शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानवासी नेपाली : फेस्टिवलको तयारीमा जुट्दै

आइतबार, २९ साउन २०७४, ०९ : २०
आइतबार, २९ साउन २०७४

जापान - अतिथि देवो भवः’ भन्ने मूल नाराका साथ गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०, जापानले दुई वर्षअघि नेपाल फेस्टिवल मेला गर्दा लागेको १३ लाख जापानी येन गतवर्ष उठाउन खोज्दा उल्टै २० लाख येन ऋण थपियो । ऋण थुप्रिए पनि आयोजक थप जिम्मेवारी लिन तयार भए । 

सक्रिय सबै सङ्घ, संगठनमा आबद्ध पदाधिकारीलाई जिम्मेवार बनाएपछि टाढिएकाहरु उत्साहका साथ नेपाल फेस्टिवलको प्रचारप्रसार गरिरहेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले भदौ १० र ११ गते टोकियोको उएनो पार्कमा १०औँ नेपाल फेस्टिवल हुन लागेको हो । 

मेला आयोजक गैरआवासीय नेपाली सङ्घलाई सक्रिय चार दर्जनभन्दा बढी सङ्घसंस्था र जापानस्थित नेपाली राजदूतावासले पनि सघाएका छन् । आयोजकका अनुसार नेपाल फेस्टिवलको तयारीमा जापानवासी नेपाली एकजुट भएर लागेका छन् । 

आयोजक गैरआवासीय नेपाली सङ्घ एनआरएनए जापान अधिवेशन र नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेकाहरु प्यानल बनाएर चुनावी मैदानमा उत्रिए पनि उत्साहजनकरुपमा फेस्टिवल सफल बनाउन भन्दै लागिपरेका छन् । 

उनीहरुले टोकियो आसपासका विभिन्न सहरमा जाने पोस्टर पम्प्लेटमार्फत जापानी नागरिकलाई नेपाली वस्तुको पहिचान र पर्यटकीय क्षेत्रबारे जानकारी दिने कामलाई तीव्र पारेका छन् । 

सङ्घका अध्यक्ष सुदन थापाका अनुसार फेस्टिवलमा मौलिक भाषा, कला, संस्कृति र पहिचान तथा स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी व्यावसायिक पहिचानको सम्भाव्यतालाई जापानी पर्यटकमार्फत प्रवद्र्धनका लागि गतवर्षभन्दा फरक शैली अपनाइएको हो । 

फेस्टिवलमा कला संस्कृति झल्कने, पर्यटकीयस्थलको जानकारीमूलक, नेपाल चिनाउने पथ प्रदर्शनमूलक, नेपाली खानाका रेस्टुराँ, स्थानीय उत्पादनलगायतका ४६ कक्ष रहने छन् । 

मूल आयोजक समितिका संयोजक देवीलाल भण्डारीले नोक्सानी कम गर्न आर्थिक व्यवस्थापन समितिले भाग्यशाली उपहार कार्यक्रमलगायतका कामलाई पनि तीव्र बनाइएको बताए । 
 एक करोड ७० लाख जापानी येन खर्चमध्ये एक करोड जापानी येनको व्यवस्था भइसकेको छ । 

फेस्टिवल व्यवस्थित गर्न भण्डारी, टासीवाङ्दी लामा, उपसंयोजक लेनिन भट्टचन, सरोजकुमार खत्री, बुद्धिराज घिमिरे, पर्शुराम बस्नेत, शिवप्रसाद पौडेल, संगीता अधिकारी, सुनिल शाक्य, जनकविक्रम शाहीलगायत २१ जनाको टोली दिनरात लागिरहेको छ । 

त्यस्तै, दीपक थापाको संयोजकत्वमा आर्थिक, एनआरएनए कान्तो क्षेत्रको संयोजकत्वमा फोहरमैला व्यवस्थापन, इन्दिरा सुजुकीको संयोजकत्वमा अतिथि सत्कार समिति र प्रचारप्रसारको काममा पत्रकार महासङ्घ जापान शाखा पनि सक्रिय छ । सांस्कृतिक कार्यक्रमका लागि अमर गुरुङ, अतिथि व्यवस्थापन ओम गुरुङले संयोजक भएर काम गरिरहेका छन् । 

यसपटक नेपाली खानाका परिकार, स्थानीयस्तरमा उत्पादित सामग्री र नेपाली कला संस्कृति झल्कने लोकगीतमा भुलाउने तयारीका लागि आयोजकले उएनो पार्कको फेस्टिवलस्थलमा मर्मत सम्भार र आवश्यक कार्यलाई तीव्रता दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप