विषयमा हामी बोल्दैनौं भनेर हाम्रो मन्त्रीले भन्नुभयो, हाम्रो मन्त्रीको जिब्रो पनि विचित्रको छ’–उनले गुनासो पोखे ।

भारतमा मोदी दोस्रो कार्यकालको लागि पाँच वर्षको प्रधानमन्त्रीको रुपमा आएकोले नेपालले भारतसँग ठूलो फाईदा लिनसक्ने उनको भनाई छ । उनले भने,‘भारतसँग हाम्रो हजारौं वर्षको मित्रता हो भनेर त हामीले भन्छौं तर यो सरकारले व्यवहारमा त्यस्तो देखाएन् ।’

भारतले अहिले ‘डिजिटल युग’मा ठूलो फड्को हानेको पनि उनले सुनाए । ‘भारतबाट नेपालले धेरै विषयमा फाईदा लिनसक्छ’–उनले थपे,‘चीनभन्दा पनि हाम्रो भारतसँग गाढा सम्बन्ध छ । हुन त हामीले चीनसँग पनि फाईदा लिने प्रशस्तै आधार र ठाउँ छन् । भारतसँग हाम्रो खुल्ला सिमा भएकाले अलिक बढि फाईदा लिन सक्छौं ।’

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा नेपाल सरकारले दया गरेर केही पनि माग्न नहुने उनको धारणा छ । उनले भने,‘जयशंकर अत्यन्तै खारिएका र अनुभवी कुटनीतिज्ञ हुन । उहाँ आउनुभन्दा अघि हाम्रो परराष्ट्रमन्त्रीले कश्मिरको मामिलामा हामी बोल्दैनौं भनेर नचाहिने काम गर्नुभयो ।’ उनले भारतीय विदेशमन्त्रीलाई नेपालले राम्रो स्वागत गर्नुपर्ने पनि सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप