बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

मङ्गलबार, ०३ भदौ २०७६, ११ : ५७
मङ्गलबार, ०३ भदौ २०७६

खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोत्तल बन्द गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमअनुसार गाउँकार्यपालिकाले उक्त निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले जानकारी दिनुभयो । आउँदो पुस १६ गतेदेखि लागू हुने गरी खुम्बु क्षेत्रभित्र ३० माइक्रोन्सभन्दा कम तौलका प्लाष्टिक र पेय पर्दाथका प्लाष्टिकजन्य बोतललाई निषेध गरिएको छ । गाउँपालिकाले तोकेको समयभन्दा अगाडि त्यस क्षेत्रका नागरिकलाई पाँच प्रकारको झोला वितरण गर्ने जनाएको छ ।

मानवीय क्रियाकलापका कारण जलवायुमा प्रतिकूल असर परेको, हिमालमा हिउँ सुक्दै जान थालेको तथा  जनस्वास्थ्यमा समेत असर पर्ने देखिएकाले प्लाष्टिक निषेध गरिएको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । प्लाष्टिक नकुहिने र जलाउँदासमेत वातावरणसँगै मावन स्वस्थ्यमा समेत असर गर्ने भएकाले निषेध गरिएको प्रवक्ता शेर्पाको भनाइ छ । 

उक्त गाउँपालिकाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौँ हिमाल रहेका छन् । यही हिमालका कारण यस गाउँपालिकामा वर्षेनी ५० हजारभन्दा बढी पर्यटक खुम्बु आउने गर्छन । विश्व सम्पदा सूचीमा रहेको सगरमाथासमेत रहेको सो गाउँपालिका पर्यटकीय हिसाबले अति महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा हुने हरेक क्रियाकलाप पर्यावरणमा असर नपर्ने खालको हुनुपर्ने सरोकारवालको सुझाव छ ।
 
गाउँपालिका केन्द्रमा यस वर्षदेखि सडक सञ्चालन गर्ने गरी काम भइरहेको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले बताए । उनले भने, “सडक निर्माण गर्दा पनि हामी वातावरणलाई ध्यान दिन्छौँ ।” वातावरण संरक्षण गर्न नसकेको खण्डमा यस क्षेत्रको पर्यटनमा समेत नकरात्मक असर पर्ने उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप